निर्माण कम्पनीले समयमा काम नगर्दा भेरी करिडोरका पुल अलपत्र

वीरेन्द्रनगर– भेरी करिडोरको जाजरकोट– डोल्पा खण्डमा निर्माण हुने पक्की पुलहरु निर्माण व्यवसायीले काम नगर्दा ६ वर्षदेखि अलपत्र परेका छन् । भेरी करिडोर अन्तर्गत ५६ किलोमिटरभित्र यति बिल्डर्सले लिएको काम सहज रुपमा अघि बढेपनि सोही मार्गको बीचमा निर्माण हुने पुलहरुको काम नहुँदा भेरी करिडोर सडक खण्डमा यात्रा गर्न समस्या हुँदै आएको छ ।
क्याराभान हिराचन जेभिले २०७७ माघ २ गते लिएको पुलको काम अझै सुरु भएको छैन । उक्त जेभीले नलगाड नगरपालिकाको नलगाड खोला, झुर्मेखोलाको पक्की पुलको ठेक्का लिएको थियो । त्यस्तै सोही कम्पनीले २०७७ माघ २ नै भेरी करिडोरकै नलगाड नगरपालिका–९ को त्रात्रखोला, वडा–८ को मैदेखोला, वडा–११ को ताक्सुगाड चौखामा ठेक्का लिएको थियो । यी पुलहरु भेरी करिडोरका लाइफलाइन मानिन्छन् ।
सडक विभागमा अहिले पुलको लिष्टबाहेक अन्य केही पनि पाइँदैन । सरकारी संयन्त्रले पुल निर्माणबारे कुनै पनि चासो दिएको देखिँदैन । हाल नलगाड खोला, झुर्मेखोला र मैदेखोलाको डिजाइनसमेत पास भइसकेको छ । निर्माण व्यवसायी चन्द्र थकालीले पुल निर्माणतर्फ ध्यान नदिएको स्पष्ट रहेको पूर्वमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । यत्ता भेरी करिडोर सडक योजनाका प्रमुख सुनिल रन्जितकारले अन्य १४ वटा पुलको पुलको डिजाइन स्वीकृतका लागि संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सुर्खेतमा पुगेको बताए ।
अलपत्र परेका पुलहरु क्याराभानले निर्माण नगरे ज्वान्ट निर्माण व्यवसायीले काम गर्ने सम्भावना बढेको छ । यदि त्यसो पनि नभए कालोसूचीमा पर्ने रन्जितकारको भनाइ रहेको छ । त्रात्रगाड र तासुगाडबाहेक अन्य पुलको डिजाइन पुल महाशाखाबाट पास भइसकेको छ । त्यस्तै भेरी नगरपालिका–१ पिपे खोलामा र रुकुम पश्चिम आठबीसकोट नगरपालिकाको पिपलचौर छारे खोलामा समेत पुलको काम अन्तिम चरणमा पुगेको छ ।
उक्त पुल दिया, यत्ती, नियाग्रा जेभीले ठेक्का लिएपनि सबै काम यत्ती बिल्डर्सले गरेको छ । अघिल्लो वर्ष पुल निर्माणको कारण खोज्न सडक विभाग पुगेका पूर्वमन्त्री सिंह र संघीय सांसद शक्तिबहादुर बस्नेतले सडक विभागका तत्कालिन महानिर्देशक सुशीलबाबु ढकाल र उपनिर्देशक ललिजन खनाललगायतसँग छलफल गरेका थिए । त्यसपछि बस्नेतकै नेतृत्वमा पटक–पटक छलफल भएका थिए । छलफलमा काम गर्छौं भन्ने जवाफ दिने तर समय बित्दै जाँदा काम नै नहुने अवस्था सिर्जना हुँदा पुल निर्माण अलपत्र हुँदै आएको छ ।
त्यस्तै नलगाड नगरपालिका–१२ को तल्लुस्थित भेरी नदीको पुल र डोल्पा त्रिपुरासुन्दरी नगरपालिकाको खदाङ र छलगाडको पुलको डिजाइन स्टामेट पास भएर तल्लु, छलगाडमा काम सुरु भएको छ । खदाङमा ठाउँको विवाद हुँदा पुल निर्माण कार्य रोकिएको छ । ३६ करोडमा तीन वटा पुल निर्माण भइरहेको एम आर ग्रुपले काम गरिरहेको छ । ठेक्का लागेको छ वर्षसम्म डिजाइनदेखि पुल निर्माणको काम नै सुरु नहुनु भनेको भेरी करिडोरका जनतालाई धोका दिनु भएको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए ।
क्याराभानको नाम लिन बित्तिकै सडक विभागको उच्च नेतृत्वहरु हासेर उडाउने गरेको पाइएको छ । आधा दर्जन ठाउँमा ठेक्का लिएर कत्तै पनि काम नगर्ने बदमान भइसकेको क्याराभानले भेरी करिडोरमा समेत सोही व्यवहार देखिएको मेयर रावतले बताए । भेरी करिडोर सडक आयोजनाले पुल निर्माण गर्नका लागि ताकेता कम गरेको पाइएको छ । यत्ति बिल्डर्सले निर्माणको जिम्मा लिएको पुलको काम भने भइहरको छ ।
नयाँ १४ पुलको लागि डिजाइन पास नहुँदा ठेक्का हुन सकेन
भेरी करिडोर जाजरकोट–डोल्पा सडक खण्डको ठेक्का खोल्नका लागि १४ वटा पुलको डिजाइन स्टमेट संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सुर्खेतमा पठाएपनि अझै स्वीकृत भएको छैन । ३० मिटर भन्दा कमको पुलको डिजाइन स्वीकृत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सुर्खेतले गर्दछ ।
डिजाइनको ढिलाइले ठेक्काको काम ढिला भइरहेको बताएको छ । भेरी करिडोर भित्रका फूलबारी खोला पुल, चिसापानी खोला पुल, खहरेखोला, घट्टेखोला, मनका खोला, रिजिगार, उसुम खोला, कर्पगाड, खदाङ, खदाङभेरी पुल, चुँगाड, त्रिपुराकोट, गल्लीगाड, खोरखोलाको डिजाइन स्वीकृत हुन बाँकी रहेको छ । उत्ता तल्लुबाट त्रिपुराकोटसम्मको ५६ किलोमिटरमा सडक निर्माण गर्नका लागि ठेक्का लागिसकेको छ ।