चार दिने नाडा ईभी एक्स्पो भृकुटीमण्डपमा सुुरू

नेपालको इतिहासमै पहिलो नाडा ईभी एक्स्पो शुरु भएको छ । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा ४ दिने नाडा ईभी एक्स्पो शुरु भएको हो । अर्थमन्त्री जनार्दन शर्माले पहिलो नाडा ईभी एक्स्पोको शुभारम्भ गरेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले ईभी एक्स्पो नाडाको मात्रै नभई देशकै भएको बताए । मन्त्री शर्माले नेपालमा विद्युतीय गाडी प्रवद्र्धन गर्ने सरकारको नीतिबाट पछि नहट्ने बताएका छन् ।
अर्थमन्त्री शर्माले सरकारले निश्चित अवधिपछि विद्युतीय सवारी चल्ने मात्रै व्यवस्था गर्न लागेको बताएका छन् । पेट्रोलियम पदार्थबाट चल्ने सवारी कहिले रोक्ने भन्ने विषयमा अध्ययन गरिरहेको जानकारी दिए ।
विद्युतीय सावरी साधनको महत्व बढ्दै गएको बताउँदै अध्यक्ष ध्रुव थापाले प्रदुषण कम गर्ने मात्र नभई विद्युत खपतमा सहयोग पुग्ने बताए । वातावरणमैत्री विद्युतीय सवारी साधनको प्रयोगले पेट्रोलियम पदार्थको खपत कम गर्ने भएकाले ग्रिन नेपालको अवधारणा साकार हुने नाडाको ठहर छ ।
सरकारले विद्युतीय सवारी साधन प्रवद्र्धन गर्ने बताई रहँदा १०० किलोवाट माथिका गाडीमा कर बढाउनु उपयुक्त नभएको बताएका थिए ।
सरकारले नेपालमै गाडी एसम्बल गर्न आग्रह गरेपनि त्यसका लागि स्थिर नीति आवश्यक रहेको नाडाले उल्लेख गरेको छ । अध्यक्ष थापाले सरकारले स्थितर नीति लिए व्यवसायी पार्ट पुर्जाको उद्योग समेत खोल्न तयार रहेको बताए ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारको सहुलियतका कारण ३०–३५ लाखमै गाडी पाउने अवस्था रहेको बताएका छन् ।
अध्यक्ष गोल्छाले सरकारको नीति स्थिर रहनु पर्ने बताउँदै अन्तशुल्क र भन्सार महशुल बढाउन नहुने उल्लेख गरे । वातावरण संरक्षण गर्नकोलागि विद्युतिय गाडीलाई प्रोत्साहन गर्नु पर्ने धारण व्यक्त गरे ।
नाडाले १९९८ देखि नाडा अटो शो गर्दै आएको छ । नाडा ईभी एक्स्पो पहिलो पटक हुन लागेको छ । नाडा ईभी एक्स्पोका सभापति अनुप बरालले एक्स्पोमा ५१ वटा स्टल रहेको जानकारी दिए । उनका अनुसार नाडा ई भि एक्स्पोमा ९ वटा ४ पाग्रे र १ वटा ३ पाग्रे रहेका छन । १६ वटा २ पांग्रे सवारीका स्टल रहेका छन ।
गाडी ब्रान्डमा टाटा, हुन्डाई, टेस्ला, नेटा, बीवाईडी, चांगन, ज्यागका चारपांग्रे विद्युतीय गाडीको सहभागिता रहेको छ । अग्नि ग्रुपले ३ पांग्रे टेरो ब्रान्ड सहभागिता हुनेछ ।
दुईपांग्रे ब्रान्ड रहेका छन् । जसमा लेभ्निङ, एनआइयु, यडिया, ओला, सुपर सोको, हिरो इलेक्ट्रिक, दुहान, जोय, सेगवे, आईमा, टेलजी, पियोर, लेक्ट्रो, रेमोटर्स लगायतका ब्रान्डको उपस्थिती रहेको छ ।