बीवाईडीको नयाँ सोरूम पोखरामा «

बीवाईडीको नयाँ सोरूम पोखरामा

पोखरामा विद्युतीय कार कम्पनी बीवाईडीको सुविधासम्पन्न सोरूम सञ्चालनमा आएको छ । सोरूम सञ्चालनसँगै एक साताअघि मात्र नेपाल प्रवेश गरेको बीवाईडीको एटो ३ कार पनि सार्वजनिक भएको छ ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले बीवाईडीको सोरूम उद्घाटन गरेका हुन् । मन्त्री खड्काले विद्युतीय गाडी प्रवद्र्धनमा प्रदेश सरकार सधैँ लागि रहेको बताउँदै ईभीका लागि आवश्यक पूर्वाधार निर्माणमा निजी क्षेत्रसँग सहकार्य गर्ने बताए । पोखरा पर्यटकीय र वातावरणमैत्री सहर भएकाले विद्युतीय गाडीलाई प्राथमिकतामा राखेको हुनाले निजी क्षेत्रलाई सधैँ सहयोग गर्न सरकार रहेको मन्त्री खड्काले बताए ।
नाडाका अध्यक्ष ध्रुव थापाले विश्वको नम्बर एक कम्पनी बीवाईडीको कार पोखराको सहरमा आउनु सुखद भएको बताए । अबको युग ईभीको युग भएकाले अबको ३ वर्षभित्र ५० प्रतिशत बजार हिस्सा ईभीको हुने थापाले बताए ।
साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले वातावरणका लागि आवश्यक विद्युतीय गाडीका लागि सरकारले गम्भीर भएर सोच्नुपर्ने बताइन् । साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले एटो ३ को विशेषता र सुविधाका बारेमा जानकारी दिए ।
चीनको विद्युतीय गाडी निर्माता ‘बिल्ड योर ड्रिम्स (बीवाईडी) को एटो ३ लाई बहुप्रतीक्षित प्रिमियम एसयूभी मानिन्छ । एटो ३ मा ५० किलोवाट र ६०.५ किलोवाट क्षमतायुक्त ब्याट्री जडित छ । बीवाईडीले तयार पारेको ब्लेड ब्याट्रीले कारलाई पूर्ण सुरक्षित पारेको छ । एटो ३ एकपटक फुलचार्ज गर्दा ४ सय ५० किलोमिटर कुद्न सक्छ । नेपालमा उपलब्ध बीवाईडीका कारमध्ये एटो ३ मा सबैभन्दा शक्तिशाली मोटर जडित छ । यसको एक्सिलेरेसन पावर झन उत्कृष्ट छ । एटो ३ ले ७.३ सेकेन्डभित्र शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति समाउन सक्छ ।
एटो ३ मा १२.८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम जडित छ, जुनमा एप्पल कार प्ले र एन्ड्रोइड सिस्टमको सुविधा उपलब्ध छ । त्यसैगरी डिजिटल इन्स्ट्रूमेन्टल कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर सिट, पाँच इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, सातथान एयर ब्याग, एडभान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम सुविधा पनि यसमा उपलब्ध छ ।
एटो ३ को बाहिरी डिजाइन आकर्षक छ । थिक क्रोम होराइजोन्टल स्ट्रिप, एलईडी हेडलाइट, एलईडी डीआरएल, भर्टिकल एयर इन्टेक, डुअल टोन एलोय ह्विल, एलईडी टेल लाइट जडित छन् ।
एटो ३ को मूल्य कम्पनीले ८९ लाख ९० हजार राखेको छ । कम्पनीले पोखरामा यसअघि बीवाईडीको ई ६ कारको पनि बिक्री वितरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्