गृहमन्त्रीद्वारा भृकुटीमण्डपस्थित आगलागी भएको गोदामको अवलोकन

गृहमन्त्री बालकृष्ण खाँणले भृकुटीमण्डपस्थित राष्ट्रिय अपांग कोषको कृत्रिम मानव अंगहरू राखिएको गोदाम र समाज कल्याण परिषद्को आगलागी भएको गोदाम घरको अवलोकन गरेका छन् ।
आइतबार गृहमन्त्री खाँणले समाज कल्याण परिषद्को आगलागी भएको गोदामको अवलोकन गरेका हुन् । आगलागी भएको गोदामको अवलोकपछि सञ्चारकर्मीहरुसँग बोल्दै गृहमन्त्री खाँणले परिषद्लाई चाँडै सरकारले सामग्रीहरु हस्तान्तरण गर्ने बताए । उनले कसरी आगो लाग्यो भन्ने बारेमा वास्तविकता पत्ता लगाइ राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको माध्यमबाट परिषद्लाई जलेका सामग्रीहरु दिने बताए । गृहमन्त्री खाँणले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट नै परिषद्को सामग्री व्यवस्थापन गरेर जलेर नष्ट भएका सामग्रीहरु परिषद्लाई चाँडै हस्तान्तरण गर्ने कार्ययोजना रहेको बताए ।
उनले भने, ‘कसरी आगो लाग्यो त्यसको छानबिन त हुन्छ नै । कोषलाई नेपाल सरकारले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सामग्रीहरुको व्यवस्थापन गर्ने र सामग्रीहरु दिने कार्यायोजना छ । छिट्टै नै सामग्रीहरु हस्तान्तरण गर्नेछौं ।’
गत बिहीबार समाज कल्याण परिषद्को गोदाम घर र राष्ट्रिय अपांग कोषको कृत्रिम मानव अंगहरू राखिएको गोदाम घरमा आगलागी भएको थियो ।