Logo

महिला र पुरुषले सेयरमा लगानी गर्ने तरिका

सेयर तालिमका क्रममा कम्पनी छनोट गर्ने गृहकार्य दिँदै थिएँ । एक पुरुष सहभागीले जिज्ञासा राख्नुभयो, “यति छोटो समयमा यतिका गृहकार्य गर्न कसरी भ्याउने होला ?” मैले ती सहभागीको प्रश्नमा धेरै बादविवाद गर्न चाहिनँ र भनेँ, “छोटो समयमा काम कसरी सक्ने भन्ने कुरा छेवैमा बस्नुभएकी महिला सहभागीलाई सोध्नुहोस वा घरमा गएर श्रीमतीलाई सोध्नुभए पनि हुन्छ ।”

बिहान उठेदेखि १२ बजेसम्म महिलाले कति काम सकेर तालिममा आउनुहुन्छ, त्यति समयमा पुरुषले कति काम भ्याएको हुन्छ ? मलाई लाग्छ, महिलाको तुलनामा धेरै कम । महिला र पुरुषमा काममा वा सोचाइमा यति फरक छ भने उनीहरूले गर्ने लगानी तरिका र कमाउने नाफामा फरक छ कि छैन भन्ने जिज्ञासा धेरैमा हुन सक्छ । 

वित्तीय कुरा र भविष्यका बारेमा पुरुषभन्दा महिला बढी चिन्तित हुने कुरा अध्ययनहरूले देखाएका छन् । त्यसैले पनि पुरुषमा भन्दा महिलामा बचत गर्ने बानी बढी हुन्छ । म सम्झन्छु र अझै पनि गाउँघरमा यी कुरा पर्याप्त देख्न पाइन्छ, धेरै महिलाले यो बाख्रा वा कुखुरा मेरो पेवा भन्ने गरेको र बेचेर आएको पैसा बैंकमा राखेको वा सुन किनेको वा व्यापार व्यवसाय गरेको । तर, पुरुषले पेवा भन्ने गरेको मैले त्यति देख्न र सुन्न पाइनँ ।

महिलाहरू वित्तीय कारोबारमा बढी संयम र उत्तरदायी छन् भन्ने कुरा हाम्रो समाजमा विभिन्न संघ–संस्था गठनमा कोषाध्यक्षको छनोटबाट पनि प्रस्ट हुन्छ । प्रायः यस्ता संस्था वा संगठनमा महिलालाई कोषाध्यक्ष बनाइन्छ । सांस्कृतिक हिसाबले पनि उनीहरूलाई धनसम्पत्तिको प्रतीकका रूपमा लिइन्छ । जस्तो, तिहारमा गरिने लक्ष्मीपूजा वा हरेक दिनको सुरुवातसँगै उद्योग–व्यावसायमा गरिने लक्ष्मीको पूजा ।

अर्कातर्फ आर्थिक अनियमितता तथा भ्रष्टाचारमा पनि महिलाको नाम कमै आउने गर्नुले पनि वित्तीय कारोबारमा महिलाको इमान्दारितालाई जनाउँछ ।
पछिल्लो समयम सेयर बजारमा महिला लगानीकर्ताको संख्या र सहभागिता दुवै बढेको छ र यो निरन्तर बढ्ने क्रममा देखिन्छ । के महिला र पुरुषले लगानी गर्ने तरिका, कमाउने नाफाको परिमाण र व्यवहारमा फरक हुन्छ ?

बारबर र ओडेनले सात वर्षको अवधिमा ३५ हजार गृहस्थीको कारोबारलाई आधार बनाएर गरेको अध्ययनमा सेयर कारोबारमा महिलाभन्दा पुरुष बढी आत्मविश्वासी, भविष्यप्रति आशावादी र महिलाभन्दा एकतिहाइ बढी जोखिम लिने क्षमता भएको पाएका थिए । सेयर कारोबारमा महिलाले भन्दा पुरुषले ४५ प्रतिशत बढी कारोबार गरेको पाइएको थियो भने एकल महिलाभन्दा एकल पुरुषले ६७ प्रतिशत बढी कारोबार गरेका थिए ।

सेयर कारोबारमा लिंगको प्रभाव उनीहरूले कमाउने नाफामा पनि देखिएको थियो । अध्ययनमा पुरुषले धेरै कारोबार गरे पनि महिलाले बढी प्रतिफल कमाएका थिए । सेयर बजारको सत्य पनि यही हो, कारोबारीभन्दा दीर्घकालीन लगानीकर्ताले बढी नाफा कमाउन सफल हुन्छ ।

सेयर कारोबारमा पुरुषले बढी किनबेच गरेका थिए भने महिलाले बढी होल्ड गरेका थिए । यसको अर्थ महिलाले बाइ एन्ड होल्ड रणनीति अपनाएको पाइयो भने पुरुष छिटो–छिटो कारोबार (ट्रेडिङ) गर्न रुचाउने देखियो । यस्तै परिणाम जर्मनीको एक विश्वविद्यालयले अमेरिकामा म्युचुअल फन्डको नेतृत्व गरेका महिला र पुरुष व्यवस्थापकबीचमा गरेको अध्ययनमा पनि पाएका थिए, जहाँ महिला व्यवस्थापक कम जोखिम लिने गर्थे भने पुरुष बढी आक्रामक लगानीमा जोड दिने गर्थे ।  

यस्तै अर्को अध्ययन मेरिलिन्च इन्भेस्टमेन्ट म्यानेजरले गरेका थिए । उनीहरूले ५ सय महिला र ५ सय पुरुष ग्राहकबीच गरेको अध्ययनको निष्कर्ष पनि बारबर र ओडेनकोसँग मिल्दो छ । उक्त अध्ययनअनुसार महिलाले घाटामा रहेको सेयर छिटो बिक्री गर्ने गरेको पाइयो भने पुरुषले लामो समय होल्ड गरेको पाइएको थियो । यसको अर्थ घाटामा रहेको सेयर पुरुषले लामो समय होल्ड गर्न चाहन्छन् भने महिला छिटो बिक्री गरेर घाटा कम गर्न चाहन्छन् ।

यस्तै महिलाले नाफामा रहेको सेयर वा कारोबार पुरुषभन्दा लामो समयसम्म होल्ड गर्ने गर्छन्, जसले गर्दा पनि उनीहरूले पुरुषभन्दा बढी नाफा कमाउन सक्षम हुन्छन् । लामो समय घाटा पाल्ने व्यवहारलाई व्यावहारिक फाइनान्समा लस एभर्सन पनि भनिन्छ । पोर्टफोलियो बनाउने सन्दर्भमा पनि महिला र पुरुषबीचमा भिन्नता पाइन्छ ।

सोही अध्ययनले देखाएअनुसार महिलाभन्दा पुरुषले एउटै कम्पनीमा बढी रकम केन्द्रित गर्ने गर्छन् । यसको अर्थ महिलाले लगानीयोग्य पुँजीलाई बाँडेर लगानी गर्ने गर्छन् भने पुरुष एउटै कम्पनीको सेयरमा सबै पैसा खन्याउन पनि तयार हुने गर्छन् । यसैगरी लगानीको नयाँ अवसरमा महिलाभन्दा पुरुषले अध्ययन नगरी लगानी गरेको पाइएको थियो । पुरुषका यस्ता व्यवहारले बढी जोखिम लिने तर नाफा भने कम कमाउने अनि महिलाले कम जोखिम लिएर बढी नाफा कमाउने गर्छन् ।

महिला र पुरुषबीच हुने लगानीको रणनीतिक भिन्नताबाट हामीले हाम्रो लगानीलाई थप व्यवस्थित गर्न सक्छौं । महिला र पुरुषको व्यवहारलाई आफैंमा पनि जोखिम कम गर्नका लागि एक प्रकारको पोर्टफोलियोका रूपमा लिन सकिन्छ । यदि तपाईं विवाहित हुनुहुन्छ तर लगानीमा बढी आक्रामक व्यवहारले नोक्सानी पु¥याइरहेको छ भने श्रीमतीलाई लगानी निर्णयमा सहभागी गराउनुभएमा जोखिम कम गर्न मद्दत पुग्छ ।

अविवाहित पुरुष पनि सक्रिय रूपमा लगानी गरिरहनुभएको हुन सक्छ । यदि त्यसो हो र लगानीमा जोखिम बढिरहको छ भने ब्रोकरको कार्यालयमा आउने महिलाहरूलाई साथी बनाउनुहोस् र तपाईंका लगानी निर्णय उनीहरूलाई सुनाउनुहोस् ।

उनीहरूले तपाईंको आक्रामकतालाई ब्रेक लगाउन मद्दत गर्नेछन् । अर्कातर्फ यदि समूह बनाएर लगानी गर्ने सोच बनाउनुभएको छ भने महिला बढी भएको समूह बनाएर वा लगानी कम्पनी खोलेर लगानी गर्न सक्नुहुन्छ । यति मात्र नभई महिला र पुरुषको लगानी व्यवहारबाट लगानी व्यवस्थापक कम्पनीलाई पनि कर्मचारी छनोट वा कामको बाँडफाँड गर्न सहयोग पुग्नेछ ।

महिला र पुरुषको लगानी व्यवहारले सेयर खरिदमा ब्रोकर र लगानी सल्लाहकारको छनोटमा पनि असर गर्नेछ । महिला लगानीकर्ताहरू महिलाले नेतृत्व गरेको ब्रोकरकहाँ बढी जानुको एउटा कारण उनीहरूको जोखिम लिने व्यवहार मिल्नु पनि हो । यसले गर्दा उनीहरूलाई लगानी निर्णय गर्न सजिलो हुने गर्छ ।

यदि तपाईं पुरुष लगानीकर्ता हुुनुहुन्छ र अध्ययन नगरी लगानी गर्ने, लगानी गर्दा छिटै उत्तेजित हुने, छिटो–छिटो कारोबार गरेर नाफा बढ्न सकिरहेको छैन भने महिलाले नेतृत्व गरेको ब्रोकरकहाँबाट कारोबार गर्नुहोस् । यदि उनीहरू साँच्चै ग्राहकको हित ठान्छन् भने तपाईंको व्यवहारमा थोरै मात्रामा भए पनि नियन्त्रण गर्न सहयोग पु¥याउनेछन् जुन तपाईंको लगानीमा नाफा बढाउन सहयोगी बन्न सक्छ ।
(रवीन्द्र भट्टराई  सेयर बजार विश्लेषक हुन् ।) 

प्रतिक्रिया दिनुहोस्