Logo

हेटौंडा औद्योगिक क्षेत्रमा उद्योग थपिने

हेटौंडा-हेटौंडा औद्योगिक क्षेत्रको विस्तारित क्षेत्र र बन्द रहेको कपडा उद्योगको जग्गामा गरी यसै वर्षबाट १९ वटा नयाँ उद्योग थपिने भएका छन् । हेटौंडा–८ मा २ सय ९० रोपनी जग्गामा क्षेत्र विस्तार गरेसँगै २ वर्षअघि १५ वटा उद्योगलाई स्थापनाका लागि अनुमति दिइएको थियो । बन्द रहेको कपडा उद्योगको जग्गामा पनि ४ वटा उद्योगलाई अनुमति दिइएको थियो ।
२०७३ सालमा सम्झौता गरेका उद्योगहरूले ढिलै भए पनि आफ्नो भौतिक संरचना र अन्य काम अघि बढाइरहेका छन् ।
उनीहरूले यसै वर्षभित्र उद्योग सञ्चालन गर्ने गरी काम गरिरहेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख नेपाल भूषण वैद्यले जानकारी दिए । विस्तारित क्षेत्रको १५ वटामध्ये सिइहाइड्रो मेकानिकल वक्र्सले केही समयअघि मात्र सञ्चालनमा आइसकेको छ । नेपाल प्लास्टिक उद्योगसहित ३ वटा उद्योग पनि सञ्चालनको अन्तिम चरणमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । सम्झौता भएका अन्य उद्योगले पनि धमाधम आफ्नो भौतिक संरचना निर्माणको काम गरिरहेका हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रशासकीय अधिकृत राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
हेटौंडा कपडा उद्योगको जग्गामा स्थापना अनुमति दिइएका उद्योगहरूले पनि आफ्ना भौतिक संरचना निर्माणको काम गरिरहेको श्रेष्ठले बताए । “धेरैले आफ्ना भौतिक संरचना बनाउन थालिसके, बाँकीले पनि संरचना बनाउन पानी, बत्तिको लागि निवेदन दिन आउन थालेका छन् ।” श्रेष्ठले भने, “अनुमति लिएका १९ वटै उद्योगहरू योवर्षभित्र सञ्चालनमा आउने हामीले अनुमान गरेका छौं, उनीहरूले पनि त्यही लक्ष्यका साथ काम थालेका छन् ।”
सडक, पानी तथा बिजुलीको अभाव भएको भन्दै सम्झौता गरेको दुई वर्षसम्म पनि नयाँ उद्योगहरूले आफ्नो संरचना निर्माण गर्न सकेका थिएनन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले रूख काट्ने, सडक बनाइदिने तथा पानीको व्यवस्था गरिदिएपछि उद्योगीहरूले पनि धमाधम उद्योग स्थापना गर्न लागिपरेको व्यवस्थापन कार्यालयका प्रशासकीय अधिकृत श्रेष्ठले बताए ।
विस्तारित औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि हेटौंडा रबर उद्योग, बीवाईएस हेटौंडा प्रालि, थ्री–स्टार ग्रुप प्रालि, नेपाल प्लास्टिक इन्डस्ट्रिज, सी. एभरेस्ट एन्ड काइफु नेपाल प्रालि, सनराइज कन्टेनस् प्रालि, नेशनल स्ट्रक्चर इन्जिनियरिङ प्रालि, फार्मर एग्रो सेन्टर प्रालि, न्यू–मकवानपुर खाद्य उद्योग, सिइहाइड्रो मेकानिकल वक्र्स, नेविको प्रालि, साउथ एसियन ब्रुअरी प्रालि, अविनाश एग्स प्रालि र भविष्य मैदा मिलले उद्योग सञ्चालनको लागि अनुमति लिएका छन् ।
कपडा उद्योगको जग्गामा श्रीनाथ फुड इन्डिष्ट्रिज प्रालि, लक्ष्मी पेन्ट्स्, सन रे इनर्जी प्रालि र एपेक्स फुड वेयर प्रालिले जग्गा सम्झौता गरेकोमा उनीहरूले पनि भौतिक संरचनाको काम गरिरहेका छन् ।
केही समयअघिदेखि ५ मेगावाट बिजुली थपिएपछि नयाँ तथा पुराना उद्योगलाई सहज भएको छ । “केही समयअघि बिजुलीको अभावले पनि उद्योगहरूले सम्झौता गरेर पनि काम थाल्न सकेका थिएनन् । अहिले हामीलाई प्रयाप्त बिजुली छ ।” औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख वैद्यले भने । “पहिले ५ मेगावाट मात्र बिजुली पाइरहेकोमा अहिले दोब्बर बनाइएको छ, सडक पनि बनाएका छौं, पानीको पनि व्यवस्थापन पनि राम्रो गरिदिएका छौ, अब उद्योगहरूलाई खासै समस्या छैन ।”
हेटौंडा औद्योगिक क्षेत्रमा हाल १ सय १ वटा उद्योग चालु अवस्थामा रहेका छन् । ४ वटा उद्योग भने बन्द अवस्थामा छन् । करिब ३१ सय रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्रमा अन्य नयाँ उद्योगको लागि भने जग्गा खाली छैन । हेटौंडा–१४ मयुरधापमा करिब २ सय बिगाहा क्षेत्रमा औद्योगिक क्षेत्र–२ पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
जग्गा खण्डीकरणमा रोक
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले देशभरका औद्योगिक क्षेत्रमा जग्गा खण्डीकरण गर्न यसवर्षदेखि रोक लगाएको छ । आफूले अनुमति लिएको जग्गामा अन्य उद्योगलाई पनि जग्गा भाडामा लगाएर उद्योग स्थापना गर्ने प्रवृत्ति बढेपछि खण्डीकरण गर्न रोक लगाइएको छ । खण्डीकरण गरी नयाँ उद्योग थप्दा विकृति बढेकाले केन्द्रले त्यस्तो नीति लागू गरेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख वैद्यले बताए ।
गत वर्ष मात्रै औद्योगिक क्षेत्रका उद्योगहरूले जग्गा खण्डीकरण गरी नयाँ उद्योग स्थापना गरेका छन् । नेमोपार्केट कम्पनीले आफ्नो जग्गामा बिरा ड्रागन फ्लाई प्रालि पनि स्थापना गरेको छ । त्यस्तै ग्यासिका टेक्सटाइलले टेक्नोप्लास्ट नामको उद्योग सञ्चालन गरेको छ । साल्ट ट्रेडिङको जग्गामा फ्युचर वक्र्स बिल्डिङ सोलुसन प्रालि पनि स्थापना भएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्