उद्योग वाणिज्य महासंघ प्रदेश–१ र सहजबीच सम्झौता

उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ र स्वीस सरकारको संयुक्त कार्यक्रम सहज (नेपाल कृषि बजार विकास कार्यक्रम) बीच सम्झौता भएको छ ।
प्रदेश–१ मा विभिन्न कार्यक्रम गरी कृषिको उत्पादकत्व वृद्धि र बजारीकरणका लागि काम गर्ने जनाइएको छ । विराटनगरमा आयोजित कार्यक्रममा सहजका टिम लिडर जीवी बन्जारा र महासंघका अध्यक्ष नरेन्द्रकुमार खड्काले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरे । आयात प्रतिस्थापन र निर्यात वृद्धिमा योगदान गर्ने गरी कृषि बजारलाई दीर्घकालीन रूपमा अगाडि बढाउने, तुलनात्मक लाभ भएका कृषि उपजको विकासमार्फत गरिबी न्यूनीकरण गर्ने, वस्तु बजारको विकास गर्नका लागि ताजा तरकारी, मकै र बाख्रापालनका लागि काम गर्नुका साथै वस्तु बजारको विकास गर्नका लागि कृषि नीति र महिला पछाडि पारिएको वर्गको सहभागिता क्षेत्रमा विशेष जोड दिने सम्झौतापत्रमा उल्लेख छ । योे कार्यक्रम प्रदेश–१ का १४ वटै जिल्लामा सञ्चालन हुने महासंघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले जानकारी दिए ।
सहज र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको सम्झौतापत्रमा मुख्यतः नीति निर्माणमा जोड दिनुका साथै जिल्ला नगर उद्योग वाणिज्य संघ, सम्बन्धित व्यवसायीलगायत सामाजिक क्षेत्रको विकासका लागि आवश्यक कार्यक्रमहरूसमेत गर्ने योजना रहेको छ । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा सहजका मुख्य प्रबन्धक पदम भण्डारी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहरा, महासंघ प्रदेश–१ का अध्यक्ष खड्का, उपाध्यक्ष राउत, सदस्य रविन दाहाल, श्रवणकुमार अग्रवाल, सरु केसीलगायतको सहभागिता रहेको कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम)ले जानकारी दिए ।