Logo

माडी नगरपालिकामैै बन्छ घरनक्सा

भदौदेखि नगरपालिकाले नक्सा बनाएर पास गर्दा प्रतिवर्गफिट ११ देखि १३ र अस्थायी टहराका लागि प्रतिवर्गफिट ८ रुपैयाँ रुपैयाँ लिने तयारी गरेको छ ।

चितवन : नयाँ घर बनाउँदा माडी नगरपालिकाले आफैले नक्सा बनाइदिने भएको छ । भवन निर्माण आचारसंहिताअनुसारका घर बनाउन सघाउने गरी नगरपालिकाले आफैले नक्सा बनाइदिने तयारी गरेको हो ।
माडी नगरपालिका मेयर ठाकुरप्रसाद ढकालले स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आएकाले नगरपालिकाले सहजीकरण गर्न लागेको बताए । “निवेदन दिएपछि नक्सा नगरपालिकाले नै बनाइदिन्छ”, उनले भने, “भदौ १ गतेदेखि यो सेवा लिन पाउनेछन् ।” भूकम्पप्रतिरोधी घर निर्माणमा स्थानीयलाई जागरुक बनाउन नगरपालिकाले नै चाहेअनुसारको नक्सा बनाइदिन लागेको बताउँछन् । “प्राइभेट इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत घरको डिजाइन बनाउँदा धेरै महँगो पर्यो भन्ने गुनासो आएको छ”, उनले भने, “सहुलियत दरमा अब नगरपालिकाले नै नक्सा बनाउँछ ।”
विगतमा नगरपालिकाले नक्सापास दस्तुर लिँदा प्रतिवर्गफिटको ६ रुपैयाँसम्म लिने गरेको थियो । भवन निर्माण सम्पन्नको प्रमाणपत्र लिँदा स्थानीयले ५ सय रुपैयाँ तिर्नुपथ्र्यो । भदौदेखि नगरपालिकाले नक्सा बनाएर पास गर्दा प्रतिवर्गफिट ११ देखि १३ र अस्थायी टहराका लागि प्रतिवर्गफिट ८ रुपैयाँ रुपैयाँ लिने तयारी गरेको छ । “आवश्यक जनशक्ति थप गर्नेछौँ”, मेयर ढकालले भने, “नक्सा बनाएरै घर बनाउन स्थानीयलाई उत्प्रेरित गरिनेछ ।” माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी नक्साबिना नै घर बनाउने अवस्था रोक्न नगरपालिका आफैले नक्सा बनाइदिन लागेको बताउँछन् । “स्थानीयले अब ४/५ हजारमै घरको नक्सा बनाउन पाउनेछन्”, उनले भने, “घरधनीकै चाहनाअनुसारको डिजाइन नगरपालिकाका प्राविधिकले बनाइदिनेछन् ।” उनले नक्सा बनाउन भरतपुरसम्म धाउनुपर्ने अवस्था रोक्दै सहुलियत दरमै नगरपालिकाले बनाउने तयारी गरेको बताए । “नक्सा बनाउँदा कति शुल्क लिने भन्ने निर्धारण भइसकेको छैन”, उनले भने, “तर, निकै सस्तोमा नक्सा तयार हुने गरी शूल्क कायम गरिने छ ।”
कन्सल्टेन्सीले घरधनीबाट लिने जथाभावी शुल्क, समयमा नगरपालिकामा दर्ता नगर्नेजस्ता समस्याले आफैले नक्सा बनाउने काम सुरु गर्न लागेको हो । गत आर्थिक वर्षमा ४६ घरले निर्माण सम्पन्नको प्रमाणपत्र लिएका थिए । पुराना घरको अभिलेखीकरण गर्न करिब ५ सय जनाले फाराम लगेकोमा ३ सय ४ घरको अभिलेखीकरण भएको थियो । बैंकबाट ऋण लिन खोज्ने अधिकांशले मात्रै अभिलेखीकरण गरेको पाइएको छ । “नक्सा नबनाई घर बनाउन लागेको भेटिए लगत्तै नक्सा दर्ता गर्न पत्राचार गरिनेछ”, प्रमुख प्रशासकीय अधिकृत जैसीले भने, “आचारसंहिताविपरित नयाँ भवन बनाउन लागे कारबाही गरिनेछ ।” माडीको मुख्य बजार क्षेत्रमा वर्षमा करिब १ सय नयाँ घर बन्ने गर्छन् । माडीमा बन्ने अधिकांश आरसीसी घर आचारसंहिताविपरीत नै बन्ने गरेका छन् । माडीमा २ वटा निजी इन्जिनियरिङ कन्सल्टेन्सी कार्यालय सञ्चालनमा थिए । माडी नगरपालिकामा हाल १ जना इन्जिनियर, १ सबइन्जिनियर कार्यरत छन् । यस्तै भूकम्पसम्बन्धी र सीमा व्यवस्थापनसम्बन्धी काममा १/१ जना सबइन्जिनियर माडीमा खटिएका छन् । नगरपालिकाले नगर क्षेत्रका सडक र घर नक्साका लागि २ जना इन्जिनियर नियुक्ति गर्ने जनाएको छ । नक्सा पासबिना बनेका घर भत्काउने वा करिब डेढ लाखसम्मको जरिवाना लिने नगरपालिकाले जनाएको छ । २०७२ वैशाखमा गएको भूकम्पयता नयाँ घर निर्माण गर्दा नक्सा पास अनिवार्य हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्