Logo

स्याङ्जा प्रहरी कार्यालय सिल

स्याङ्जा-जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रहरी कार्यालय स्याङ्जा सिल गरिएको छ । कार्यालयका कर्मचारीमा कोरोना पुष्टि भएकाले सर्वसाधारण तथा सेवाग्राही प्रवेशमा पूर्ण रोक लगाइएको छ ।

कार्यालयभित्रका तीन कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै कार्यालयभित्र आवतजावतमा रोक लगाए पनि नियमित काम भने नरोकिने प्रहरी उपरीक्षक विमलराज कणेलले जानकारी दिए । उनका अनुसार कुनै पनि सेवाग्राहीले निवेदन तथा जाहेरी वा सरकारी तथा गैरसरकारी कार्यालयमा पत्राचार गर्नु परेमा विद्युतिय माध्यमहरू इमेल, फोनको प्रयोग गर्न सकिन्छ ।
कार्यालयमा कार्यरत ८९ जना प्रहरी कर्मचारी सबैलाई सुरक्षित साथ बस्न भनेका छौं । जिल्ला प्रहरी प्रमुखसमेत रहेका कणेलले भने, “ती मध्ये बच्चासहितका केही महिला कर्मचारी आफ्ना कोठामै बस्छन्, तर अन्यलाई भने कार्यालयभित्रै खाने, बस्ने व्यवस्था मिलाएका छौं ।”
कार्यालयभित्रै कार्यरत केही प्रहरीमा रुघाखोकी र ज्वरोको संक्रमण देखिएपछि उनीहरूको पिसीआर परीक्षणका लागि पठाइएकोमा तीन जनामा संक्रमण पुष्टि देखिएको हो । थप ३० जना प्रहरी कर्मचारीको नमूना स्वाब संकलन गरी पिसीआर परिक्षणका लागि पोखरा पठाइएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
प्रहरी कार्यालयका ३३, ३४, ३८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै सुस्त हुन लागेको कोरोना संक्रमणको मानसिक त्रास जिल्लामा बढ्न थालेको छ ।

प्रकाश डोटेल

प्रतिक्रिया दिनुहोस्