राप्ती नगरपालिकाका वडाध्यक्षको निधन

चितवनको राप्ती नगरपालिका–११ का वडाध्यक्ष हितबहादुर योञ्जन तामाङको निधन भएको छ ।
उनको ४९ वर्षको उमेरमा मकवानपुरको भिमफेदीमा बुधबार निधन भएको कान्छा छोरा हरि तामाङले जानकारी दिए ।
लामो समयदेखि अल्सरको उपचार गर्दै आएका तामाङको पछिल्लो समय कलेजोले काम गर्न छाडेको थियो । समस्या जटिल भएपछि उनलाई अस्पतालले घरमा नै आराम गर्न भनी पठाएको नगरपालिका प्रमुख प्रभा बरालले जानकारी दिइन् । उनका अनुसार तामाङको निधन बुधबार दिउँसो ४ बजे भएको हो ।
उनलाई केही दिनअघि आयुर्वेदिक उपचारका लागि मकवानपुरको भीमफेदी लगिएको थियो । उपचारका क्रममा तामाङको निधन भएको हो । नगरसभा सकिने समयमा उनको निधन भएको खबर आएको प्रमुख बरालले बताइन् ।
तामाङ वि.सं २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।