अल्लोको अनेक उत्पादन र बजारीकरण «

अल्लोको अनेक उत्पादन र बजारीकरण

आजभोलि विश्वभरि नै गो ग्रिन, गो नेचर, लिभ नेचुरल्ली आदिको नारासहित प्राकृतिक खानपिन, प्राकृतिक पहिरन, प्राकृतिक रहनसहन, प्राकृतिक बसोबास आदिले व्यवहारले सार्थकता पाउँदैछ । त्यसैले त आजका आधुनिक भनिएका मान्छेहरू पनि पुरानो भनिएको वा कुनै बेला ‘गरिबको खाना, गरिबको नाना’ मानिएको खानपिन र वेशभूषामा फर्केका छन् । त्यसैले उनीहरूले आफ्ना पितापूर्खाले विगतमा खाँदै आएको लाउँदै आएको ‘खाना र नाना’ अर्थात् प्राकृतिक खाना, प्राकृतिक पहिरन, प्राकृतिक रहनसहन, प्राकृतिक बसोबास अँगाल्न थालेका छन् । यहाँ त्यस्तै प्राकृतिक चिजबिजहरूमध्ये पहिरनमा पर्ने अल्लोको उत्पादनसँग रहेर केही लेख्ने प्रयास गरिएको छ ।
वास्तवमा अल्लो नेपालको १ हजार २ सय मिटरदेखि ३ हजार–३१ सय मिटरको उचाइसम्म पाइन्छ । यसलाई अंग्रेजी भाषामा ‘हिमालयन जायन्ट नेटल’ अनि ठेट नेपाली भाषामा ‘भांग्रे सिस्नो’ र कुलुङ जातिको मातृभाषामा ‘जा–खिल्ल÷जाखिल्मा’ भन्ने गरिन्छ । पहिले–पहिले भांग्रे सिस्नो भन्ने गरिए तापनि हालको प्रचलित भाषामा प्रायः सबैले अल्लो भन्ने गरेका छन् । हुन त भांग्रे सिस्नोको नाम नेपालका जातजाति र भाषाभाषीपिच्छे फरक–फरक रहेको हुन सक्छ । जे भए तापनि नेपालको मेचीदेखि महाकालीसम्मका ३५ भन्दा बढी हिमाली तथा पहाडी जिल्लाहरूमा अल्लो पाइने गरेको छ । नेपालमा रहेका अल्लोजन्य उत्पादनसँग सम्बन्धित विभिन्न स–साना घरेलु उद्योग र संघ–संस्थामध्ये एक ‘हिमालयन फाइबर फाउन्डेसन नेपाल’का तत्कालीन अर्थ तथा कार्यक्रम निर्देशक भलाकाजी ङोपोचो कुलुङका अनुसार बेलायत, जापान, जर्मनी, अमेरिका, फ्रान्स, क्यानाडा, इटाली, स्विट्जरल्यान्ड, नेदरल्यान्ड, नर्वे, डेनमार्क, फिनलान्ड, दक्षिण कोरिया लगायत देशमा नेपाली अल्लोजन्य सरसामान निर्यात हुने गरेको छ ।
अल्लोको प्रमुख स्रोत अर्थात् म्याटेरियल भनेको रेसा वा बोक्रा नै हो । नेपालमा ‘हिमालयन नेचुरल फाइबर फाउन्डेसन’ र ‘नेपाल किराँत कुलुङ भाषा–संस्कृति उत्थान संघ’ लगायत दर्जनौं संस्था संस्थागत ढंगले नै अल्लोजन्य उत्पादनमा संलग्न रहेका छन् । मुख्य गरेर ‘हिमालयन नेचुरल फाइबर फाउन्डेसन’ले अल्लो र यसको रेसाजन्य वस्तु उत्पादन तथा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । त्यस्तै अल्लो र अल्लोको रेसाजन्य सामग्री उत्पादन तथा प्रवद्र्धनमा ‘मेडेप’ नामक गैरसरकारी संस्थाले पनि लामो समयदेखि आफ्नै ढंगले प्रयत्न गरिरहेको छ । अल्लोको दिगो विकास, व्यवस्थापन, प्रविधि हस्तान्तरण, उद्यम विकास आदिका लागि तालिम, जीविकोपार्जनका लागि वन कार्यक्रम आदिसँंग मिलेर पर्वत, बागलुङ, म्याग्दी आदि जिल्लामा कार्यक्रम सञ्चालन गरिएका छन् । विभिन्न जिल्लामा अल्लो प्रवद्र्धनका लागि छलफल र तालिम आयोजना गरिसकिएको बताउनुहुन्छ, ‘हिमालयन नेचुरल फाइबर फाउन्डेसन’का तत्कालीन कार्यकारी निर्देशक इन्द्र होनित्ति कुलुङ ।
कुलुङका अनुसार अल्लोकोे रेसाबाट उत्पादित धागो तथा कपडाहरूबाट विभिन्न सामग्री उत्पादन तथा सप्लाई गर्ने संस्थाहरूमध्ये एक निनाम रिदुम जैविक हस्तकला प्रमुख हो । उहाँका अनुसार यसबाहेक ‘होमनेट नेपाल’ले पनि अल्लोको रेसाबाट उत्पादित कपडाबाट हस्तकला उत्पादन गर्ने र बेच्ने कार्य गर्छ ।
समग्र आदिवासी जनजातिको जीवनशैली प्रकृतिमा आधारित रहेको हुन्छ । त्यस्तै कुलुङ जाति पनि पूर्ण रूपले परापूर्वकालदेख नै प्रकृतिसंँग खेल्दै÷हुर्कंदै आएको जाति हो । अंग्रेजी भाषामा ‘हिमालयन जायन्ट नेटल’ अनि ठेट नेपाली भाषामा ‘भाङ्ग्रे सिस्नो’ कुलुङ जातिको मातृभाषामा ‘जाखि–जाखिल्मा’ भनिने अल्लोसँग कुुलुङहरूको उत्पत्ति कालदेखि नै घनिष्ठ र विशेष सम्बन्ध रहेको देखिन्छ । कुलुङ जातिको धर्म र संस्कार संस्कृति भनेको बितेर गएका आफ्ना पितापुर्खालाई सम्झनु, प्रकृतिलाई पुज्नु (एनिमिज्म) हो । त्यसअन्तर्गत भूमि, अन्न–बाली, डाँडाकाँडा, वनजंगल, बोटबिरुवा, खोलानाला, ताल, पोखरी आदिको पूजा गर्ने प्रचलनहरू पर्छन् । यसरी बोटबिरुवाको कुरो गर्दा अल्लो वा भांग्रे सिस्नो र कुलुङ मातृभाषामा ‘जाखि–जाखिल्मा’भनिन्छ । यसरी हेर्दा कुलुङ जातिमा ‘जाखि–जाखिल्मा’को महत्वपूर्ण र पवित्र स्थान रहेको देखिन्छ । किनकि, कुलुङ जातिमा ‘जाखि–जाखिल्मा’ विभिन्न उत्सव, महोत्सव धार्मिक परम्परालगायत अन्य कार्यमा परम्परादेखि नै प्रयोग हुंँदै आएको छ । जस्तै : कुलुङ जातिको लोककथामा वर्णन गरिएअनुसार कुलुङ जातिका पुर्खाहरूले आफ्नो शरीर ढाक्नका लागि सबैभन्दा पहिले यही अल्लोे अर्थात् ‘जाखी–जाखिल्मा’को बोट काटेर बोक्रा छुट्याई रेसालाई धागो बनाए÷कातेर लुगा बनेर लगाउन सरु गरेका थिए भने हालसम्म पनि कुलुङ समुदायको चाडबाड, पर्व, उत्सव, संस्कार, संस्कृति आदिमा अल्लो अर्थात् जाखी–जाखिल्माको प्रयोग अनिवार्य र महत्वपूर्ण रहेको छ ।
–निनाम कुलुङ ‘मंगले’

प्रतिक्रिया दिनुहोस्