गुणस्तरीय प्लाइउड उत्पादन गर्न आवश्यकः अर्थमन्त्री डा. खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले गुणस्तरीय र प्रतिस्पर्धी प्लाइउड उत्पादन गर्न जोड दिनुपर्ने बताएका छन् ।
बुधबार अर्थ मन्त्रालयमा नेपाल प्लाइउड उत्पादन संघका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री खतिवडाले प्लाइउडमा नेपाल आत्मनिर्भर भएको भन्दै नेपाली बजारमा प्लाइउडको माग उच्च भएकोले उत्पादनको गुणस्तरियतामा ध्यान दिनुपर्ने बताए ।
उनले कु–काठजन्य वनस्पतिलाई नगदे बालीको रुपमा विकास गरी वैज्ञानिक वन व्यवस्थापनमा सरकारले गृहकार्य गरिरहेकोे बताए । स्वदेशी उद्योगलाई संरक्षण र सहयोग गरी मुलुकमा रोजगारी सृजना गर्ने, व्यापार घाटा कम गर्ने सरकारको नीति भएको उल्लेख गर्दै उनले प्लाइउड उत्पादक संघले राखेका समस्याहरुका बारेमा छलफल गरी समाधान गरिने बताए ।
नेपाल प्लाइउड उत्पादन संघका अध्यक्ष प्रदीपकुमार चौधरीले नेपालमा प्लाइउड सम्बन्धी ६७ वटा उद्योगहरु चालू अवस्थामा रहेको बताए । उनले ती उद्योगबाट करिब ३० हजार जनाले प्रत्यक्ष रोजगारी पाएको उनले बताए ।