१२७ किलोमिटरमात्र नयाँ प्रविधिमा

अमेरिकी अनुदानको सडक आयोजना अब पूर्वपश्चिम राजमार्गमा |
अमेरिकी सरकारको अनुदानमा सहायतामा निर्माण हुन लागेका सडक परियोजनाअन्तर्गत पूर्वपश्चिम महेन्द्र राजमार्गको मर्मत सम्भार हुने भएको छ । पहिला मेची, कोशी, सगरमाथा, रत्न र त्रिभुवन राजमार्गको ३०५ किलोमिटर सडक मर्मत सम्भार गर्ने सार्वजनिक गरेकोमा आर्थिक रूपमा सम्भाव्यता नदेखिएपछि महेन्द्र राजमार्गमा २७ किलोमिटर नमुना (पाइलोटिङ) सहित १२७ किलोमिटर मर्मत सम्भार हुन लागेको हो ।
नेपाल सरकार र अमेरिकी सरकारको तर्फबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको सम्झौताबमोजिम मिलेनियम च्यालेन्स कम्प्याक्टको कार्यान्वयन आगामीे असार १६ गतेदेखिमात्र सुरु गर्ने सार्वजनिक भइसकेको छ ।
सडक र ऊर्जाका लागि ५ सय मिलियन डलर अर्थात करिब ५५ अर्ब अनुदान दिएकोमा सडकतर्फ ५ करोड २२ लाख ८५ हजार डलर सडकतर्फ बजेट छ । नेपालमा पहिलोपटक फूल डेफ्थ रिक्लाईमेसन (एफडीआर) प्रविधिमा सडक मर्मत गर्न लागिएकोले यसलाई नेपाल सडक पूर्वाधारको क्षेत्रमा उच्च महत्वका साथ हेरिएको छ ।
पहिला प्रस्तावित गरिएको क्षेत्रमा कम गाडी चल्ने तथा नयाँ प्रविधिको लागि उपयोग गरेर बढाउन लागेको सडकको प्रति किलोमिटर लागत ५ करोडभन्दा बढी देखिएपछि परियोजनाले विकल्प खोजेको हो । सरकारसँग विकल्प मागेकोमा महेन्द्र राजमार्ग प्रस्ताव गरेपछि २७ किलोमिटर नमुना रूपमा तथा बाँकी एक सय किलोमिटर सडक मर्मत गर्न लागेको परियोजना कार्यान्वयनका लागि गठित मिलेनियमन च्यालेन्ज एकाउन्ट नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले जानकारी दिए । “सरकारबाट आएको प्रस्तावकै आधारमा २७ किलोमिटरसहित महेन्द्र राजमार्गमा १२७ किलोमिटर सडक मर्मत सम्भार गर्न लागेका छौं,” उनले भने, “पहिला धेरै ठाउँ छनोट गरेका थियौं । जुन प्रविधि र पैसा खर्च गर्दैछौं, प्रतिकिलोमिटरको हिसाबले सम्भाव्य नदेखिएपछि महेन्द्र राजमार्गमा मर्मत सम्भार गर्न लागेका हौँ ।”
महेन्द्र राजमार्गको चन्द्रौटादेखि भालुवाङ क्रस गरेर लमही, यहाँबाट पश्चिम जाँदा शिव खोलासम्मको क्षेत्रमा सडक मर्मत हुन लागेको छ । यसअघि परियोजनाअन्तर्गत मेची राजमार्गको चारआलीदेखि फिदिमसम्मको १३० किलोमिटर, कोशी राजमार्गको धरानदेखि बसन्तपुरसम्मको ८८ किलोमिटर, सगरमाथा राजमार्गको लहानदेखि गाईघाटसम्मको २६ किलोमिटर, रत्न राजमार्गको अमेलियादेखि तुलसीपुरसम्मको ३८ किलोमिटर र त्रिभुवन लोकपथको हेटौंडादेखि भीमफेदीसम्मको २२ किलोमिटर सडक मर्मत सम्भार हुन लागेको छ । महेन्द्र राजमार्ग फराकिलो भएकोले बजेटको आधारमा नमुनासहित १२७ किलोमिटर मात्र बनाउन लागिएको छ ।
नयाँ प्रविधिअन्तर्गत निर्माण हुन लागेको सडक मर्मत आयोजनाअन्तर्गत सडक कति बिग्रेको छ, कति उप्पड खाप्पड भएको छ, यो हेर्नका लागि फलिङ इन डेफ्क्टोमिटर भन्ने उपकरण एमसीएले मगाईसकेको छ । एक हजार किलोमिटर हेर्ने सडकको वास्तविक अवस्थाको तथ्यांक यसले पत्ता लगाउनेछ । विज्ञहरूका अनुसार, नयाँ प्रविधिको मेसिनले सडकलाई पूरै ३० सेन्टिमिटरदेखि खनेर त्यसमा चाहिने मिक्स्चरको प्रशोधन गरेर पिच गर्ने काम परियोजना अन्तर्गत हुन्छ । मेसिन हिँड्दै जाँदा रोड पिच हुँदै जाने यो नयाँ प्रविधिले निर्माण गरेको सडक तीव्र गतिमा सडक कुदाउन मिल्छ भने कम्तीमा २० बर्षसम्म सजिलै टिक्नेछ ।
ऊर्जा र सडक परियोजनाका लागि अमेरिकी सरकारबाट सो आयोजनाका लागि ५० करोड डलर अनुदान प्राप्त भएको छ भने यसमा नेपाल सरकारले १३ करोड अमेरिकी डलर बारबर थप गर्नेछ । निर्माण सुरु भएपछि ५ बर्षभित्र पूरा नभएमा पनि बाँकी रकम फिर्ता जानेछ । यसकारण यो परियोजनालाई नेपाल अघि बढाउन लागेको नमुना परियोजनाको रूपमा समेत हेरिएको छ ।