नेपाल ब्लकचेन कन्क्लेभ भदौ ३१ मा

काठमाडौं– कम्प्युटर एशोसिएन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा आगामी भदौ ३१ मा नेपाल ब्लकचेन कन्क्लेभ हुने भएको छ । ब्लकचेन प्रविधिबारे सचेतना, प्रोत्साहन तथा प्रवर्द्धन गर्न सरोकारवालाबीच अन्तरक्रिया र सहकार्य गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको कन्क्लेभ हुन लागेको हो ।
कन्क्लेभको सह–आयोजकमा ब्लकचेन टेक्नोलोजीमा आठ वर्षदेखि कार्यरत क्लक बी बिजनेस टेक्नोलोजी रहेको छ भने कम्युनिटी पार्टनरमा ब्लकचेन कम्युनिटी नेपाल रहेको छ । कन्क्लेभले ब्लकचेन टेक्नोलोजीका एप्लिकेसनबारे जागरुकता बढाउने, विशेषज्ञबीच ज्ञान आदानप्रदानको अवसर प्रदान गर्ने, चुनौतीहरू र अपनाउनुपर्ने अवसरलाई सम्बोधन गर्ने बताइएको छ ।
त्यसैगरी विभिन्न क्षेत्रमा ब्लकचेन टेक्नोलोजीको सम्भावना पत्ता लगाउने र यसका लागि सरोकारवालाबीचको समन्वय अघि बढाउने लक्ष्य राखेको क्यान महासंघका अध्यक्ष रञ्जित पोदारले बताए । कार्यक्रममा ब्लकचेन क्षेत्रमा काम गरिरहेका कम्पनी, विज्ञहरू, प्रविधि व्यवसायी, शिक्षण संस्था, नीति निर्माता तथा नेपाल सरकारका विभिन्न निकायको सहभागिता हुनेछ ।
एकै छानामुनी सरोकारवालाबीच हुने छलफल तथा ज्ञान आदानप्रदान कार्यले नेपालमा ब्लकचेन प्रविधि र यसको विस्तारमा सघाउन पुग्ने कन्क्लेभको सह–आयोजक क्लब बी बिजनेस टेक्नोलोजीका बिजनेस टेक्नोलोजी प्रमुख युवराज आचार्यले बताए । कार्यक्रमको मुख्य आकर्षणमा की नोट स्पिच, प्यानल डिस्कसन, विज्ञ तथा विशेषज्ञबाट प्रस्तुतीका साथै वित्त, स्वास्थ्य सेवा, सप्लाई चेन म्यानेजमेन्ट, ब्लकचेन टेक्नोलोजीमा शिक्षाविद्को भूमिका, ब्लकचेन टेक्नोलोजीका एप्लिकेसनलगायत विभिन्न शीर्षकमा सेसनहरू सञ्चालन हुनेछन् ।
कन्क्लेभले ब्लकचेन टेक्नोलोजीको क्षेत्रमा रहेका असमझदारी हटाई व्यावसायिक रूपमा यस क्षेत्रको विकास र विस्तार गर्ने, जनशक्तिलाई प्रोत्साहन गर्ने, ब्लकचेनमा आधारित समाधान तथा अवसर पहिचान गर्ने र उद्योगमैत्री नीति तर्जुमा गर्न राज्यलाई सघाउने अपेक्षा लिएको क्यान महासंघका महासचिव तथा नेपाल ब्लकचेन कन्क्लेभका संयोजक चिरञ्जीवी अधिकारीले बताए ।