अल्लोका उत्पादन र व्यवसायीकरण

१ हजार २ सय मिटरदेखि ३ हजार १ सय मिटरसम्मको उचाइमा पाइने अल्लोलाई अंग्रेजी भाषामा ‘हिमालयन जायन्ट नेटल’ अनि ठेट नेपाली भाषामा अल्लो अर्थात् ‘भांग्रे सिस्नो’ र कुलुङ जातिको मातृभाषामा ‘जाखिल्मा-जाखिल’ भनिन्छ । यसको बोक्रा वा भनौं रेसालाई चाहिँ कुलुङ जातिको मातृभाषामा ‘खिल्ल-खिल्मा’ भन्ने गरिन्छ ।
जंगली भांग्रे सिस्नोलाई प्रचलित नेपाली भाषामा ‘अल्लो’ भन्ने गरिएको छ । नेपालका जातिपिच्छे फरक–फरक नाम रहेको हुन सक्ने देखिन्छ, भांग्रे सिस्नोको । नेपालको मेचीदेखि महाकालीसम्मका ३५ भन्दा बढी हिमाली तथा पहाडी जिल्लाहरूमा अल्लो पाइने गरेको छ । संखुवासभा, सोलुखुम्बु, म्याग्दी, रुकुम, रोल्पालगायत जिल्लामा किसानहरूले यसको व्यावसायिक रूपले खेती गर्दै आएका छन् ।
नेपालमा रहेका अल्लोजन्य उत्पादनसँग सम्बन्धित विभिन्न ससाना घरेलु उद्योग र संघ–संस्थामध्ये एक लुमा घरेलु उद्योगका सञ्चालक अशोक पीदीसै कुलुङ पनि एक हुनुहुन्छ । उहाँले विगत लामो समयदेखि अल्लोजन्य कपडाका कोट, फेँगा , जुत्ता, सुरुवाल, टोपी आदि उत्पादन गर्ने र बिक्री–वितरण गर्ने गर्दै आउनुभएको छ । त्यस्तै हिमालयन फाइबर फाउन्डेसन नेपालका तत्कालीन अर्थ तथा कार्यक्रम निर्देशक भलाकाजी ङोपोचो कुलुङका अनुसार नेपालमा उत्पादित अल्लोजन्य उत्पादनका सामानहरूको नेपालमा भन्दा पनि विदेशमा उच्च माग रहने गरेको छ । यसरी अल्लोजन्य उत्पादन विदेश निर्यात गरिने देशहरूमा बेलायत, जापान, जर्मनी, अमेरिका, फ्रान्स, क्यानाडा, इटाली, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड, नर्वे, डेनमार्क, फिनलान्डलगायत देशहरू रहेका छन् ।
अल्लोको प्रमुख स्रोत अर्थात् म्याटेरियल भनेको नै यसको बोक्रा अर्थात् ‘रेसा’ हो । अल्लोको बोक्राको रेसालाई नै धागोको रूप दिएर तान बनाएर बुन्ने हो । अहिले नेपालमा अल्लोजन्य उत्पादनलाई व्यवसायीकरण गर्नका लागि लुमा घरेलु उद्योग, हिमालयन नेचुरल फाइबर फाउन्डेसन, निनाम रिदुम ह्यान्डिक्राफ्ट’, नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (कुलु गुसखोम) लगायत दर्जनौं संघ–संस्था संस्थागत ढंगले लागिपरेका छन् । मुख्य गरेर हिमालयन नेचुरल फाइबर फाउन्डेसनले विदेशमा समेत अल्लो र यसको रेसाजन्य वस्तु उत्पादन तथा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यसरी नै अल्लो र अल्लोको रेसाजन्य सामग्री उत्पादन तथा प्रवद्र्धनमा ‘मेडेप’ नामक गैरसरकारी संस्थाले पनि लामो समयदेखि आफ्नै ढंगले प्रयत्न गरिरहेको छ । विगतमा मेडेपले अल्लोको दिगो विकास, व्यवस्थापन, प्रविधि हस्तान्तरण, उद्यम विकास आदिका लागि तालिम, जीविकोपार्जनका लागि वन कार्यक्रम आदिसँग मिलेर पर्वत, बागलुङ, म्याग्दी आदि जिल्लामा कार्यक्रम सञ्चालन गरेको थियो ।
साना तथा घरेलु उद्योग र तत्कालीन जर्मन सरकार मातहत रहेको जर्मन सहयोग संस्था (जीटीजेट) को सहकार्यमा रुकुम र रोल्पा जिल्लामा अल्लो प्रवद्र्धनका लागि छलफल र तालिम आयोजना गरिसकिएको बताउनुहुन्छ, हिमालयन नेचुरल फाइबर फाउन्डेसनका तत्कालीन कार्यकारी निर्देशक इन्द्र होनीत्ती कुलुङ ।
समग्र आदिवासी जनजातिको जीवनशैली प्रकृतिमा आधारित रहेको हुन्छ । त्यस्तै कुलुङ जाति पनि पूर्ण रूपले परापूर्व कालदेख नै प्रकृतिसँग खेल्दै-हुर्कंदै आएको जाति हो । अल्लोसँग कुुलुङहरूको उत्पत्ति कालदेखि नै घनिष्ठ र विशेष सम्बन्ध रहेको देखिन्छ । कुलुङ जातिको धर्म, संस्कार, संस्कृति भनेको बितेर गएका आफ्ना पिता–पुर्खालाई सम्झनु, प्रकृतिलाई पुज्नु (एनिमिज्म) हो । त्यसअन्तर्गत भूमि, अन्नबाली, डाँडाकाँडा, वनजंगल, बोटबिरुवा, खोलानाला, ताल, पोखरी आदिको पूजा गर्ने प्रचलनहरू पर्छन् ।
कुलुङ जातिमा ‘जाखि–जाखिल्मा’को महŒवपूर्ण र पवित्र स्थान रहेको देखिन्छ । किनकि कुलुङ जातिमा ‘जाखि–जाखिल्मा’ विभिन्न उत्सव, महोत्सव धार्मिक परम्परालगायत अन्य कार्यमा परम्परादेखि नै प्रयोग हुँदै आएको छ । कुलुङ जातिको लोककथामा वर्णन गरिएअनुसार कुलुङ जातिका पुर्खाहरूले आफ्नो शरीर ढाक्नका लागि सबैभन्दा पहिले यही अल्लोे अर्थात् ‘जाखि–जाखिल्मा’को बोट काटेर बोक्रा छुट्ट्याई धागो कातेर लुगा बुनेर लगाउन सुरु गरेका थिए । अहिले पनि कुलुङ समुदायको धर्म, चाड, पर्व, संस्कार, संस्कृति आदिमा पनि अल्लो अर्थात् ‘जाखि’–‘जाखिल्मा’को महŒव रहेको छ ।