Logo

लगानी सम्मेलनमा सुपबाट ६ वटा आयोजना

धनगढी-झन्डै ५५ देशका लगानीकर्ताको सहभागितामा हुने लगानी सम्मेलनमा सुदूरपश्चिमका ४ खर्ब ५४ अर्बका ६ आयोजना प्रस्तुत गरिने भएका छन् । सरकारले चैत १५ र १६ गते गर्ने लगानी सम्मेलनमा सुदूरपश्चिमका ६ आयोजनालाई प्रस्तुत गर्ने भएको छ ।
सरकारका ४६ वटा र निजी क्षेत्रका १७ आयोजना गरी ६३ आयोजना देशभरबाट प्रस्तुत गर्ने तयारी भएकोमा सुदूरपश्चिमका भने ६ आयोजना मात्रै परेका हुन् । सुदूरपश्चिमबाट छनौट गरिएका आयोजनामध्ये अधिकाश ऊर्जाका आयोजनाहरू छन् भने हवाई र यातायात पूर्वाधारका योजनाहरू पनि छनौट गरिएको लगानी बोर्डका प्रवक्ता बालाराम रिजालले बताए ।
उनका अनुसार आर्थिक समृद्धिको अभियानलाई अझै सन्तुलित बनाउने गरी सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा सुदूरपश्चिमबाट ६ वटा विकास आयोजनाको प्रस्ताव सूची तयार पारिएको हो। ४० मेघावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना, ७ सय ५० मेघावाटको पश्चिम सेती जलविद्युत् आयोजना, १२ सय मेघावाटको पश्चिम सेती तथा एसआर सिक्स संयुक्त जलविद्युत् परियोजना, धनगढी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, एकीकृत कृषि पूर्वाधार परियोजना गोदावरी कैलाली र सुदूरपश्चिम परिवहन परियोजना गरी ६ वटा परियोजना लगानी सम्मेलनमा समावेश गरिने प्रवक्ता रिजालले बताए । ६ वटै परियोजनाका लागि ४ खर्व ५४ अर्व बढी लगानी आह्वान गरिने उनले बताए ।

६ वटा परियोजनामा ५ वटा लगानी बोर्डले र माथिल्लो चमेलिया जलविद्युत् आयोजना निजी क्षेत्रले पूर्वसम्भाव्यता अध्ययन गरी तयार परिएका आयोजना हुन् । कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दिनेश भण्डारीले यसपटक आयोजना नै प्रस्ताव गर्ने विषय राम्रो भए पनि लगानीका लागि नीतिगत र प्रक्रियागत अवस्थामा सुधार आउन आवश्यक रहेको बताए । अहिलेसम्म वातावरण नपाएको भन्दै सुदूरपश्चिममा स्वदेशी लगानीकर्ताको समेत आकर्षण नदेखिएकाले विदेशी लगानी भिœयाउन सरकारको नीति लगानीमैत्री हुनुपर्ने धारणा उनको छ ।
लगानी सम्मेलनमा प्रस्तुत गरिने पश्चिम सेती जलविद्युत् परियोजना साढे तीन दशकदेखि अन्योलताको भुमरीमा छ । परियोजनालाई विदेशी कम्पनीहरूले लिँदै छोड्दै गरेका छन् । ठूला परियोजनाहरूको सवालमा जग्गा उपलब्ध गराउने, परियोजना स्थलका स्थानीयका माग सम्बोधन र सुविधालगायतका बारेमा सरकारले प्रयत्न गर्ने मात्रै भन्ने गरेको छ ।
त्यसले विदेश लगानी आकर्षण गर्न नसकिने दाबी धेरेको छ । अर्थसम्बन्धीका एक जना जानकार रामबहादुर बुढाऐरले सुरुमा सरकारले लगानीको वातावरण बनाउनुपर्ने बताए । उनले लगानी सुरक्षित रहेको ग्यारेन्टी गर्न सकेमात्रै विदेशी र स्वदेशी लगानी सुदूरपश्चिममा भित्रिने बताए । उनका अनुसार सुदूरपश्चिममा निजी क्षेत्रको लगानी पर्याप्त नभएको अवस्थामा विदेशी लगानी सहजै भित्रिने अवस्था भने छैन । अहिले प्रदेश सरकारसमेत रहेकाले लगानी भिœयाउन सहज नीति र वातावरण बनाउनसमेत प्रदेश सरकारको भूमिका आवश्यक रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्