न पुल बन्यो, न कामदारले ज्याला पाए «

न पुल बन्यो, न कामदारले ज्याला पाए

कर्णाली राजमार्ग हुँदै कुडारी ताम्ती जाजरकोट जोड्ने काठेपुल तिला नदीले बगाएपछि ताम्ती गाउँबासीको घर आँगनमा गाडी पुग्ने सपना सपनामै सीमित भयो । उपभोक्ता समितिले कमजोर पुल निर्माण गरेपछि गाडी नचल्दै तिलानदीले पुल बगाएपछि स्थानीयबासीको गाडी चड्ने सपना अधुरै रह्यो । अर्काेतिर तिला गाउँपालिका–४ का स्थानीय कामदारले काठेपुल निर्माण गरेको ज्याला डेढवर्ष बितिसक्दा पनि पाएका छैनन् ।
ताम्ती जाजरकोट जोड्ने कुडारी त्रिवेणीमा निर्माण भएको काठेपुलमा काम गरेका झण्डै १ सय बढी कामदारहरूले ज्याला नपाएको गुनासो गरेका छन् । काम गरेको डेढवर्ष बितिसक्दा पनि निर्माण उपभोक्ता समितिले ज्याला दिन आलटाल गरेको कामदार नरबहादुर शाहीको आरोप छ । पटकपटक ज्याला दिन उपभोक्ता समितिका अध्यक्षलाई भन्दा बेवास्ता गरे । उनले भने, “सांसद विकास कोषको ३० लाख रकमबाट गतवर्ष असार २२ गते त्रिवेणीमा निर्माण भएको पुलमा काम गरेवापत पाउने ज्याला रकम हिनामिना भएको छ ।”
तिला गाउँपालिका– ४ का कामदारले १ हजार ८ सय दिन काम गरेको ज्याला नपाएका हुन । साविकको जिल्ला विकास समितिबाट रकम भुक्तानी भइसक्दा पनि गाउँमा मजदुरले ज्याला दिन आग्रह गर्दा अहिलेसम्म नदिएपछि हिनामिना भएको कामदार वीरजित सुनारले बताए । सोझासाझा जनतालाई पुल निर्माणको काम गर्न लगाई उपभोक्ताको श्रमलाई बेवास्ता गर्दै ज्यालासमेत नदिएको उनको गुनासो छ ।

प्रहरी चौकीमा उजुरी गर्दा पनि ज्याला पाइएन
उपभोक्ताले काम गरेको ज्याला उपलब्ध गराउन माग गर्दै प्रहरी प्रशासनमा उजुरी गरे पनि कामदारले ज्याला पाएका छैनन् । ज्याला उपलब्ध गराई दिन भन्दै २०७३ माघ ४ गते प्रहरी चौकी कुडारीमा तिला गाउँपालिका–४ का कामदारले उजुरी गराए । समय बित्दै जाँदा उजुरीउपर कुनै सुनुवाइ हुन सकेन । आव ०७३÷७४ मा कुडारी प्रहरी चौकीमा दर्ता नम्बर ४३ मा उजुरी दर्ता गराए पनि त्यसबेलाका चौकी इन्चार्ज हिरालाल बस्नेतले उजुरीको बेवस्ता गर्दा उजुरीले पनि काम नगरेको कामदारकोे भनाइ छ ।
चौकी इन्र्चाज हिरालाल बस्नेत नै उपभोक्ता समितिसँग मिलोमतो गरेर उजुरीले कामदारका विषयमा केही बोल्न नपाएको अर्का कामदार डिल्ली परियारले बताए । सम्बन्धित निकायको मौनता र उदासिनताका कारण नागरिकको अधिकारलाई कुठाराघात गरिएको देखिन्छ । अहिले पनि कुडारी प्रहरी चौकीका इन्चार्ज हिरालाल बस्नेत र पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दबहादुर शाहीविरुद्ध उभोक्ताले उजुरी गरेका छन् । प्रहरी इन्र्चाज बस्नेत भने, अहिले जुम्लामा छैनन् । उनको सरुवा कुन जिल्लामा भयो भन्ने कामदारलाई थाहा छैन् । गाउँका दुःखी गरिब जनताले गरेको श्रमलाई लत्याएको भन्दै कामदारहरू आक्रोशित छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्