Logo

चितवन माछा पालनमा आत्मनिर्भर


मत्स्य व्यवसायीहरुले चितवन माछामा आत्मनिर्भर बनेको स्वघोषणा गरेका छन् । नेपाल मत्स्य व्यवसायी संघ चितवनले पत्रकार सम्मेलन गरेर आत्मनिर्भर बनेको दाबी गरेका हो ।
जिल्ला अध्यक्ष खगेन्द्र सुवेदीले माग भन्दा बढी माछा उत्पादन हुँदै आएकाले माछामा आत्मनिर्भर बनेको घोषणा गरिएको बताए । “१० वर्षको मिहेनतले यो उपलब्धि हासिल गरेका हौं” उनले भने, “राज्यको सहयोग मिले चितवनमा माछा उत्पादनको थप क्षेत्र विस्तार गर्नेछौं ।” संघका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा वार्षिक ४ हजार ३८ मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ । जसमध्ये २ हजार ६ सय मेट्रिक टन चितवनमा र १ हजार ४ सय ३८ मेट्रिक टन बाहिरी जिल्लामा बिक्री भएको छ । उनका अनुसार यो वर्ष ६ हजार ६ सय ५३ मेट्रिक टन माछा उत्पादन हुने अनुमान छ ।
१ हजार ३ सय ७ जना माछापालन गर्ने किसान छन् भने २ हजार ८ सय ३१ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । चितवनमा २०६७ सालदेखि माछाको व्यवसायीकपालन सुरु भएको हो । २०३८ सालदेखिनै माडीको गोपालनगर र भरतपुरको शंकर चोकबाट माछापालन सुरु भएको थियो । “अहिले दैनिक २ टन माछा बाहिरि जिल्लामा बिक्रि हुँदै आएको छ” संघका उपाध्यक्ष लुलराज तामाङले भने, “अहिले १ हजार ५ सय मेट्रिक टन माछा बिक्री हुनै बाँकी छ ।” उनका अनुसार अधिकांश किसानले जलकपुर माछापालन गर्न थालेपछि उत्पादन पनि वृद्धि भएको छ ।
थोरै क्षेत्रफलमा धेरै उत्पादन लिन सकिने, काँडा कम हुने भएकाले माग बढी भएकाले अधिकांश पोखरामा जलकपुर माछापालन सुरु भएको छ । प्रतिकट्ठा २० क्विन्टलसम्म उत्पादन लिन सकिने उनको भनाइ छ । चितवनमा विगतमा कार्प प्रजातिका रहु, ग्रास, सिल्भर, बिगहेड माछा हुर्काउने गरिएको थियो । जिल्लामा ७ सय हेक्टरमा माछापालन हुँदै आएको छ ।
पोखरीको संख्या २ हजार २ सय ७७ छन् । जसमध्ये १ हजार ५२ पोखरी भाडामा छन् । सबैभन्दा धेरै पोखरी माडी नगरपालिकामा १ हजार १ सय ४६ पोखरी छन् । तर उत्पादन भरतपुर महानगरमा धेरै छ । मत्स्य व्यवसायी संघका केन्द्रीय महासचिव जोगेन्द्र चौधरिले आयात प्रतिस्थापन गर्न राज्यले चासो दिनुपर्ने बताए । “देशकै ठूलो कालिमाटी माछा बजारमा स्वदेशी माछा बेच्न सजिलो छैन“, उनले भने, “फर्मालिन विषादी राखिएका सस्तो मूल्यका भारतीय माछाले बजार पाएको अवस्था छ, स्वदेशी माछाको उपभोग गर्न प्रोत्साहन गर्न जरुरी छ ।”
उनले छिटै बागमती प्रदेशलाई माछामा आत्मनिर्भर घोषणा गर्न पहल गरिने बताए । स्वास्थ्यमा प्रतिकुल असर पार्ने विषादी प्रयोग गरेर आयात गरिएका माछामा रोक लगाउन सरकार गम्भीर बन्नुपर्ने बताए । “स्वदेशी प्राङगारिक उत्पादन खपतको वातावरण बनाए किसान प्रोत्साहित हुनेछन्” उनले भने, “आयातित माछालाई निरुत्साहित गरौं ।”
चितवनलाई २०७६ सालदेखि आत्मनिर्भर बनाउन खोजिएपनि सरकारी निकायको उदासिनले ढिलाई हुन पुगेको बताए । उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत चितवनमा माछा जोनको कार्यक्रम लागू गर्न माग गरे । मत्स्य व्यवसायी रघु भट्टले विद्युत र दानामा अनुदान दिएमा कम लागतमा माछा उत्पादन गर्ने वातावरण बन्ने बताए ।

प्रतिक्रिया दिनुहोस्