Logo

सवारीसाधनमा छुटको बहार


नेपालीहरुको महान चाड पर्व सुरु भएपछि अटोमोबाइल्स कम्पनीहरुले विशेष अफरसहित बिक्री खुला गरेका छन् । वर्षभरिको कुल बिक्रीमध्ये सवारीसाधनको बिक्री चाडबाडको समयमा करिब २५ प्रतिशत हुने गरेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए । उनले भने, “कोभिड–१९को महामारीका रोकिएको अटोबजारमा गति लिएको छ । पछिल्लो समय माग अनुरुपको आपूर्ति हुन नसकेको अवस्था छ ।”
चाडबाड बढेपछि सवारी खरिद कर्ताको संख्यामा वृद्धि भएको र यसले गर्दा विगतमा सुस्ताएको अटो बजारले गति लिने क्रममा रहेको व्यवसायीहरुले बताएका छन् ।
चाडबाड आएसँगै अटोमोबाइल्स कम्पनीहरूले धमाधम विशेष छुट र उपहार दिएर ग्राहकलाई आर्कषित गर्ने कम्पनीहरु तिब्र प्रतिस्पर्धा गरिरहेका छन् । दशैंमा यामाहा, बजाज, हिरो, होन्डा, टिभिएस, सुजुकि लगायतका नेपालमा बढी प्रयोग हुने दुई पाङ्ग्रे सवारीमा विशेष छुट दिएका छन् ।

यामाहा
नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारीक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैं तिहार लक्षित गरेर बाइक एक्सचेञ्ज योजना ल्याएको छ । यही असोज ८ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा वृहत्तर यामाहा महा एक्सचेञ्ज मेला सञ्चालनमा करिब २ हजार बढि वाइक बिक्री भएको एमएडब्लु इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले बताए । असोज महिनाभरि १३ हजार मोटरसाइकल बिक्री हुने क्षेत्रीको भनाइ छ ।
हाल कम्पनीले यमाहाका डिलरहरुमा एक्सचेन्ज मेला सञ्चालन गरिरहेको छ । कम्पनीले असोजको २५ गते सम्म दशैँलाई लक्षित गरेर एक्सेन्ज मेला सञ्चालन गरिरहेका छन् । महाएक्सजेन्ज मेलामा कम्पनीले यामाहाको एमटी १५– बीएस ६ बाइक नेपालमा सार्वजनिक गरेको थियो । स्पोर्टस बाइक मा बजारमा यूवा लक्षित गरेर आएको एमटी १५– बीएस ६ आधुनिक प्रविधिको बाइक हो । एमटी १५ बीएस४ ले प्राप्त गरेको सफलता पछि याहामाले नयाँ एमटी १५ बिएस ६ ल्याएको कम्पनीले जनाएको छ । कुनै पनि ब्राण्डका पुराना बाइक तथा स्कुटीहरुसँग सट्टापट्टा गर्ने समेत सुविधा रहेको छ । कुनै पनि पुरानो बाइकको मूल्य बजारमा प्रचलित रहेको भन्दा १० हजार रुपैयाँ बढी मूल्यांकन गरिने कम्पनीले जनाएको छ । शून्य प्रतिशत ब्याजदर, न्यून डाउनपेमेन्ट र न्यून मासिक किस्तामा फाइनान्सको सुविधा पनि प्रदान गरेको कम्पनीले जनाएको छ । उपभोक्ताका लागि दसैं तिहारको अवसर पारेर स्क्य्राच गर्दा एक लाख रुपैयाँसम्म नगद उपहार पर्ने, तथा हरेक हप्ता लक्की ड्रमा ४ तोला सुनको एक्का र बम्परमा १२ तोला सुनको एक्का उपहार पर्ने बताइएको छ ।

बजाज
बजाज मोटरसाइकलको अधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘फाइदा मोर, टेन्सन नो मोर’ शीर्षकका साथ बजाज एक्सचेन्ज महामेला अफरको ल्याएको छ । यो अफर यही १७ देखि सुरु भएको मेला असोज २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा अफरअन्तर्गत ग्राहकहरुले कुनै पनि ब्राण्डको पुरानो बाइक लिएर आउन सक्नेछन् र नयाँ बजाज बाइक लिएर घर फर्कन सक्ने छन् । यसमा १८ भन्दा बढी भ्यालुएटरहरु रहेका छन् र कुनै पनि मोटरसाइकलको प्रचलित बजार भ्यालुएसन भन्दा १० हजार रुपैयाँ थप गरीदिने कम्पनीले जनाएको छ ।
यसका अतिरिक्त बजाज नेपालले ५० प्रतिशत डाउनपेमेन्टमा शून्य प्रतिशत ब्याज, निःशुल्क एसेसरिज र निःशुल्क जाँच शिविर पनि प्रदान गरेको छ । यस्तै एक भाग्यशाली विजेताले सामसङ एम सिरीज मोबाइल र लक्की डोर प्राइज जित्ने मौका पाउनेछन् ।
ग्राहकले बाइक किन्नु भन्दा पहिले दस हजार रुपैयाँसम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन् । त्यसबाहेक उपभोक्ताले मोटरसाइकलको खरिदको दौरानमा एक लाख रुपैयाँसम्मको नगद मूल्य प्राप्त गर्न सक्छन् । बम्पर अफरमा भने कुनै पनि आधिकारिक डिलरबाट बजाज मोटरसाइकल किनिसके पछि एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न सक्नेछन् ।
दसैंको विशेष अवसरमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज खुसी को ३ डोज’ योजना सार्वजनिक गरेको छ । ग्राहकहरुले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नु भन्दा पहिले, किन्ने बखत र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्दछन् ।
ग्राहकहरुले बाइक किन्नु भन्दा पहिले १० हजार रुपैयाँसम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन् । त्यस बाहेक उपभोक्ताहरुले मोटरसाइकलको खरीदको दौरानमा एक लाख रुपैयाँसम्मको नगद मूल्य प्राप्त गर्न सक्छन् । बम्पर अफरमा भने कुनै पनि अधिकृत डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि दश लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न सक्छन् ।

हिरो
नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले बडा दसैं २०७८ को उपलक्ष्यमा ‘दसैंंको बेला हिरोको मेला’ भन्ने नयाँ योजना ल्याएको छ ।
यस योजनाअन्र्तगत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार रुपैयाँ पक्का छुट, स्क्रयाच कार्डमार्फत एक लाख रुपैयाँसम्म पाउन सक्ने र बम्पर लक्की ड्रमार्फत एक जनाले एक लाख रुपैयाँ नगद पाउने छन् ।
साथै सबै हिरो मोटरसाइकल र स्कुटरमा शून्य प्रतिशत ब्याजमा ५० प्रतिशतसम्म फाइनान्स सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

होन्डा
नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले आफ्नो दसैंं तथा तिहार स्किम ‘होण्डाको साथ ७’ ल्याएको छ । नेपालमै पहिलो पटक सात प्रदेशलाई समावेश गरिएको यस योजनामा हरेक प्रदेशबाट होण्डा खरिद गर्ने १ जनालाई एक लाख प्रदान गरिनेछ ।
यस योजनाको समय अविधि भर होण्डाका ग्राहकहरुले स्क्रयाच कुपनमार्फत हात खाली नजाने गरी एक लाखसम्म नगद उपहार प्राप्त गर्न सक्नेछन् । यसका साथै यस योजना अन्तर्गत ग्राहकहरुले, ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी होण्डा बिग बाइकको खरिदमा ४० हजारसम्मको क्यास ब्याक पाउन सक्नेछन् । यति मात्र नभई यस योजनामा तपाईंहरुले मात्र १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको इएमआइ र १ प्रतिशत ब्याजदरमा समेत होण्डा खरिद गर्न सक्नेछन् । बम्परमा सहभागी १ जना भाग्यसाली ग्राहकहरुले १५ लाखसम्मको नगद पुरस्कार जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।

टीभीएस
नेपालीहरूको महान् चाडपर्व दसैं, तिहार र छठलाई लक्षित गर्दै टीभीएसले ‘टीभीएस ६ प्राइजको सरप्राइज’ योजना ल्याएको छ ।
६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजनाअन्तर्गत ग्राहकहरूले विभिन्न टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुन्जेल विभिन्न आकर्षक तथा भव्य उपहारहरू प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
योजना यही भदौ १६ गतेदेखि प्रारम्भ भई सम्पूर्ण चाडपर्वहरूको समापनपछि समाप्त हुने कम्पनीले जनाएको छ । योजना मुलुकभरिका सम्पूर्ण टीभीएस शो रुमहरूमा उपलब्ध हुनेछ । यस योजनाले एकपटक, दुईपटक मात्र नभएर ६ पटकसम्म ‘प्राइजको सरप्राइज’ प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत ग्राहकले किन्दै नकिनी टीभीएसको वेबसाइटमा गएर एक लाखसम्म जित्न सक्नेछन् र सवारी खरिद गर्दा १० लाखसम्मको भारी नगद हात पार्न सक्ने कम्पनीले जनाएको छ । यस्तै, दैनिक रियलमी सी २० स्मार्टफोन पनि ग्राहकको लागि उपहारस्वरूप यस योजनाअन्तर्गत राखिएको कम्पनीले जनाएको छ ।
यसैगरी यस योजनाले ग्राहकलाई हरेक हप्ता शतप्रतिशत क्यास ब्याकको अफरसमेत राखेको कम्पनीले जनाएको छ । जसमा ग्राहकले सवारी खरिद गर्दा बुझाएको सम्पूर्ण रकम फिर्ता पाउनेछन् भने हरेक महिना टीभीएस अपाचे आआर ३१० पाउनेछन् । यस योजनाको मुख्य सरप्राइज यसको बम्पर प्राइज रहेको र यसमा ग्राहकले योजनाको अन्त्यमा टीभीएसको सवारीसँगै प्रोटोन सागा कार जिन्ते कम्पनीले जनाएको छ ।

सुजुकी
सुजुकी मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता भिजी अटोमोबाइल्सले आफ्नो उत्कृष्ट ब्राण्ड सुजुकीका लागि दसैं तिहारलाई मध्यनजर गर्दै ‘दसैं आयो उमंग छायो क्यास ब्याकको साथै बम्पर पायो’ उपहार योजना ल्याएको छ ।
यस उपहार योजनाअन्तर्गत कुनै पनि सुजुकी ब्राण्डका मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ क्यासब्याक पाउनुका साथै हरेक दुई हप्तामा बम्पर पुरस्कारको रुपमा सुजुकी इन्टु«डर बाइक पाउने पक्का रहेको कम्पनीले जनाएको छ । साथै एक वर्षको सवारी कर तथा फाइनान्स र सट्टापट्टाको सुबिधासमेत रहेको कम्पनीले जनाएको छ ।
‘दसैं आयो उमंग छायो क्यासब्याकको साथै बुम्पर पायो’ अन्तर्गत ग्राहकले झन्झट बिना हरेक खरिदमा १० हजार रुपैयाँ क्यासब्याक पाउनेछन् । यस्तै हरेक दुई हप्तामा फेसबुक लाइभबाट बम्पर पुरस्कारको रुपमा इन्टु«र बाइक जित्ने छन् ।
सुजुकीले उत्पादन गर्दै आएका ब्राण्ड उत्कृष्ट र नेपाली बजार सुहाँउदो रहेको कम्पनीको दावी छ । बीएस ६ भेरियन्ट उत्पादन पनि गर्दै आएको सुजुकी ब्राण्डमा ग्राहकहरुको विश्वास बढ्दै गएको अवस्थामा यो योजनाले थप फाइदा पुग्ने विस्वास लिएको कम्पनीका जनरल म्यानेजर धिरज भट्टराईले बताए ।

चारपाङ्ग्रे
चारपाङ्ग्रे सवारिमा पनि कम्पनीहरुले विभिन्न दशैँ अफर ल्याएका छन् । हुन्डाई, सुजुक, टाटा,टोयोटा, निशान, जीप, प्रोटोन, ड्याट्सन, किया, रेनोलगायतका गाडी बिक्रेता कम्पनीले ग्राहकलाई आकर्षण गर्न छुट ल्याएका छन् ।

जीपको लिजेन्ड्री अफर
जीपको आधिकारीक विक्रेता एमएडब्लू लाइफ अटोमोवाइलले लिजेन्ड्री स्कीम सञ्चलन गरिरहेको छ । कम्पनीले जीप कम्पासको फेसलिफ्ट मोडल नेपाल ल्याएसँगै यो स्कीम संचालन गरिरहेको हो । यो स्कीममा जीप कम्पास किन्ने ग्राहकले थोरै रकम डाउन पेमेन्ट र कम व्याजदरमा कर्जा सुविधा पाउनेछन् । जीपले कम्पास किन्ने ग्राहकलाई सुरुमा २० प्रतिशत डाउन पेमेन्टमा नै गाडी दिइरहेको छ ।
यस योजनामा गाडी किन्ने ग्राहकले कम्तीमा १६ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्ने हुन्छ भने बाँकी रकम कर्जा सुविधा पाउने छन् । यसरी लिने कर्जामा ६.९९ प्रतिशत व्याज लाग्ने छ ।
जीप कम्पासको मूल्य ८४ लाख ९० हजारदेखि १ करोड ३६ लाख ९० हजार रुपैयाँसम्म निर्धारण गरेर बिक्री गर्दै आएको छ । कम्पास विभिन्न ९ भेरियन्ट र दुई इन्जिन अप्सनमा उपलब्ध रहेको छ । अमेरिकी एसयूभी निर्माता क्राइसलर मोटरको उत्पादन जीप कम्पास भारतमा उत्पादन भएको एसयूभी हो ।

रेनोको दशैँ अफर
नेपालमा रेनो गाडीहरुको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले आफ्नो विशेष चाड योजना ‘रेनोशुभ कार–रम्भ’ को शुरुवात गरेको छ । ‘चाडपर्वको शुभ शुरुवात, गरौं रेनोको साथ’ भन्ने नाराका साथ दसैं–तिहार २०७८ को अवसरमा थुपै्र पाइने फाइदाको साथ आएको कम्पनीले जनाएको छ ।
रेनो गाडीको खरिदमा ग्राहकले तीन लाख रुपैयाँसम्मको फाइदा प्राप्त गर्न सक्ने बताइएको छ । ग्राहकहरु यस योजनाअन्तर्गत सजिलो फाइनान्स, एक वर्षको निःशुल्क सडक कर, दुई वर्षको निःशुल्क सर्भिसिङ र ५ वर्षसम्म वारेन्टीलगायतका सेवाबाट लाभान्वित हुनेछन् ।
यी आकर्षक अफरहरु ग्राहकको खुशीका महत्वपूर्ण पलहरु हुनेछन् । यसले ग्राहकलाई उत्कृष्ट लाभ प्रदान गर्दछन् भने अर्कातिर ग्राहकहरुले आफ्ना हरेक दिनलाई नयाँ रेनो कारका साथ अद्भुत बनाउन सक्ने कम्पनीको दाबी छ ।
यो उत्सवको मौसममा रेनो कारको खरिदका साथ ग्राहकहरुले आनन्द प्राप्त गर्न सक्ने बताइएको छ । यो योजना रेनो डस्टर, रेनोकाइगर, रेनो ट्राइबर र रेनो क्विड जस्ता रेनोका सबै भेरियन्टका गाडीहरुमा उपलब्ध रहने कम्पनीको भनाइ छ ।

टाटाको हातै खाली नजाने अफर
नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले यो वर्षको दसैंलाई लक्षित गर्दै हातै खाली नजाने अफर ल्याएको छ ।
यस योजनाअन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद तथा बुकिङ गर्दा ग्राहकहरूले ४ पटकसम्म विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्न सक्ने जनाइएको छ ।
टाटाको ट्रक, टिपर, बस, मिनी ट्रक, मिनी टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडीहरूको खरिदमा ग्राहकहरूले एसी, वासिङ मेसिन, ल्यापटप, स्मार्ट टीभी, स्मार्टफोन, फ्रिज, ईएमआई, सर्भिस कुपन, क्यास ब्याक जस्ता आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन् ।
हरेक हप्ताको लक्की ड्र मार्फत् बुकिङ गर्ने ग्राहकहरूमध्ये एक जना ४० इन्चको एमआई स्मार्ट टिभी र बम्परलक्की ड्र मार्फत् गाडी खरिद गरेका ग्राहकहरूमध्ये ४३ जना ग्राहकहरूले थप उपहार प्राप्त गर्ने जनाइएको छ ।
सिप्रदी ट्रेडिङ–कमर्सियलभेइकल बिजनेस युनिटका जेनरल म्यानेजर अनुपमणि ढकालका अनुसार सिप्रदी ग्राहकहरूको उत्साहलाई बढाइराख्न यस्तो योजना ल्याएको बताए । उनका अनुसार, यो योजना असोज १४ गतेसम्म लागु हुनेछ ।

हुन्डाई ‘फेस्टीभ डिलाइट योजना
हुण्डाइ मोटर्सले दसैं तिहारलगायतका चाडपर्वको अवसरमा आकर्षक योजना ल्याएको छ ।
दसै तिहार लक्षित योजनामा कम्पनीले हुण्डाइ आरटुटुजिरो एलएस एक्साभेटरको खरिदमा तीन लाख रुपैयाँ छुट, ४३ इन्चको एमआई टिभी प्रो, २००० घण्टासम्म फ्रि फिल्टर किटआदि सुविधा प्रदान गरेको छ । चाडपर्वकोे समयमा कम्पनीले ग्राहकलाई पाँच लाख रुपैयाँसम्मको सुविधा प्रदान गरेको जनाएको छ ।
चाडपर्वलाई लक्षित गरी कम्पनीले विगतका वर्षहरुदेखि यस्तै प्रकारको आकर्षक योजना प्रस्तुत गर्दै आएको छ । कम्पनीले नेपालमा पूर्वाधार विकास एवं औद्योगिक संरचना र विकास निर्माणमा आवश्यक पर्ने उच्चस्तरीय हेभी मेसिनहरु बिक्री वितरण गर्दै आएको छ ।
यो योजना असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म नेपालभर लागू गरिएको बताइएको छ ।
हुण्डाइका हेभी उपकरणहरुमा शक्तिशाली इञ्जिन राखिएको छ । यसको मर्मत कम खर्चिलो हुनुका साथै ठूलो बकेट, कतिपय मोडेलहरुमा वातानुकुलित क्याबिन, न्यूनतम मूल्यमा स्पेयर पार्टस् सजिलै उपलब्ध हुने तथा कम्पनीले २४ सै घण्टा, सातै दिन घरदैलो सेवा प्रदान गर्ने पनि जनाएको छ ।

होण्डाको फेस्टिभ बोनान्जा
नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले नेपालीको महान चाड दसैं, तिहार र छठलाई लक्षित गर्दै ‘होण्डाको फेस्टिभ बोनानजा’ ग्राहकवर्गहरु माझ ल्याएको छ ।
यस खुसीको उत्सवमा नयाँ होण्डा कार खरिद गर्ने ग्राहकहरुले हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, एक वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स, एक वर्षसम्मको लागि फ्रि रोड ट्याक्स, ३ वर्षसम्मको लागि फ्रि सर्भिसिङ्ग, ३ वर्षसम्मको लागि स्पेयर पार्टस्मा ७ प्रतिशतको छुटका साथै अन्य धेरै फ्रि आकर्षक उपहार प्राप्त गर्न सक्ने बताइएको छ । यसका साथै हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३.५ लाखसम्मको क्यास ब्याक जित्न सक्ने कम्पनीले जनाएको छ ।

अशोक लेलैण्डको ‘दसैंतिहारको बहार पक्का उपहार’
आइएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्सले दसैं तिहारलाई लक्षित गरी ‘दसैं तिहारको बहार पक्का उपहार’ साथै बम्पर उपहार योजना ल्याएको छ । जसअन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानी छानी उपहार पाउनेछन् ।
चाडपर्वमा ग्राहकहरुले अफरलाई नै बढी प्राथमिकता दिने भएकाले उपहार योजना ल्याएको आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए । यस योजना अनुसार ग्राहकले अशोक लेलैण्डको दोस्त, बस साथै ट्रक टिप्परको कुनै पनि मोडल खरिद गर्दा आफ्नो इच्छा अनुसार उपहार छानी छानी लिन सक्नेछन् ।
अफरअन्तर्गत दोस्त गाडीको खरिदमा १५ ग्राम सुन अथवा स्मार्ट फोन साथै थप क्यास डिस्काउन्ट अथवा स्मार्ट टिभी साथै क्यास डिस्काउन्ट पाउन सक्ने बताइएको छ ।
ग्राहकले अन्य मोडलका गाडी खरिदमा पनि विभिन्न पुरस्कार पाउने बताइएको छ । यो योजनअन्तर्गत बम्परमा तीन जान भाग्यशाली जोडीलाई ५ रात ६ दिने युरोप टुरको पनि अफर ल्याएको कम्पनीले जनाएको छ । चाडपर्व लक्षित यो योजना मंसिर ३० गतेसम्म सञ्चालन हुने बताइएको छ ।

टोयोटाको एक्सचेञ्ज कार्निभल आयोजना
नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस)ले चाडपर्व नजिकिएसँगै ‘टोयोटा एक्सचेञ्ज कार्निभल’ आयोजना सार्वजनिक गरेको छ ।
कम्पनीले आफ्नो नेपालभर रहेका टोयोटा शोरुमहरुमा आज भदौ २८ देखि असोज ३ गतेसम्म उक्त एक्स्चेञ्ज कार्यक्रम संचालन गर्ने भएको हो ।
नयाँ टोयोटा रस, हाइलक्स, कोरोला क्रस, फर्चुनर, र्याभ फोर हाइब्रिड, प्राडोजस्ता मोडलसँग पुरानो गाडी ल्याएर ग्राहकले एक्सचेन्ज गर्न सक्नेछन् । उक्त एक्सचेन्जमा ग्राहकले आकर्षक सुविधा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

सुजुकीमा दुई लाखसम्म नगद छुट
सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिङको अटोमोटीभ डिभिजन सिजी मोटोकर्पले पनि चाडपर्व लक्षित दशैं तिहार स्कीम ल्याएको छ । ‘सुजुकी पर्वोत्सव अफर’ नामक योजनमा ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, एक लाख पचास हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, बीस हजार रुपैयाँसम्म लोयोल्टी बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्डमार्फत ७५ हजारसम्म अतिरिक्त छुट पाउनेछन् । सुजुकीले स्टकमा रहेका मोडलमा क्लियरेन्स अफर भनेर विशेष छुटको व्यवस्था समेत ल्याएको छ ।
सुजुकीले आफ्ना विभिन्न मोडेलमा फरक फरक छुट हुने जनाएको छ । मारुती सुजुकी ब्रान्डले एसप्रेसो, वागेन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सिआज, ब्रेजा, एसक्रस, एर्टिगा, एक्सएल सिक्स, इको, इको कार्गो र सुपर क्यारी जस्ता मोडल बिक्री बितरण गर्दै आएको छ ।

प्रोटोनको ‘दशैं दक्षिणा’ योजना’
चाडपर्वको मौसम नजिकिएसँगै प्रोटोनले भारी दक्षिणा सहितको ‘दशैं दक्षिणा’ योजना ल्याएको छ ।
जसमा ग्राहकले प्रोटोनको सागा र एक्स ७० गाडीको खरिदमा ६ लाखसम्मको दक्षिणा प्राप्त गर्न सक्ने छन भने कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ प्रोटोन एक्सचेन्ज गरेमा ग्राहकले ५० हजार देखि २ लाखसम्म एक्सचेन्ज बोनस स्वरुप स्वरुप प्राप्त गर्न सक्नेछन् ।
पुरा पैसा तिरेर नयाँ सवारी किन्न इच्छुक ग्राहकले ५० हजारदेखि २ लाख ५० हजारसम्म नगद छुट पाउने छन् । निःशुल्क बीमा, एक वर्षको वार्षिक कर, विभिन्न एशोसरीजहरु ग्राहकले पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्