विरोध नगरौं, ईपीएस कोटा गुम्ला

काठमाडौं– पछिल्लो समय रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा र रोजगार छनोट प्रक्रियाप्रति युवाहरुले विभिन्न आरोप लगाएका कारण नेपाललाई दिएको कोटा अन्य देशमा जाने सम्भावना बढेको छ ।
ईपीएस कोरिया शाखा र एचआरडी कोरियाको नेपाल कार्यालयले हालै सूचना जारी गरी पछिल्ला समयमा भइरहेका विरोधले ईपीएसप्रति नकारात्मक असर पर्ने बताएको छ ।
अहिले कामदार छनोटको विषयलाई लिएर विभिन्न क्षेत्रको रोष्टरमा रहेकाहरुले कोरिया छिटो जान पाऊँ भनी धर्ना, जुलुस तथा आन्दोलन गर्दै आएका छन् । यिनै विरोधका कार्यक्रमलाई हेरेर ईपीएस कोटामै असर पर्ने सम्भावना रहेको जनाइएको हो ।
कोरियाका रोजगारदाताले नेपाली श्रमिकलाई मन पराउँदै आएका छन् । यही कारण कोरियाले नेपाललाई अन्य १५ ईपीएस सदस्य देशको तुलनामा धेरै कोटा दिएको छ । तर, अहिले नेपाली युवाले विभिन्न माग राखेर विरोध जनाउन सुरु गरेकाले कोरिया जान गरिने प्रक्रियासमेत ढिलो भएको छ ।
कोरियाले छिटोछरितो श्रमिक आपूर्ति गर्ने श्रम स्रोत मुलुकबाट कामदार लैजाने गर्छ । नेपालले सन् २००८ देखि अन्य १५ राष्ट्रको तुलनामा छिटोछरितो कामदार पठाउने गर्दै आएको छ । सन् २०२४ मा ९ हजार ७५२ कोरिया गएका थिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ईपीएस प्रणालीमा देखिएको विवादलाई लिएर मानव संशाधन विकास सेवा (एचआरडी) कोरिया, ईपीएस शाखा र कोरिया रिटर्नीबीच त्रिपक्षीय छलफल समेत गर्दै आएको छ । तर, केही समययता युवाहरुले पुनः आन्दोलनका कार्यक्रम राखेको शाखाले जनाएको छ । पछिल्लो समय कोरियाका रोजगारदाताले पुराना भन्दा नयाँ श्रमिकलाई बढी छनोट गर्दै आएको जनाउँदै कोरिया रिटर्नीले माग प्रक्रियामा एचआरडी कोरियालाई दोष लगाउँदै आएका छन् । यसअघि पनि शीप बिल्डिङ क्षेत्रमा भाषा परीक्षा दिएर फेल भएका युवाले उत्पादनमूलक क्षेत्रमा परीक्षा दिन पाउनुपर्ने माग राख्दै गरेको आन्दोलनमा दुई युवाको मृत्यु भएको थियो ।
एचआरडी कोरियाका निर्देशक किम गी सुले कोरिया जाने श्रमिक छनोटको पूर्ण अधिकार रोजगारदातामा निहीत हुने जानकारी दिएका छन् । एचआरडी कोरियाले नेपाल र कोरियाबीच भएको सम्झौता अनुसार श्रमिक छनोट गरी रोष्टरमा मात्रै राख्ने काम गर्छ । तर, श्रमिकको फाइल पठाउने वा श्रमिक छनोट गर्ने प्रक्रियामा भने कुनै पनि निकायको संलग्नता नहुने उनले स्पष्ट पारेका छन् । शाखाले अनलाइनमार्फत पारदर्शी रुपमा नै परीक्षा लिन्छ । पास भएका श्रमिकलाई रोष्टरमा सूचीकृत गर्ने गरे पनि श्रमिकको छनोट रोजगारदाताले नै गर्ने शाखाले जनाएको छ ।
कोरियन रोजगारदाताले अनलाइनमार्फत नै श्रमिकको माग गर्छन् । रोजगारदाता र रोष्टरमा रहेका श्रमिकबीच समन्वय गर्ने काम कोरियास्थित ‘जब सेन्टर’ले गर्छ । जब सेन्टर कोरियाको श्रम मन्त्रालय अन्तर्गत छन् । रोजगारदाताले तोकेको मापदण्ड अनुसार जब सेन्टरले श्रमिकको सूची पठाउँछ । जब सेन्टरले पठाएको सूचीको आधारमा रोजगारदाताले श्रमिक छनोट गर्ने गरेको छ । तर, जब सेन्टरले पठाएको सूचीमध्ये कति श्रमिक छनोटमा पर्छन् भन्ने निश्चित हुँदैन ।
नेपाली युवा श्रमिक छनोट गर्ने प्रक्रियाको विषयमा गलत सूचना फैलिएको भन्दै कोरियन पक्षले दुःख व्यक्त गरेको छ । ‘कोरियाका रोजगारदाताले श्रमिक छनोट गर्ने प्रक्रिया र नेपाली रोजगारदाताले श्रमिक छनोट गर्ने प्रक्रिया एउटै हो,’ शाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालमा पनि एक कर्मचारी चाहियो भने दर्जनौंले आवेदन दिन्छन् । तर, रोजगारदाताले आफूले चाहेको एक जना मात्रै छनौट गर्छ ।’ त्यसैगरी कोरियन रोजगारदाताले पनि रोष्टरमा सूचीकृत हजारौं संख्याका श्रमिकमध्ये केहीलाई मात्रै छनोट गर्ने गरेको जनाउँदै गलत सूचनामा नपर्न अनुरोध गरिएको छ ।