Logo

एकल अंकको ब्याजदरमा आयो कर्जा, घर बनाउने उपयुक्त समय

काठमाडौं– पछिल्ला केही महिनायता वाणिज्य बैंकहरूले घर कर्जामा एकल अंकको ब्याजदरमा ऋण विस्तार गर्दै आइरहेका छन् । लगानीका लागि अन्य विकल्प नहुँदा बैंकहरू ब्याजदर घटाएर घर कर्जा दिन बाध्य भएका हुन् ।

घर कर्जाका लागि सबैभन्दा थोरै ब्याजदरमा ऋण राष्ट्रिय वाणिज्य बैंकबाट पाइन्छ । तर, यो शर्तसहित हो । भूकम्प प्रभावितलाई यो बैंकले ५.०५ प्रतिशतमा घर कर्जा दिँदै आएको छ ।

घर कर्जामा सबैभन्दा बढी ब्याजदर भने नेपाल बैंकको छ । नेपाल बैंकको १० वर्ष अवधिको घडेरी कर्जाको स्थिर ब्यादजदर १३.५० प्रतिशत छ । यस्तै, अवधि नतोकिएको घर कर्जाको ब्याजदर १२.२५ प्रतिशतदेखि १४.२५ प्रतिशतसम्म कायम छ ।

सस्तोमा नेपाली सेनाका लागि घरकर्जा राष्ट्रिय वाणिज्य बैंकले ५.१२ प्रतिशतमा कर्जा दिँदै आएको छ । कृषि विकास बैंकले कम्प्लेक्स र घरकर्जाको ब्याजदर ५.६९ प्रतिशतदेखि ८.६९ प्रतिशतसम्म कायम छ । यस्तै, जग्गा किन्न र १५ वर्ष अवधिका लागि लिइने घर कर्जाका लागि ५.६९ प्रतिशतदेखि ८.६९ प्रतिशतसम्म ब्याजदरमा यो बैंकले कर्जा उपलब्ध गराउँदा १० वर्षका लागि घर कर्जा लिन ५.६९ प्रतिशतदेखि ७.६९ प्रतिशतसम्म कायम गरिएको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले तीन करोडसम्मको घर कर्जामा ५.७९ देखि ७.७९ प्रतिशतसम्म ब्याजदर कायम गर्दा नेपाल बैंकले २५ वर्ष अवधिका लागि लिइने सर्वसुलभ आवास कर्जाको ब्याजदर ५.९९ प्रतिशतदेखि ७.४९ प्रतिशतसम्म कायम गरेको छ ।

एनएमबि बैंकले १० वर्ष अवधिका लागि सुलभ घर कर्जामा ९.९९ प्रतिशत ब्याजदरको अफर ल्याएको छ । एभरेष्ट बैंकले भने घर कर्जा न्यूनतम ६.१५ प्रतिशतदेखि ८.१५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।

यस्तै, सिद्धार्थ बैंकले ७ वर्ष अवधिका लागि ८.७५ प्रतिशतमा घर कर्जा, ७ वर्षका लागि महिलाका लागि घर कर्जामा ८.४९ प्रतिशत ब्याजदर तय गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले २ करोडसम्मको मेरो घर कर्जाको ब्याजदर ६.३० प्रतिशतदेखि ६.५५ प्रतिशतसम्म कायम गरेको छ भने सिटिजन्स बैंकले ७ वर्षसम्मको हाउजिङ कर्जाको ९.९९ र ७ वर्ष अवधिको घर कर्जाको ७.९९ प्रतिशतको अफर सार्वजनिक गरेको छ ।

नबिल बैंकले ‘एफोर्डेबल लोन’को ब्याजदर ६.४९ प्रतिशत कायम गर्दा प्राइम बैंकले ६.४९ प्रतिशतदेखि ११.४९ प्रतिशतसम्म ब्याजदरमा घर कर्जा उपलब्ध गराइरहेको छ ।

माछापुच्छ्रे बैंकले २ करोडसम्मको घर कर्जाको ६.६१ प्रतिशतदेखि ८.६१ प्रतिशतसम्म ब्याजदर कायम गर्दा एनएमबि बैंकले ३ करोडसम्म र ३ वर्षभन्दा माथिको २० वर्ष अवधिको घर कर्जामा ६.६३ देखि ८.६३ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

पछिल्ला केही महिनायता घर कर्जा बढ्दो क्रममा रहेको देखिएको छ । राष्ट्र बैंकका अनुसार गत असारसम्ममा रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.९ प्रतिशतले बढेको छ ।

ब्याजदर कम हुँदा घर कर्जा बढ्दै गएको बैंकरहरू बताउँछन् । पछिल्लो समय सरकारले समेत निर्माण क्षेत्रतर्फको कर्जा विस्तारलाई जोड दिँदा बैंकहरूले त्यसका लागि सस्तो ब्याजदर कायम गर्दै आएका छन् । बैंकहरूले एकल अंकमै ब्याजदर कायम गर्दा घर कर्जा लिएर घर बनाउने ग्राहकको संख्या बढ्दै गएको बैंकरहरू बताउँछन् । विशेषगरी अहिले कर्जा दिनका लागि बैंकहरू सहज अवस्थामा छन् ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) बढ्दै जाँदा घर कर्जातर्फ बैंकहरूले लगानी बढाउन थालेका छन् । एकल अंकमा ब्याज लिने योजनासहित बैंकहरूले ग्राहकलाई घर कर्जाका लागि विभिन्न अफरसमेत सार्वजनिक गर्न थालेका छन् । अर्थतन्त्रमा आएको सुस्तता चिर्नका लागि सेयर बजार र निर्माण क्षेत्रमा कर्जा विस्तारका लागि विज्ञहरूले जोड दिइरहँदा बैंकहरू पनि त्यसतर्फ आकर्षित भएको पाइन्छ ।

बैंकहरूले स्थिर र एकल अंकमै कर्जा दिन थालेपछि ग्राहक पनि यसतर्फ आकर्षित देखिएका छन् । जसकारण बैंकहरूको घर कर्जाको वृद्धि पनि बढ्दै गएको छ । धेरैजसो बैंकले सात वर्ष अवधिको घर कर्जामा स्थिर ब्याजदर दिइरहेका छन् । कतिपय बैंकहरूले तोकिएको ब्याजदरमा पनि विभिन्न सहुलियत अफर ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्