सेज र भूउपयोग विधेयक संसद्मा

सरकारले भूउपयोग र विशेष आर्थिक क्षेत्र (सेज)सम्बन्धी विधेयक संसद्मा पेश गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विशेष आर्थिक क्षेत्र पहिलो संशोधन विधेयक, २०७५ प्रस्तुत गरेका छन् । यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले भूउपयोग विधेयक, २०७५ प्रस्तुत गरिन् । दुवै विधेयक मुलुकको दिगो आर्थिक विकासका लागि महत्वका साथ हेरिएका छन् । सेज स्थापनाले निर्यात व्यापार प्रवद्र्धन गर्ने तथा भूउपयोग ऐन कार्यान्वयनपछि जग्गाको अनियन्त्रित उपयोग रोकिने अपेक्षा गरिएको छ । दुवै विधेयक प्रस्तुत गर्नुअघि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना अस्वीकृत भएको थियो ।