आर्थिक चलखेल गर्न कतार भिसा सेन्टर खडा :वैदेशिक रोजगार व्यवसायी

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कतार भिसा सेन्टर (क्युभिसी)खडा गरी एकाधिकार लागू गर्न खोजेको भन्दै आन्दोलनको चेतावनी दिएको छ । कतारमा कामदार पठाउनका लागि पहिले नेपाल सरकारबाट मान्यताप्राप्त जुनसुकै स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरी श्रम स्वीकृतिलगायत प्रक्रिया पूरा गरी कामदार जाने गरिएकोमा एकाधिकारका लागि उक्त व्यापारिक संस्था खडा गरिएको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।
संघले सीमित व्यक्तिको अघोषित मिलेमतोमा व्यापक आर्थिक चलखेल भएको र सिन्डिकेट गर्न लागिएकाले कडा कदम चाल्न बाध्य हुनुपरेको जनाएको छ । यसका विरुद्ध युवा कामदार र व्यवसायीसहित चरणवद्ध रुपमा आन्दोलनमा उत्रने संघले जनाएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष कमल तामाङले नेपाली कामदारको चरणवद्ध आन्दोलनमा उत्रिन तयार रहेको बताए । उनले कतार भिजा सेन्टर (क्युभिसी) को यथाशिघ्र छानबिन गर्न सरकारसँग माग गरे । कतार भिजा सेन्टर (क्युभिसी)को आवश्यकता र क्रियाकलापको बारेमा पनि छानबिन हुनुपर्ने अध्यक्ष तामाङकोे भनाइ छ ।
उनले दुरदराजबाट विदेश जान सपना देखेर आएका युवाहरु २० दिनसम्म क्वियु भिसीको लागि डेट कुरेर बस्दा उल्टै ऋणमा डुबेको बताए ।
संघका द्वितीय उपाध्यक्ष कमलदेव मल्लले विदेशबाट पठाएको रेमिट्यान्स प्यारो हुने तर वैदेशिक व्यवसायी र युवालाई अपमान गर्न नहुने बताए । क्युभिसीले नेपाली कामदारमाथि ज्यादती गरेको भन्दै उनले एकपक्षीय रुपमा व्यवसाय, व्यवसायी र कामदारको हितविपरित आर्थिक भार थप्ने र अघोषित सिन्डिकेट कायम गर्ने नियत प्रष्ट देखिएको बताए ।