नेपाल र साउदीबीच श्रम समझदारी हुँदै

काठमाडौं- नेपाल र साउदी अरबबीच श्रम समझदारी गर्ने प्रक्रिया अगाडि बढेको छ । मन्त्रिपरिषद् बैठकले सम्झौतामा हस्ताक्षर गर्न तालुक मन्त्रालयलाई स्वीकृति दिएसँगै श्रमसम्झौता गर्ने प्रक्रिया अगाडि बढेको हो ।
नेपाल र साउदी अरबले प्रक्रिया पूरा गरेपछि साउदी सरकारको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालय र नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । लामो समयदेखि साउदी अरबसँग श्रमसम्झौता गर्न दुई देशका संयुक्त समितिको बैठक बस्दै आएको थियो ।
नेपालले सन् २०१० देखि नै साउदीसँग श्रमसम्झौताको प्रयास गर्दै आएको थियो । लाखौं नेपालीको वैदेशिक रोजगार गन्तव्य रहेको साउदीसँग अब श्रम समझदारी गर्न बाटो खुलेको श्रममन्त्री शरदसिंह भण्डारीले बताए । यो सम्झौताले नेपाली श्रमिकले अन्तर्राष्ट्रिय मानव अधिकारको सिद्धान्त अनुसारका अधिकार प्राप्त गर्ने र ‘इम्प्लोयर पे पोलिसी’ अनुसारको सुविधा प्राप्त गर्नेछन् । आगामी सबै श्रम सम्झौतामा नेपाली श्रमिकको आवश्यकता र प्राथमिकता तथा मानव अधिकारलाई केन्द्रमा राखिने सरकारको दाबी छ ।
श्रमसचिव कृष्णहरि पुष्करले वैदेशिक रोजगारीमा जाने नेपालीको उचित संरक्षण, सुरक्षित रोजगारी र श्रम शोषणको विषयमासरकारले गम्भिर रुपमा विश्लेषण गरिरहेको बताए । मन्त्रालयले विगतमा भएका श्रम समझदारीहरुको समेत विस्तृत समीक्षा गरिरहेको बताउँदै उनले श्रमिक पठाउने मुलुकमा श्रम शोषण र मानव अधिकार उल्लंघनका विषयमा नेपाल सरकारले शून्य सहनशीलता नीति अपनाइएको बताए ।
नेपाल वैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष भुवन सिंह गुरुङले नेपाल र साउदीबीचको श्रमसम्झौता स्वागतयोग्य रहेको बताउँदै अन्य मुलुकहरुमा समेत यस्ता सम्झौता गर्न सुझाव दिए । श्रम तथा रोजगार क्षेत्रका विज्ञ युवराज बस्नेतले नेपाली श्रमिक विदेशी भूमिमा सामाजिक संरक्षण प्राप्त गर्नेमा यो सम्झौताले ध्यान दिएको बताए ।
सन् २०३४ मा हुने फिफा विश्वकप आयोजनाको तयारीस्वरुप साउदीले श्रम नीतिमा व्यापक सुधार गरिरहेको छ । ‘मोडर्न डे स्लेभरी’ मानिने कफाला प्रणालीमा सन् २०२१ को मार्चमै सुधार गरिसकेको साउदीले श्रम ऐनमा परिवर्तन गरी विदेशी श्रमिकको न्यूनतम पारिश्रमिक तथा सेवा सुविधाको सुनिश्चितता गरेको छ ।
कतारमा भएको विश्वकपमा श्रमिक शोषणको विषय अन्तर्राष्ट्रिय रुपमा उठेपछि साउदीले श्रमिकको अधिकार र सेवामा विशेष ध्यान दिएको देखिन्छ । यसअघि नै ‘साउदी फण्ड’ को प्रयोग गरी नेपालमा अन्तर्राष्ट्रिय स्तरको तालिम उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानसँग साझेदारी गरिसकेको छ ।