Logo

मध्यपहाडी लोकमार्गः अपेक्षाअनुसार सम्भाव्यता

चियोभञ्ज्याङदेखि झुलाघाटसम्म यो राजमार्गले पहाडी जिल्लाका ३९ मध्ये २४ जिल्लालाई सहजै सेवा पुर्याउने छ । यो सडकले १९ जिल्लाका सदरमुकाम हुदै जानेछ भने केही अध्ययनको क्रममा रहेकाले थप जिल्ला र ती जिल्लाको सदरमुकाम हुदै विस्तार हुने देखिएको छ । गाउँमात्र नभई यसले नेपालका धेरै सहरहुदै विस्तार भइरहेको छ । सडकको विस्तारसगैँ यसले बजारीकरणलाई बृद्धि गराएको छ भने नयाँ बजारीकरणको सम्भावनाहरू पनि उजागर गर्न थालेको छ ।

मध्यपहाडी राजमार्गलाई पुष्पलाल लोकमार्ग पनि भनिन्छ । नेपालमा हाल निर्माणाधीन राजमार्ग मध्येको गाँउदेखि सहरसम्म पूर्वदेखि पश्चिम यो सडकले जोड्दछ । नेपालको पूर्वदेखि पश्चिमसम्म जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्ग पछि यो तेस्रो ठूलो राजमार्ग हो । निर्माण भैसकेपछि यसको लम्बाई प्रारम्भिक अध्ययनमा एक हजार ७७६ किमि रहेको छ । यो राजमार्ग पाँचथरको पूर्र्वीभेगमा पर्ने चियोभञ्ज्याङ (नेपाल–भारत सीमा) बाट सुरु भएर बैतडीको झुलाघाटमा (महाकाली नदीसम्म) जोडिन्छ ।
चियोभञ्ज्याङदेखि झुलाघाटसम्म यो राजमार्गले पहाडी जिल्लाका ३९ मध्ये २४ जिल्लालाई सहजै सेवा पुर्याउने छ । यो सडकले १९ जिल्लाका सदरमुकाम हुदै जानेछ भने केही अध्ययनको क्रममा रहेकाले थप जिल्ला र ती जिल्लाको सदरमुकाम हुदै विस्तार हुने देखिएको छ । गाउँमात्र नभई यसले नेपालका धेरै सहरहुदै विस्तार भइरहेको छ । सडकको विस्तारसगैँ यसले बजारीकरणलाई बृद्धि गराएको छ भने नयाँ बजारीकरणको सम्भावनाहरू पनि उजागर गर्न थालेको छ । आठ वर्ष अघि सन् २०११ भित्र राजमार्गको ट्रयाक खोल्ने काम सक्ने योजना भएतापनि अझै केही स्थानमा प्रारम्भिक अध्ययनको क्रममा रहेकाले यो सडकको दुरी एकीन हुनबाँकी रहेको मध्येपहाडी सडक आयोजनाका पश्चिम खण्डका निमित्त प्रमुख इ.रमेश दृष्टिले जानकारी दिए ।
यो सडकको काम हाल दुई खण्ड अन्तरगत चियाभञ्ज्याङदेखि नुवाकोटको पाटीभञ्याङसम्म पूर्वीखण्ड र पार्टीभञ्याङदेखि झुलाघाटसम्म पश्चिम खण्ड बनाएर काम भइरहेको छ । सडक निर्माणको लागी नुवाकोट मध्येविन्दुमा अबस्थित छ । पूर्वी खण्ड अन्तरगत पाटीभञ्याङसम्म ६५९ किमि र पश्चिम खण्डमा नुवाकोटको पाटीभञ्याङदेखि बैतडीको झुलाघाटसम्म एक हजार ९७ किमि पर्दछ ।
पुष्पलाल मध्येपहाडी सडक खण्डको नुवाकोटमा करीब ७० किमि पर्ने आयोजनाका इञ्जिनियर दयानाथ यादवले बताए ।
हाल पाँच खण्डमा काम भइरहेको सो सडकको नुवाकोटमा सिन्धुपाल्चोकस्थित चिसापानीबाट प्रवेश गर्ने सडक पार्टीभञ्याङहुदै शेराबगर, छहरे, ढिकुरे, गंगटे, डेउडी, सामरीहुदै भर्याङभुरुङबाट धादिङतर्फ लाग्दछ ।

पहिलो खण्ड :

पाटीभञ्याङदेखि थानसिंहको छहरेसम्म २७.५ किमि पर्दछ । नयाँ ट्रयाक खोल्ने तथा साविक सडक स्तरउन्नतीको काम सम्पन्न भएपश्चात हाल यो सडकमा सात वटा पक्कि पुलको निर्माण र कालोपत्रे गर्नको लागी ठेक्का लगाइएको आयोजनाका इञ्जिनियर रञ्जितकुमार यादवले बताए । विस. २०७४ असोज २ गते तीन वर्षको लागी तुदी कन्स्ट्रक्सन कम्पनीलाई दिइएको ठेक्का अन्तरगत हाल निर्माण कार्य तिव्र गतिमा अघि बढाइएको छ । समग्रमा सडक निर्माण १६ प्रतिशत सम्पन्न भएको छ । सडकमा पर्ने सातवटा पुल मध्ये तीन वटा ठेक्का लगाउन बाँकी छ भने चारवटाको निर्माण भइरहेको छ । त्यसमध्ये तीनवटा अन्तिम चरणमा पुगेको छ ।

दोश्रो खण्ड :

नुवाकोटको थानसिंहको छहरेदेखि खानीगाँउको ढिकुरेबजारसम्मको १३ किमि सडक विभाग अन्तर्गत रिप (सडक विस्तार आयोजना) मार्फत काम भइरहेको छ । यो सडक साविकको सडक अन्तरगत स्तरउन्नती गर्ने काम सम्पन्न भएकाले हाल कालोपत्रे गर्ने तयारी गरिएको यादवले जानकारी दिए । उनको अनुसार आगामी फागुनदेखि सुरुहुने कालोपत्रेको काम छ महिनामा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

तेश्रो खण्ड :

खानीगाँउको ढिकुरेबजारदेखि विदुर नगरपालिका–५ गंगटेसम्म ७.३ किमि पर्दछ । यो सडक रमण–दिव्यज्योती जेभी मार्फत ठेक्का लगाएर हाल कालोपत्रे गर्न निर्माण सुरु भएको छ । उक्त कम्पनीलाई विसं २०७५ जेष्ठ ३१ गते ठेक्का लगाइएको हो । यो सडक साविक गगटे–ढिकुरेहुदै छहरेतर्फ र ढिकुरे हुदै समुन्द्रटारतर्फ जानको लागी कायम रहेको सडक भएकाले स्तरउन्नती र कालोपत्रेको लागी एकैसाथ काम अघि बढाइएको छ ।

चौथो खण्ड :

विदुर नपा–५ गगटेदेखि विदुर नपा–१३ डेडडीसम्मको सडक विस्तार प्रारम्भिक अध्ययनको क्रममा छ । यो सडकको विस्तार तथा स्तरउन्नती कहाँबाट लैजाने हालसम्म अन्योल छ । प्रारम्भिक अध्ययनमा गंगटेबाट त्रिशूलीबजारहुदै डेउडी जोड्ने अथवा गंगटेबाट तल्लोपिपलटार, बुनीवेसीहुदै चारघरेबाट डेउडी जोड्ने दुई सम्भावित स्थल हेरिएको छ । हालसम्म पनि यो सडकको रेखाङ्कन तय भएको छैन भने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण हुन बाँकी छ ।

पाचौँ खण्ड :

विदुर नपा–१३ डेउडीबाट धादिङको सीमाक्षेत्र भर्याङभुरुङसम्मको सडक १३.५ किमि पर्दछ । यो सडकको स्तरउन्नती तथा ट्रयाक विस्तारको काम सम्पन्न भएपश्चात हाल कालोपत्रेको लागी मित्र–सञ्जिवनी जेभीलाई विस. २०७५ असार ६ गते ठेक्का दिइएको छ । निर्माण व्यवसायी मार्फत काम जारी छ । यस सडक खण्डमा तीन वटा पक्कि पुल (कागुने, सामरी र भर्याङभुरुङ खोलामा) पर्दछ । तीनवटै पुलको निर्माणको काम आधा भन्दाबढी सम्पन्न भइसकेको छ । सडकलाई कालोपत्रे गर्न निर्माण व्यवसायीले कार्यक्षेत्रमा, कामदार, उपकरण र निर्माणका सामाग्रि परिचालन गरेर कार्य थालिसकेको छ ।
नुवाकोटमा पुष्पलाल मध्येपहाडी सडकको विस्तारले जिल्लाको दुगर्म तथा भौगोलिक रुपमा विकट मानिएका बस्तीहरूलाई सुगम र सहरसंग जोड्न महत्पूर्ण योगदान पुर्याउने जिसस नुवाकोटका प्रमुख सन्तमान तामाङले बताए । उनको अनुसार यो सडकले शिवपुरी गाँउपालिकाको पाटीभञ्याङदेखि छहरेसम्म सडक सुविधा बिहिन हुदाँ काठमाडौको चार वटा नगरपालिकासंग जोडिएको स्थानीयतह भएपनि विकट र दुर्गमको पहिचान अब हटाउन सक्ने आशा जगाएको छ । “यो सडक निर्माणले धादिङसंग जोडिएको म्यागङ गाँउपालिका र सिन्धुपाल्चोक र काठमाडौसंग जोडिएको शिवपुरी गाँउपालिकाबासीको जीवनस्तर उकास्न छलाङ ल्याउन सक्छ ।” तामाङले भन्नुभयो “यहाँको कृषि उब्जनी, जडिबुटी, पर्यटक प्रबद्धनले जिल्लाहुदै मुलुकलाई आर्थिक रुपमा समृद्धि बनाउन सकिन्छ ।”
नुवाकोट मात्र नभई यो सडक विस्तारले नेपालको पहाडी जिल्लाहरूलाई एउटै सडक सञ्जाल मार्फत जोड्ने लक्ष्य लिइएको छ । आर्थिक रुपमा समृद्धिको लागी पूर्वाधारका अन्य माध्यमजस्तै सडकको हिस्सा महत्वपूर्ण रहेको तथ्यलाई उजागर गर्ने अवसर पनि बन्ने देखिन्छ । पूर्वी–पहाडदेखि पश्चिम–पहाडसम्म पहाडै–पहाड पहुँच पुर्याउने योजनाको समग्र काम भने अपेक्षा अनुसार प्रगति भने देखिएको छैन ।

मध्येपहाडी सडकले जगाएको आशा :

मध्येपहाडी सडक खण्डको मध्येविन्दुमा अवस्थित यो सडकको विस्तारले नुवाकोटमा धेरै आशा जगाएको थानसिंहका स्थानीय बिनोद पाठकले बताए । सडक आगमनले बजारीकरणको बृद्धि मात्र गरेको छैन, जग्गाको अस्वभाविक मूल्य बृद्धिले गाँउलाई समृद्धि बनाउन सकारात्मक सन्देश दिएको छ । यद्यपी यसमा उत्पन्न हुनसक्ने नकारात्मक असर भने हटाउन सम्बन्धि पक्षले ध्यान दिनुपर्ने उनको भनाई छ । भूगोल (डाँडापहाड) र पूर्वाधारको विकासलाई लिएर भनिने विकट र दुगर्मको परिभाषा सडक विस्तारले अन्त्य गरेको शिवपुरी गाँउपालिकाको अध्यक्ष रामकृष्ण थापाले बताए । उनको अनुसार गाँउपालिकालाई सडक सञ्जाले कायलपलट बनाइदिएको छ । आठ वटा वडा मध्ये अधिकाशलाई छोएर विस्तार भएको सडकले सडक सञ्जालमा समावेश गरी जनतालाई निर्माणको क्रमबाट नै उत्साह जगाएको छ ।
शिवपुरी गाँउपालिकाले यही सडकलाई परिक्रम गर्ने गरी गाँउपालिकास्तरीय कृषि चक्रपथ सडक निर्माण गरी गाँउमा उत्पादन हुने अन्नबाली, तरकारी र जडिबुटीलाई अब मुलुकका मुख्य बजारमा पुर्याउन सक्ने हैसियत बनाउने ध्याउन्नमा जुटेको छ ।

दश स्थानमा नयाँ सहर निर्माण :

मध्यपहाडी लोकमार्ग अन्तरगत नेपाल सरकारले पाँचथरको फिदिम, तेह्रथुमको बसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी (गल्छी), तनहुँको डुम्रे, बाग्लुङको बुर्तिबाङ, रुकुमको चौरजहरी, दैलेखको राकम, अछामको साँफेबगर र बैतडीको पाटनलाई नयाँ सहर घोषणा गरेको छ । २० वर्षमा प्रत्येक एक सहरमा एकलाख जनसङ्ख्या राख्ने सहरको भौतिक संरचना निर्माण गर्ने महत्वाकांक्षी योजना बनाइएको छ । सरकारले प्रस्ताव गरेको दश नयाँ सहरमा भने यो सडकको ट्रयाक परिवर्तन भएकाले सरकारी योजना पनि अब परिवर्तन गर्नुपर्ने देखिएको छ । सरकारले नयाँ सहर निर्माण कार्यक्रम अन्तरगत धादिङको गल्छीमा कार्यान्वयन तर्फ लागेपनि यो सडक नुवाकोटको सामरीहुदै भर्याङभुरुङतर्फ जाने भएकाले ट्रयाक परिवर्तनले नयाँ सहरको प्रस्ताव पनि परिवर्तन गर्नुपर्ने देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्