भोजपुरमा उद्योग वाणिज्य संघको चुनावी सरगर्मी

संघको गत भदौ २५ गतेभित्र सबै उद्योगी, व्यवसायीलाई नवीकरण सकेर कार्यसमितीको बैठकले कात्तिक ३० मा अधिवेशन गर्ने मिति तय गरेको थियो । संघले तोकेको मितिभित्र ५१ प्रतिशत संघमा आबद्ध सदस्य, पान नम्बरवाला उद्योगी, व्यवसायीले नवीकरण गरेपश्चात् अधिवेशन गराउने प्रावधान छ । चुनावमा होमिएका उम्मेदवारहरू यतिबेला बजारका सबै पाननम्बर दर्ता गराएको उद्योगी, व्यवसायी, होटल, पसल, संस्थाहरूमा भोटका लागि दैलो घचघच्याउन पुगेका छन् ।
प्रत्याशी उम्मेदवारहरू आ–आफ्ना एजेन्डा लिएर घरदैलोमा भ्याइनभ्याइ देखिएका छन् । नयाँ नेतृत्वका लागि उम्मेदवारहरू उद्योगी, व्यवासायीहरूको हितमा काम गर्ने भन्दै हरेक घरदैलोमा आ–आफ्नो प्रतिबद्धता प्रस्तुत गर्दै हिँडेका छन् । हिजोआज बिहान, दिउँसै संघका नयाँ नेतृत्व चयनको चर्चापरिचर्चा गर्ने प्रत्येक चौक, गल्ली, चियापसल, होटल, सार्वजनिक स्थलमा मानिसहरूको झुन्डहरू भेटिन्छन् । “हाम्रो हितमा काम गर्नेलाई मात्र भोट दिने हो । सरकारले लगाएको करले सर्वसाधार मारमा परेका छ, नयाँ नेतृत्वले हामीलाई राहत देला कि भन्ने सोच छ ।” स्थानीय किराना व्यावसायी विनोद श्रेष्ठले भने, “अहिले के गर्छ भनी आएका छन्, चुनावपछि नेताहरू जस्तै हुने हुन कि, केही भन्न सकिन्न ।”
यता संघका पूर्वअध्यक्ष डम्बर श्रेष्ठले चुनावलाई स्वच्छ, स्वतन्त्र ढंगले सम्पन्न गर्नुपर्ने बताएका छन् । राजनीतीकरणले बनेको नेतृत्वमा संघको काम कहिल्यै स्फूर्त तरिकाले अघि बढ्न सक्दैन । अध्यक्षका लागि प्रत्याशी उम्मेदवार रहेका धु्रवलाल श्रेष्ठ र रामचन्द्र श्रेष्ठबीच चुनावी प्रतिस्पर्धालाई रोमाञ्चक रूपले हेरिएको छ ।