नेपाल–चीन व्यापारिक सम्बन्ध बढ्ने

काठमाडौं– नेपाल–चीन उद्योग वाणिज्य संघको निमन्त्रणामा हुनान प्रान्तका भाइस गभर्नर हि बोअरिंगको नेतृत्वमा नेपाल आएका प्रतिनिधि मण्डलसँग सोमबार कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य दिँदै संघका अध्यक्ष राजेशकाजी श्रेष्ठले विगत वर्षहरू देखिनै हुनान प्रान्तसँग सूचनाको आदान–प्रदान भइरहेको र यस भ्रमणबाट व्यापार वृद्धि तथा लगानीका लागि सहज हुने बताए । साथै संघ र हुनान प्रान्तबीच आर्थिक व्यापारिक सम्बन्ध विस्तार, पर्यटन, उद्योग, तयारी पोसाक तथा लगानी वृद्धिमा विस्तार गर्दै जाने पनि बताए । नेपालमा कृषि, खाद्यन्य तथा तयारी पोसाक उद्योग, पर्यटन, बैंकमा संयुक्त लगानीका लागि समेत आह्वान गर्दै उनले नेपालमा लगानी गर्न इच्छुक लगानीकर्ताहरूलाई संघले सक्दो सहयोग गर्ने बताए ।
साथै नेपालमा उत्पादित वस्तुहरू विश्व बजारमा निर्यात गर्दा अतिकम विकसित राष्ट्रको हैसियतले पाउने सुविधा प्राप्त गर्ने हुँदा गान्सु प्रान्तका व्यवसायीहरूलाई नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न अनुरोध गरे ।
हुनान प्रान्तका भाइस गभर्नर हि बोअरिंगले दुइपक्षिय व्यापार प्रवद्र्धनका लागि यस किसिमको छलफलमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा हुनान र नेपालबीचको आर्थिक तथा व्यापारिक सम्बन्धमा उल्लेख्य टेवा पुग्ने विश्वास व्यक्त गरे । साथै नेपाल र हुनानबीच प्रसस्त आर्थिक तथा व्यापारिक सम्भावना रहेकाले यसलाई थप विस्तार गर्न सहयोग गर्ने आश्वासन दिए । कार्यक्रममा संघका कास सदस्य ज्ञानेन्द्रलाल प्रधानले नेपालमा जल विद्युत्मा लगानीको सम्भावनाबारे प्रस्तुति दिएका थिए । कार्यक्रममा विभिन्न संघका प्रतिनिधिहरू, संघका पदाधिकारी तथा सदस्यहरू तथा नेपाली उद्योगी व्यवासीहरूले सहभागिता जनाएका थिए ।