सुरक्षित छैन ग्यास बोटलिङ प्लान्ट «

सुरक्षित छैन ग्यास बोटलिङ प्लान्ट

खाना पकाउने एपी ग्यास उद्योग (बोटलिङ प्लान्ट) सुरक्षाका दृष्टिकोणले जोखिममा देखिएका छन् । आवश्यक मापदण्ड पूरा नगरी उद्योग स्थापना गरिएकाले त्यस्ता बोटलिङ प्लान्ट असुरक्षित देखिएका हुन् । ग्यास उद्योगहरू वस्तीभन्दा टाढा स्थापना हुनुपर्ने मापदण्ड भए पनि कतिपय उद्योगहरू घनावस्तीको बीचमा नै स्थापना गरिएकाले जुनसुकै बेला पनि असुरक्षा हुने देखिएको हो ।
मुलुकमा हाल ५७ वटा ग्यास उद्योग सञ्चालनमा छन् । अधिकांश उद्योग वस्ती नजिक रहेकाले पनि असुरक्षित बन्दै गएका हुन् । उद्योग विभाग, आयल निगम र ग्यास उद्योगहरूको लापरबाहीका कारण धेरै वस्ती नै जोखिममा छन् ।
राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले ग्यास उद्योगले आवश्यक मापदण्ड पूरा नगर्दा दुर्घटना हुने गरेको बताए । “उद्योगले आवश्यक भौतिक पूर्वाधार तयार नगर्दा दुर्घटना भई जनधनको धेरै क्षति हुने गरेको छ,” उनले भने, “यस्ता दुर्घटना रोक्न उद्योगले सुरक्षा अपनाएर आवश्यक भौतिक पूर्वाधार तयार पार्नुपर्छ ।” उद्योग सञ्चालक र नेपाल आयल निगमका कर्मचारीको लापरवाहीका कारण उद्योगमा दुर्घटना हुने गरेको उनको भनाइ छ ।
मुलुकभर सञ्चालनमा रहेको ५७ वटा ग्यास उद्योगमध्ये एसटीसी ग्यास उद्योगले मात्र आवश्यक पूर्वाधार तयार पारेको छ । बस्तीभन्दा पाँच किलोमिटर टाढा स्थापना हुने उद्योगलाई प्राथमिकता दिइने व्यवस्था विनियमावलीमा भए पनि अन्य कुनै पनि उद्योगले मापदण्ड पूरा गरेका छैनन् ।
विनियमावलीमा स्पष्ट रूपमा ग्यास उद्योग स्थापनामा सुरक्षाका तवरले कुनै बाध्यात्मक व्यवस्था उल्लेख छैन । उद्योगीलाई सजिलो पर्ने गरी विनियमावली तयार गरिएकाले पनि यस्ता दुर्घटना हुने गरेको उपभोक्ताको भनाइ छ । एलपी ग्यास उद्योग संघले नेपालमा चल्ने अधिकांश ग्यास ट्यांकर पुराना भएकाले आगलागी भएको दाबी गरेको छ ।
संघका अध्यक्ष गोकुल भण्डारीले मुलुकमा चल्ने बुलेट २० वर्ष पुराना भएकाले पनि जोखिम बढ्दै गएको बताए । “नेपाली नम्बरका बुलेट नहुँदा भारतीय नम्बरका बुलेटमार्फत ग्यास ल्याउनुपरेको छ,” उनले भने, “धेरै वर्ष पुराना बुलेट हुँदा दुर्घटना हुने गरेको छ ।” नेपालमा ग्यास उद्योग खुलेको ४५ वर्ष भइसक्दा पनि ग्यास उद्योग नियमन गर्ने गरी कुनै ऐन, कानुन र नियम बनेको छैन ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले ग्यास उद्योग सञ्चालनको मापदण्ड बनाउन अति जरुरी देखिएको बताए । उद्योग स्थापना गर्दा आवश्यक पर्ने भौतिक पूर्वाधारसँगै सुरक्षामा विशेष ध्यान दिनुपर्ने उनको भनाई छ । उद्योग विभागले दर्ता गर्दा नै उद्योग कहाँ, कस्तो अवस्थामा स्थापना हुन्छ भन्ने हेर्नुपर्ने भन्दै उनले ग्यास अति प्रज्ज्वलनशील पदार्थ भएकाले उच्च जोखिम हुने भएकाले सुरक्षामा विशेष ध्यान दिइनुपर्ने बताए । संघका निर्वतमान अध्यक्ष शिवप्रसाद घिमिरेले भने ग्यास उद्योगले भौतिक पूर्वाधारसहित सुरक्षामा विशेष ध्यान दिएको दाबी गरे ।

छानबिन समिति गठन
संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वीरगन्ज महानगरपालिकाको सुपर ग्यास उद्योगमा भएको आगलागीको घटना छानबिन गर्न समित गठन गरेको जनाएको छ । संघले निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिका सदस्यमा कुशप्रसाद मल्ली, विजयहरी शर्मा, मनोजकुमार दास छन् । समितिले पाँच दिनभित्र प्रतिवेदन बुझाउनेछ ।

प्रतिक्रिया दिनुहोस्