छोरीको हत्या अभियोगमा जेल पुगेर छोरी नै जन्माइन् «

छोरीको हत्या अभियोगमा जेल पुगेर छोरी नै जन्माइन्

लिबाङ (रोल्पा): सात वर्षीया छोरीको हत्या अभियोगमा जिल्ला कारागार रोल्पाको बन्दीगृहमा रहेकी एक महिलाले आज छोरी जन्माएकी छिन् । 

खुमेल–५ रोल्पाकी २९ वर्षीया धना बुढाथोकीले बन्दीगृहमै आज बिहान छोरी जन्माएको प्रहरी सहायक निरीक्षक कुलबबहादुर रावतले जानकारी दिए । 

उनका अनुसार गत असोज २५ गते दशैँको टीकाको दिनमा आफ्नी सात वर्षीया छोरीलाई लाठीले हिर्काएर हत्या गरेको अभियोगमा उनी पूर्पक्षका लागि थुनामा छिन् । बन्दीगृहमै सुत्केरी भएकी बुढाथोकी र उनकी नवजात शिशुको अवस्था सामान्य रहेको छ । 

“हामीले सुत्केरीलाई १० मिटर कोरा कपडा, यौटा सादा साडी र सुत्केरी अवधिभरका लागि एक हजार, प्रत्येक दिन ७०० ग्राम चामल, ५० ग्राम ज्वानोलगायतका खाद्यान्न दिएका छौं’, कारागार कार्यालय रोल्पाका प्रमुख प्रदीपकुमार रेग्मीले भने, ”यसबाहेक जाडोका कपडाहरु तथा अन्य सामाग्रीहरु कसैले उपलब्ध गराए बच्चा र आमा दुवैलाई थप सहयोग मिल्ने थियो ।” 

सहायक प्रहरी निरीक्षक रावतका अनुसार उनको आर्थिक अवस्था निकै कमजोर छ भने शारीरिक अवस्था पनि निकै कमजोर देखिएको छ ।    

उनी जेल परेदेखि अहिलेसम्म घर परिवार उनलाई भेट्न आएका छैनन् । उनको घरमा पति गोपाल बुढाथोकी, तीन वर्षीय छोरासमेत रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्