Logo

पोखरा क्षेत्रमा २० प्रकारका सर्प


पोखराका सर्पविज्ञ आकाश भण्डारीले ४ हजार ५ सयवटा सर्पको उद्धार गरेका छन् । ३२ वर्षका भण्डारीले विगत १६ वर्षदेखि निःशुल्क रूपमा विषालुसहित ४ हजार ५ सय वटा विभिन्न जातिका सर्पको उद्धार गरेको उनको दाबी छ ।


गर्मी महिना र वर्षात्को समयमा उनको दिनचर्या भने सर्प उद्धार गर्ने हुने गरेको छ । उनका अनुसार पोखरा क्षेत्रमा विषालु सर्प गोमन, कालो करेत, राजगोमन, एक थोप्ले गोमनलगायतका विषालुसहितका करिब २० प्रकारका सर्प छन् । सर्प उद्धारको क्रममा कहिले काँही नयाँ जातको सर्पसमेत पोखरमा भेटिने गरेको उनले जनाए ।


गर्मी मौसम अनि पानी पर्ने मौसममा जमिनमुनि बसेका सर्प आफ्नो सुरक्षित स्थानको खोजिका लागि बाहिर निस्कँदा केही व्यक्तिको घर तथा भवनमा सर्प देखिएसँंगै सर्पको उद्धारमा भण्डारी हाल जुट्दै आएका छन् । निःशुल्क रुपमा उनले सर्प उद्धार गर्ने हुँदा उनलाई मोबाइलमा सम्पर्क गर्र्दै सर्प बसेका घर धनीबाट तारन्तार फोन आउने गरेको छ । उनले एकै दिनमा १० वटासम्म सर्पको उद्धार गरेको जनाए ।
पोखराको बाराही घाटस्थित एक चिया पसलबाट सोमबार पोखरा–६ निवासी सर्पविज्ञ भण्डारीले सर्पको सकुशल उद्धार गरेका हुन् । तीन दिनअघि उनले एकै दिनमा ८ वटा सर्पको उद्धार गरेका थिए ।


कम विषालु सर्प, पानी सर्प, धामन, कपरहेट, कमन ट्रिङकेट, पप स्ट्रिट किल व्याग, सिंगारो, उल्फ, क्याटलगायतका सर्प पोखरामा भेटिने गरेको उनले जनाए । आफूहरूले उद्धार गरेका सर्पहरू रानी वनदेखि विभिन्न सर्प बस्न मिल्ने उपयुक्त वातावरणमा अन्नपूर्ण संरक्षण आयोजना (ए–क्याप) को समन्वयमा छाड्दै आएको भण्डारीले बताए । पछिल्लो समयमा जथाभावी रूपमा घर तथा भवन बनायसँंगै घर तथा कोठामा अनावश्यक ढाँड र फोहोर भएको हँुदा मुसा, भ्याकुता आउँदा सर्प आउने जोखिम हुने उनको भनाइ छ । फोहरजन्य वस्तु घर तथा कोठाबाट टाढै राख्न उनले सुझाव दिएका छन् ।


उनका अनुसार नेपालमा हालसम्म ८६ प्रकारका सर्प भेटिएको छ जसमध्ये १८ प्रकारका विषालु सर्प हुन्छन् । उनले विभिन्न स्थानमा समातेर सम्बन्धित ठाउँमा छाडिएको सर्पको तथ्यांक भने स्न्याक कन्भरसेसन सोसाइटी नेपाल, वन विभागमा समेत तथ्यांक रहने उनले जनाए । उनी करिब डेढ वर्षदेखि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ए–क्याप) मा समेत आबद्ध भएका छन् । उनले सानैदेखि सर्प समाउने गर्दै जाँदा १६ वर्षको उमेरदेखि सर्पको उद्धारमा जुटेका हुन् ।

प्रतिक्रिया दिनुहोस्