सत्र वर्षको कुखुराको भाले, हेर्न आउनेको भीड
पर्वत– रैथाने अर्थात् लोकल कुखुराको आयु कति वर्षको हुन्छ ? ठ्याक्कै यति वर्ष बाँच्छ भन्ने कुखुराको आयुबारे यकिन तथ्यांक आधिकारीक रूपमा कहीँ भेटिँदैन । विभिन्न वेबसाइटमा कुखुरा बढीमा १२ वर्षसम्म बाँचेका तथ्य देख्न सकिन्छ । तर पर्वतमा भने १७ वर्षको एउटा भाले भेटिएको छ । पर्वतको कुश्मा नगरपालिका–५ वडागाउँका कोहिनुर दिन मियाले पालेको भाले १७ वर्ष पुगेर अठार वर्ष लागेको हो ।
उमेरले बुढो र छिप्पिएको भाले अन्य कुखुराझै सामान्य हिँडडुल गर्न सक्छ भने खानपानसमेत सामान्य छ । यसलाई शक्तिवद्र्धक दानाका साथै काजु, बदाम लगायतका चिज खुवाउने गरिएको कुखुरापालक कोहिनुर दिन मियाले बताए । भालेको तौल झण्डै चार केजी रहेको छ । भाले १७ वर्ष भएको प्रमाण के छ ? त भन्ने प्रश्नमा उनले यसको सबैभन्दा बलियो प्रमाण आफ्नो छोरी भएको बताए । विसं २०६५ साल पुस २७ गते जन्मेकी आफ्नी छोरी गौसिया बानुभन्दा भाले एक वर्ष बढी उमेरको रहेको उनले बताए ।
श्रीमती सुत्केरी भएका बेला मासु खुवाउनका लागि किनेर ल्याएको भाले अहिलेसम्म पनि ज्यूँदै रहेको हो । भालेको माया लागेर काट्न नमानेको र सोही समयदेखि अहिलेसम्म निरन्तर पाल्दै आएको कोहिनुरकी श्रीमती रफिना निसाले बताइन् । छोरी अहिले १६ वर्ष पुगेकी छन् । उनकी छोरी गौसियाले भालेलाई दाइ भन्दै बोलाउने र खानेकुरा खुवाउने गर्छिन् ।
अब यो भाले आफ्नो बाँच्ने उमेरसम्म पालिराख्ने उनीहरूले बताएका छन् । घरमा परिवारको सदस्य पालेझै गरी पालेकाले यसलाई पूरै आयुसम्म बाँच्न दिने र मरेपछि सतगत् गर्ने उनीहरूको योजना छ । भालेलाई अन्य कुखुरासँगै एउटै खोरमा राखेर पाल्ने गरिएको कोहिनुरले बताए । कुखुराको भाले १७ वर्ष लामो समयसम्म बाँचेको र पालेको भन्ने खबर पाएपछि अहिले भाले हेर्ने, टिकटक बनाउने र फोटो खिच्ने दैनिकजसो घरमा आउने गरेको कोहिनरको भनाइ छ ।
छोराजस्तै गरी पालेका छौँ, बुढो उमेरको भएकाले अन्य कुखुरालाई भन्दा यसलाई विशेष प्रकारको दाना खुवाउने, समय समयमा औषधीसमेत खुवाउने गरिएको उनले बताए । स्थानीय थमनारायण पौडेलले आजभन्दा पाँच वर्ष अघि आठ हजारमा भाले किन्न खोज्दा पनि परिवारले नदिएको बताए । यति धेरै उमेरको कुखुरा अहिलेसम्म नदेखेको र यो सत्र वर्षभन्दा बढी उमेर बाँचेको प्रमाण कुखुराको शारीरिक बनावट, खुट्टाको आकार लगायतले प्रमाणित गर्ने बताए ।
‘मासु खानका लागि भालेलाई धेरैले किन्न खोजेको भए पनि बेचिन,’ रुफिना निशाले भनिन्, ‘जहिलेसम्म बाँच्छ, दाना खुवाएर पालिरहन्छाैं ।’ कक्षा ११ मा अध्ययन गर्ने आफ्नी छोरी गौशियाको साथीसमेत सोही भाले रहेको उनको भनाइ छ । परिवारकै सदस्यजस्तै गरी पालेकाले भाले बास्दासमेत घर रमाइलो हुने गरेको रुफिनाले बताइन् ।
इलेक्ट्रोनिक व्यवसाय सञ्चालन गर्ने उनीहरूले दुई वटा काठको खोरमा दुई दर्जनभन्दा बढी कुखुरा पालेका छन् । कुखुराको आयु लामो वा छोटो हुनुमा वातावरण, रहनसहन, खानपिन, रोगव्याधि, अनुवांशिक गुणलगायतले प्रभाव पार्ने पशु चिकित्सक विष्णुबहादुर पाण्डेले बताए । समय समयमा भाले बिरामी हुँदा आफूले उपचार गर्दै आएको उनको भनाइ छ । यति धेरै वर्षसम्म भाले बाँच्नु आश्चर्य भएको उनको भनाइ छ ।
अध्ययनअनुसार अष्टे्रलियामा ‘मटिल्डा’ नाम गरेको एउटा कुखुरा १६ वर्षसम्म बाँचेको थियो । सन् १९९० मा कोरलिएको चल्लो ११ फेब्रअुरी २००६ सम्म बाँचेको थियो । संसारमा सबैभन्दा बढी समय बाँच्ने कुखुराको रूपमा मल्टिडाको आयु गिनिज बुक अफ वल्र्ड रेकर्डमा उल्लेख छ ।