बाँदरका लागि जंगलमा फलफूल खेती «

बाँदरका लागि जंगलमा फलफूल खेती


गोरखाका सामुदायिक वनमा बाँदरका लागि फलफूल खेती सुरू गरिएको छ । डिभिजन वन कार्यालय गोरखाले फ्रुट फरेस्टी मोडल कार्यक्रमअन्र्तगत जिल्लाका ४ वटा सामुदायिक वनमा बाँदरका लागि फलफूल खेती सुरू गरेको हो ।

जंगलमा आहारा मासिँदै गएपछि बाँदरले बस्तीमा छिरेर बाली नष्ट गर्न थालेकाले जंगलमा फलफूल खेती थालिएको डिभिजन वन कार्यालयका प्रमुख अशोककुमार श्रेष्ठले बताए ।
“सामुदायिक वन उपभोक्ता समूहसँग लागत साझेदारीमा कार्यक्रम भएको हो” उनले भने, “डिभिजन वन कार्यालयको ८० प्रतिशत र सामुदायिक वनको २० प्रतिशतलागत साझेदारीमा जंगलमा फलफूल खेती गरिएको हो ।” कार्यक्रमअन्र्तगत जिल्लाको धार्चे गाउँपालिका ५ गुम्दाको गुमगाङ सामुदायिक वनमा २ हेक्टर र पालुङटार नगरपालिका ९ को दरौंदीडाडा सामुदायिक वनमा २ हेक्टरमा फलफूलका बिरुवा रोपिएको सहायक वन अधिकृत महेश पौडेलले जानकारी दिए ।


बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानीको ठामपाखा सामुदायिक वनमा १ हेक्टर र गोरखा नगरपालिका १० को टक्सारटारी सामुदायिक वनमा १ हेक्टर क्षेत्रफलमा बिरुवा रोप्न बाँकी रहेको उनको भनाइ छ । यस कार्यक्रमअन्र्तगत ९ हजार ६ सय बिरुवा रोपिने भएको छ ।
डिभिजन वन कार्यालयले बाँदर आतंक रोक्नका लागि जामुन, चिउरी, लप्सी, लमला, हर्रो, बर्रो, अम्बा, अमलालगायतका बिरुवा सामुदायिक वनलाई उपलब्ध गराएको सहायक वन अधिकृत पौडेलले जानकारी दिए। “यी बिरुवाले ३ देखि ४ वर्षमा उत्पादन दिन्छ” उनले भने, “त्यसपछि बाँदरले जंगलमै आहारा पाउँछ । जंगलमा आहारा पाएपछि बाँदर बस्तीमा छिर्दैन, त्यसपछि बालीनाली पनि जोगिन्छ भन्ने विश्वास छ ।”


कार्यालयले जंगलमा फलफूल खेतीका लागि सामुदायिक वनसँग प्रस्ताव आह्वान गरेको थियो । बस्तीमा बाँदरले धेरै दुःख दिएका ठाउँ नजिकका सामुदायिक वनलाई प्राथमिकता दिएर छनौट गरीएको पौडेलले जानकारी दिए । यस कार्यक्रमका लागि प्रदेश सरकारबाट १० लाख ७८ हजार रुपैयाँ बजेट प्राप्त भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
यस्तै, डिभिजन वन कार्यालयले फलफूल खेतीका लागि निःशुल्क बिरुवा वितरण थालेको छ । गोरखा नगरपालिको तीन किलोस्थित नर्सरीबाट बिरुवा वितरण थालिएको हो । गण्डकी प्रदेश र संघीय सरकारको संयुक्त कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट ४ हजार र संघबाट १५ हजार गरी १९ हजार बिरुवा वितरण गरिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्