थापाले सम्हाले सैनिक कमान्ड

प्रधानसेनापति राजेन्द्र क्षेत्री नियमित अवकासअघि १ महिना लामो घरबिदामा बस्ने भएपछि बिहीबार (आज)बाट वरिष्ठतम रथी पूर्णचन्द्र थापाले नेपाली सेनाको कमान्ड सम्हाल्ने भएका छन् । करिब ९७ हजार फौज रहेको सेनाको कमान्ड बिहीबारबाट ३ वर्षका लागि थापाको नेतृत्वमा सरेको हो ।
गतवर्ष नै रथीबाट अवकास पाउँन लागेका थापाको सरकारले १ वर्षे कार्यकाल थपेका कारण उनको प्रधानसेनापति बन्ने बाटो खुलेको थियो । म्याद थप नभएको अवस्थामा उनी गतवर्ष रथीबाटै अवकास पाउने थिए ।
२०३७ मंसिर २७ गते सहायक सेनानीबाट सैनिक सेवा प्रवेश गरेका ५८ वर्षीय थापा भदौसम्म कायममुकायम र त्यसपछि प्रधानसेनापतिका रुपमा कमान्ड सम्हाल्न लागेका हुन् । सैनिक ऐन २०६३ अनुसार मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रधानसेनापति नियुक्त गर्ने व्यवस्था छ । राष्ट्रपति सेनाको परमाधिपति रहने संवैधानिक व्यवस्था समेत रहेको छ ।
हाल वलाधिकृत रथी रहेका थापाले यसअघि पृतना, बाहिनी, गण÷गुल्म तथा सशस्त्र द्वन्द्वका बेला जंगी अड्डा र पृतना मातहत रहेर फौजी कारबाहीमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उपत्यका पृतनापति, २ नम्बर बाहिनीपति, सैनिक सचिव, सैनिक कल्याणकारी योजना निर्देशक, सम्भाररथी विभाग लगायत ठाउँमा नेतृत्व गरिसकेका थापालाई सेनाको व्यवसायिक छवी उकास्ने चुनौती पनि छ ।
सेनामा सरुवा–बढुवा, वृत्तिविकास लगायतमा पहुँच र प्रभाव तथा सरकारको दबाबका कारण व्यावसायिक छवीमा प्रश्न उठेको बताइरहँदा उनको सैनिक नेतृत्व कार्यकाल भने त्यति सहज छैन ।
सेनापति हुनु अघिसम्म इमान्दार र व्यवसायिक छवि कायम गर्न सफल रहेका भनिएका क्षेत्री अवकास अघिका थुप्रै निर्णयमा विवादमा तानिएका छन् ।
त्यो विवाद र आन्तरिक असन्तुष्टिलाई समेत सम्बोधन गर्नुपर्ने चुनौती थापाको काँधमा सरेको छ । विसं २०१७ भदौ २५ गते लमजुङमा साविक गाउँशहर–८ मा जन्मेका थापाको सैनिक छवी व्यवसायिक र इमान्दार अधिकृतको रुपमा चिनिन्छ ।
त्यसो त थापाको पारिवारिक पृष्ठभूमि पनि सुरक्षा निकायसँगै जोडिएको छ । बुबा फणेन्द्रबहादुर थापा प्रमुख सेनानीबाटै अवकासप्राप्त अधिकृत हुन् भने उनका दाजु रोहित थापा सशस्त्र प्रहरीको एआइजीबाट अवकासप्राप्त अधिकारी हुन् । संयुक्त राष्ट्रसंघका लागि २०७१ माघ २५ देखि २०७२ माघ २४ सम्म इजरायल तथा सिरिया सीमानास्थित गोलान हाइटमा रहेको अनडुफ मिसन प्रमुख तथा फोर्स कमान्डरको जिम्मेवारी सम्हालिसकेका थापा २०७८ भदौ सम्म सेनापतिका रुपमा रहने छन् ।