साल्टट्रेडिङले बजार मूल्यमै जस्तापाता बेच्ने

साल्ट्रटेडिङ कर्पाेरेसनले भूकम्पका बेला ल्याएको जस्तापाता अन्ततः बजार मूल्यमै बिक्री गर्ने तयारी गरेको छ । दुई वर्षसम्म भूकम्पपीडितलाई वितरण गर्न नसकी गोदाममै थन्क्याइएका जस्तापाता घाटा सहेरै भए पनि बजार मूल्यमा बिक्री गर्न लागिएको हो । कम्पनीले सार्वजनिक सूचना निकालेरै केही दिनमा जस्तापाता बिक्री गरिने जानारी दिएको छ । कर्पाेरेसनका विभागीय प्रमुख पंकज जोशीले बजार मूल्यमै जस्तापाता बिक्री गर्न लागिएको जानकारी दिए । “बजार मूल्य के छ भनेर यसका लागि केही दिनमै सूचना निकाल्दै छौं, खरिदकर्ताले कति मूल्यमा कति गर्न आउँछौ, सोहीअनुसार बिक्री मूल्य निर्धारण गरिने छ,” उनले भने ।
कर्पाेरेसनले भूकम्प गएलगत्तै सरकारको निर्देशनमा ५० हजार थान जस्तापाता खरिद गरेको थियो । सार्वजनिक भवन, स्कुल, स्वास्थ्यचौकी निर्माणका लागि भनेर मन्त्रिपरिषद्ले कर्पाेरेसनलाई जस्तापाता खरिद गर्न निर्देशन दिएको थियो । तर, सरकारी निकायले प्रयोग नगरेपछि लामो समयदेखि ति जस्तापाता गोदाममै थन्किएका थिए । कर्पाेरेसनले खरिद गरेका जस्तापाता उच्च गुणस्तरका भएकाले पनि बजारमा बिक्री हुन सकेको थिएन । अहिले आएर आपूर्ति मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगेर कर्पाेरेसनलाई जस्तापाता बिक्री गर्न स्वीकृत गराएको थियो । सोहीअनुसार कर्पाेरेसनले बजार मूल्यमै बिक्री प्रक्रिया अगाडि बढाउन लागेको हो ।
कर्पाेरेसनले महँगो मूल्यमा खरिद गरेको जस्तापाता सस्तोमा बिक्री गर्नुपर्ने छ । खरिद र बिक्री मूल्यमा पर्नजाने नोक्सान रकम सरकारले बेहोर्न अर्थमन्त्रालय सहमत भएको आपूर्ति मन्त्रालयका प्रवक्ता मुकुन्दप्रसाद पौडेलले जानकारी दिए । “जस्तापाता बिक्री गर्नका लागि कर्पाेरसनलाई निर्देशन दिइसकेका छौं, महँगो मूल्यमा खरिद गरिएका जस्तापाता बजार मूल्यमा बिक्री गर्दा हुने घाटा रकम बेहोर्न अर्थ मन्त्रालयमा पत्राचार गरेका छौं,” उनले भने ।
कर्पाेरेसनले भूकम्प गएलगत्तै ३० करोड रुपैयाँमा उच्च गुणस्तरको ५० हजार जस्तापाता खरिद गरेको थियो । लामो समयसम्म बिक्री नभएपछि खरिद गरेको रकमको ब्याज नै ७ करोड रुपैयाँ पुगेको कर्पाेरेसनले जानकारी दिएको छ । ब्याज र बिक्रीमा पर्ने फरक रकम सरकारले बेहोर्नुपर्ने विभागीय प्रमुख जोशीको भनाइ छ । स्वदेशी उद्योगबाट उत्पादित जस्ता पाताभन्दा केही महँगो मूल्य भएका कारण कर्पोरेसनले आयात गरेका जस्तापाता बिक्री हुन नसकेको हो ।
भूकम्पबाट भत्केका सरकारी विद्यालय, स्वास्थ्य चौकी र सार्वजनिक भवन निर्माण गर्न आवश्यक पर्ने जस्तापाता आयात गर्ने जिम्मा कर्पोरेसनलाई दिएको थियो । कर्पोरेसनले टेन्डर आह्वान गरी भारतको जिंदल भन्ने कारखानाबाट ३५ मिलिमिटरदेखि ५० मिलिमिटरसम्मका १ सय ५० देखि दुई सय ५० जिंक कोटेड जस्तापाता खरिद गरेको थियो । भूकम्पपछि २०७२ जेठ २२ गते बसेको मन्त्रिपरिषद्को वैठकले विद्यालय, स्वास्थ्य चौकी र सार्वजनिक भवनमा प्रयोग हुने जस्तापाता कर्पोरेसनबाट आपूर्ति गराउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार कर्पोरेसनले २०७२ साउन ६ गते उक्त जस्तापाता भारतबाट आयात गरेको थियो ।
तत्कालीन समयमा स्वदेशी उद्योगबाट पर्याप्त परिमाणमा जस्तापाता उत्पादन नभएपछि सरकारले कर्पोरेसनसहित निजी क्षेत्रका आयातकर्तालाई ३० प्रतिशतको भन्सार शुल्कलाई १५ प्रतिशतमा झारेर आयात सुविधा प्रदान गरेको थियो ।
कर्पाेरेसनले खरिद गरेका जस्तापाता ६ देखि १२ फिट लम्बाई र ०.३५ देखि ५० मिलिमिटरसम्म मोटाइ रहेको छ । त्यस्तै जिंक २ सय ५० ग्राम रहेका छन् । अहिले अन्तराष्ट्रिय बजारमा स्टीलको मूल्य घटेकाले जस्तापाताको मूल्य पनि घट्ने देखिएको छ । खरिद गरेकामा १० देखि १२ प्रतिशतसम्म मूल्य कम हुन सक्ने कर्पाेरेसनले अनुमान गरेको गरेको छ । भूकम्पको बेला खरिद गरिएका जस्तापाता बिक्री नभएपछि कर्पाेरेसनको वीरगन्ज र कालीमाटीस्थित गोदाममा थन्किएका छन् । उच्च गुणस्तरको भएपनि लामो समयसम्म बिक्री नहुँदा खिया लाग्ने हुन सक्छ ।