नयाँ वर्षमा ढोरपाटन महोत्वस

नयाँवर्ष ०७५ को अवसरमा जिल्लाको पश्चिम बुर्तिबाङमा ढोरपाटन महोत्सवको आयोजना गरिने भएको छ । स्थानीय कला–संस्कृतिको संरक्षण, पर्यटन, कृषि तथा व्यापारको प्रवद्र्धनका लागि भन्दै महोत्वसको आयोजना गरिने भएको हो ।
जिल्लाको दुर्गम मानिने पश्चिम क्षेत्रको पहिचान झल्कने गरी त्यस क्षेत्रका ४ वटै स्थानीय तहको संयोजन तथा उद्योग वाणिज्य संघ एकाइ बुर्तिबाङको आयोजनामा बुर्तिबाङ महोत्सव गरिने एकाइ अध्यक्ष चिन्तामणि शर्माले बताए । महोत्सव आगामी वैशाख १ गतेदेखि एक सातासम्म सञ्चालन गरिने अध्यक्ष शर्माले बताए । महोत्सवको पश्चिम बागलुङका चार स्थानीय तह तमानखोला गाउँपालिका, बडीगाड गाउँपालिका, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका प्रमुख आयायोजक रहने ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताए । “नमुना महोत्सवको रूपमा सम्पन्न गर्न चारवटै स्थानीय तह लागि परेका छौ ।” प्रमुख नेपालीले भने, “महात्वसलाई रमाइलोका रूपमा मत्र प्रयोग नगरेर आर्थिक समृद्धिसँग जोडिनेछ ।”
कला, संस्कृतिको संरक्षणसँगै पर्यटन विकासका लागि महोत्सव सञ्चालन गर्न लागिएको बताइएको छ । आगामी वैशाख १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा ६१ लाख रुपैयाँ आम्दानी गर्ने र सोही रकमबराबरको खर्च हुने अनुमान आयोजकको छ । एक सातासम्म चल्ने महोत्सवमा ५ लाखभन्दा बढी स्थानीय तथा बाह्य पर्यटकहरूले अवलोकन गर्ने अनुमान गरिएको छ । ७० देखि एक सयको हाराहारीमा स्टल राखिने आयोजकले जनाएको छ । यस्तै कृषि प्रदर्शनी, विभिन्न स्थानीय खानाका परिकारहरू, स्थानीय स्रोत, साधनबाट निर्मित सामग्रीहरू राखिनेछ । महोत्सव अवधिभर प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता, भलिबल, प्रतियोगिता, राष्ट्रिय तेक्वादो, पञ्चेबाजा, छेलो, रस्साकस्सी, कविता प्रतियोगिता लगायतका विविध कार्यक्रमहरू छन् ।
नयाँ वर्षलाई ध्यानमा राख्दै पश्चिम बागलुङको प्रमुख पर्यटकीय स्थल ढोरपाटनसहित चारवटै स्थानीय तहमा रहेका पर्यटकीय क्षेत्रको विकास, प्रवद्र्धन तथा प्रचार–प्रसारका महोत्सवको मूल रहेको संघका महासचिव रामनारायण सुवेदीले बताए । “मुलुकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र ढोरपाटन क्षेत्रमा भएर पनि तिनको प्रचार–प्रसार हुन सकेको छैन,” महासचिव सुवेदीले भने, “मेलाले यहाँका ऐतिहासिक धार्मिक तथा सांस्कृतिक धरोहरका साथै यहाँको कला संस्कृति र स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने छ ।” पर्यटकीय सम्भावना रहेको ढोरपाटन शिकार आरक्ष पूर्वाधार अभावमा तथा अन्य पर्यटकीय क्षेत्रहरू प्रचार अभावमा ओझेलमा परेको उनले बताए । महोत्सव अवलोकनका लागि २ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्रिने तथा ५ करोडबराबरको आर्थिक कारोबार हुने सुवेदीले कारोबारलाई बताए ।
आयोजक चारवटै स्थानीय तहको अपनत्व र सहभागितामा महोत्सव आयोजना हुने ढोरपाटन नगरपालिकाका प्रमुख नेपालीले बताए । चार स्थानीय तहसँगै गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई समेत समेटेर अगाडि बढ्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ । महोत्सवले पश्चिम बागलुङका ४ वटा स्थानीय तहलाई थप एकताबद्ध भएर काम गर्ने बाटो खुल्ने तमानखो गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए । “हामी जिल्लाको दुर्गमका बासिन्द भनेर चिनिन्छौ, यो परिचय फेर्न अभियानको रूपमा पनि महोत्वलाई लिएका छौं ।” अध्यक्ष बुढाले भने, “महोत्सव छाडी पनि हामी चारवटै स्थानीय तह मिलेर यहाँको विकास निर्माणमा साझेदारी गरेर अगाडि बढ्ने छौं ।
–त्रिलोचन रिजाल