आर्थिक समृद्धिका लागि वनमा लगानी बढाउन आवश्यक

वन क्षेत्रबाट वित्तीय सुधार गर्नका लागि वनमा लगानी बढाउन जरुरी रहेको सरोकारवालाहरुले बताएका छन् । निजी क्षेत्र उत्साहित नभएको बन्दै लगानीमैत्री वातावरण सिर्जना गरेर वन क्षेत्रमा लगानी बढाउनुपर्ने उनीहरुको सुझाव छ ।
कोरोना भाइरसको महामारीका कारण आगामी दिनमा उद्योगमा निजी लगानी घट्ने सम्भावना भइरहेका बेलामा वनजन्य उद्योग तथा वन क्षेत्रमा निजी लगानी आकर्षण गर्न सरकारलाई चुनौती छ ।
कोरोना महामारीका कारण लाखौंको रोजगारी गुम्ने खतरा बढिरहेको बेलामा वनलाई आर्थिक समृद्धि तथा रोजगारीको माध्यम बनाईनुपर्ने वन क्षेत्रका सरोकारवालाहरुले आवाज उठाउँदै आएका छन् ।
नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अनुसार हालसम्म ५ हजारभन्दा बढी वन उद्योगमा निजी क्षेत्रको करिब ८६ अर्ब रुपैयाँ लगानी रहेको छ । महासंघले पटक–पटक सरकारलाई वन उद्यम प्रवद्र्धनमा निजी लगानी आवश्यक रहेको बताउँदै आएको छ । तर, सरकारले लगानीको सुरक्षित वातावरण तय गर्न नसकेको गुनासो महासंघको छ ।
अन्य क्षेत्रमा निजी लगानी बढ्ने क्रम रहेपनि वन क्षेत्रमा भने निजी लगानी कम रहेको भन्दै सरकारले निजी क्षेत्रलाई आकर्षित गर्न कसरत गरेको छ । वन क्षेत्रमा छिटो प्रतिफल नआउने, निजी वनका रुख काट्दा पनि झन्झटिलो कानुनी प्रावधान अपनाउनुपर्दा वन क्षेत्रमा लगानी गर्न निजी क्षेत्र आकर्षित नदेखिएको हो । तर, सरकारले वनजन्य उद्यममा निजी लगानी बढाउने नीति सार्वजनिक गरिसकेको छ ।
अर्थ मन्त्री डा. युवराज खतिवडाले बजेट वक्तव्यमा वैज्ञानिक वन व्यवस्थापन, वृक्षारोपण, जडिबुटी खेती बिस्तार, वनजन्य उद्यागबाट रोजगारी वृद्धि लगायतका कार्यक्रमलाई प्राथमिकता दिने र वन स्रोतलाई व्यवस्थापन गर्ने बताएका थिए । सबै प्रदेशमा १ जडिबुटी प्रशोधन केन्द्र स्थापना गरिने, जैविक विविधता तथा वन्यजन्तुको बासस्थानको संरक्षण गर्ने, वनस्पति उद्यमहरुको निर्माण गर्ने, पुराना उद्यमहरुको स्तरोन्नती गरिने बजेट वक्तव्यमा उल्लेख छ ।
वन तथा वातावरण मन्त्रालयका प्रवक्ता डा. सिन्धुप्रसाद ढुंगानाले वनबाट अर्थतन्त्रको सुधार गर्न लगानी बढाउने नीति लिने बताए ।
सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले पनि वनजन्य उद्यममा लगानी बढाउन सरकारले अब नीतिगत अवस्थामा सुधार ल्याउनुपर्ने बताइन् ।
नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अध्यक्ष श्यामसुन्दर ढकालले सरकारले मौखिक रुपमा मात्रै निजी क्षेत्रको लगानी बढाउने प्रतिवद्धता जनाए पनि व्यवहारमा ल्याउन नचाहेको आरोप लगाए । “अहिले हेर्ने हो भने, देशभरको सालको काठ संकलन गर्न रोक लगाइएको छ, कच्चा पदार्थको अभावमा हाम्रा अर्बौ लगानीका उद्योगहरु धरासायी अवस्थामा पुगिरहेका छन्,” उनले भने, “सरकारको यस्तो नीतिले कसरी निजी क्षेत्र लगानीका लागि आकर्षित होला ?”