अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन चैत १० मा

काठमाडौंस्थित भारतीय दूतावासले ‘इन्टरनेसनल इन्टरपेनुअरसीप कन्क्लेभ’ २०१८ आयोजना गर्ने भएको छ । दुई देशका युवा उद्यमीलाई लक्षित गरी उद्यमशीलता सम्मेलन गरिएकाले आपसी छलफल, नयाँ–नयाँ अवधारण विकास तथा विस्तार तथा अवशर खोजी गर्ने साझा मञ्च हुने आयोजकले जनाएको छ । अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन दूतावासले क्लक वि बिजनेस इन्नोभेसनसँगको सहकार्यमा गर्ने भएको हो ।
दूतावासले बुधबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा दूतावासका प्रथम सचिव रुबि जोशीले उद्यमशीलता सम्मेलनमा सहभागिताका लागि आवेदन खुला रहेको बताइन् । नेपाल तथा भारतका ३ सयभन्दा धेरै युवा उद्यमीको सहभागिता रहने सम्मेलनलाई भारतको मुख्य ऊर्जा उत्पादक सतलज जलविद्युत् निगम (एसजेभीएन), हवाई सेवा प्रदायक जेट एयरवेज र नेपाल एसबीआई बैंकले प्रायोजन गर्ने भएको छ । सम्मेलनमा सहभागी हुने युवा उद्यमीले अगाडिको प्रक्रियाका लागि चैत २ गतेभित्रै निवेदनसाथ बिजनेस आइडिया बुझाइसक्नुपर्ने आयोजकले बताएका छन् । सम्मेलन चैत १० मा हुनेछ ।
पत्रकार सम्मेलनमा सतलज जलविद्युत् निगमका मुख्य कार्यकारी अधिकृत एसके शर्माले सरकारलाई दीर्घकालीन फाइदा दिने ऊर्जा क्षेत्रमा युवा उद्यमीलाई आकर्षिक गर्न सके चाँडै ठूलो फाइदा लिन सकिने बताए ।