Logo

बिजुलीको भाषा र आगोको हुंकार

गत साता पंक्तिकारको नियमित शुक्रबारे विचार स्तम्भमा प्रकाशित ‘एउटै हृतपिण्डका दुई असम हिस्सा’ शीर्षकको लेख पाठकहरूसमक्ष पुग्न नपाउँदै भारतीय पक्षबाट एउटा सनसनीपूर्ण समाचार प्रकाशनमा आउँछ । समाचारअनुसार भारतीय सरकारले चीन सरकारसँग मिलोमतो गरी हाम्रो चुच्चे नक्सामा रहेको लिपुलेक हुँदै दुवै देशले आफ्नो व्यापार–व्यवसायको कार्यलाई सुगम र सुचारु पार्ने निर्णय संकेत गर्छ । हामी चाहन्छौँ, दुवै मित्रराष्ट्रको वाणिज्य व्यापार फस्टाओस् तर हाम्रो भू–भागमा अनधिकृत कब्जा जमाएर होइन ।

दुवै देशमध्ये कुनै पनि देशले त्यस्तो निर्णय लिँदा के नेपालसँग वार्ता गरेर त्यसबारे समझदारी स्थापित गरिसक्नुपर्ने थिएन र ? स्व. राजा महेन्द्रले मित्रराष्ट्र भारतको हितलाई ध्यानमा राखी केही समयका लागि त्यस क्षेत्रमा पर्ने कालापानीमा भारतीय सेनालाई तैनाथ राख्न स्वीकृति दिएको कुरा सत्य हो । तर, नेपाललाई नसोधीकन अथवा नेपाल सरकारको औपचारिक अनुमति नलिईकन उपर्युक्त हाम्रा दुवै मित्रराष्ट्र भारत र चीनले परस्परमा त्यस्तो गैरजिम्मेवारीपूर्ण कदम चाल्नुले के बताउँछ ? यो एउटा सार्वभौमसत्तासम्पन्न राष्ट्रको अस्मिताउपर खेलबाड गरेजस्तो वा जिस्क्याएको जस्तो ठहरिँदैन र ?

नेपाल, भारत र चीनको जोडिएको सीमा क्षेत्रबारे उपलब्ध दस्ताबेजका अतिरिक्त पुराना नक्सा र भारतीय समाचार च्यानलहरूले प्रसारण गरेका खोजपूर्ण विवरणले प्रस्ट पार्दै अतिक्रमित हुन लागेको भूभाग सर्वथा नेपालको सिमानाभित्र पर्ने कुरालाई समर्थन गरेको अवस्थामा पारस्परिक सुमधुर सम्बन्ध र मित्रताको ऐतिहासिक गाँठो खुकुलो पार्ने दुस्साहसपूर्ण द्विपक्षीय निर्णयले प्रत्येक नेपालीलाई अनायास चकित तुल्याएको छ । नेपालको सीमा र नेपाली भूमि जुनसुकै कारणका लागि भए पनि मित्रराष्ट्रद्वारा प्रयोगमा ल्याएको विषयसँग सम्बन्धित यस्तै कृत्यलाई विगत दस वर्षमा भारत सरकारलाई नेपालले आठ पटकसम्म कूटनीतिक नोट पठाएको र हालसम्म ती सबै नोट अनुत्तरित नै रहेको बुझिन्छ । चीन सरकारलाई पनि तीन पटकसम्म नेपाल सरकारले कूटनीतिक नोट पठाएर हाम्रो सिमानामा दक्खल नगरिदिन हुन अनुरोध गरिएको अभिलेख छ । चीन सरकारले भने एकपटक मात्र जवाफ दिएको बुझिन्छ ।

पुराना कागजातहरू हेर्दा हाम्रा दुवै शक्तिशाली छिमेकीहरूले वि.सं. २०७२ जेठदेखि नै लिपुलेकलाई आफ्नो व्यापारिक मार्ग बनाउन आपसी सम्झौता गरेकोमा नेपालले त्यति बेलादेखि नै सम्बन्धित सरकारहरूसमक्ष आपत्ति जनाउँदै आइरहेको पाइन्छ । २०७६ मा नेपालले जारी गरेको आफ्नो चुच्चे नक्सामा भएको सम्पूर्ण भू–भाग आफ्नै रहेको दाबी गरेपछि नेपालले आफ्नो दोस्रो कूटनीतिक नोट भारतलाई पठाएको, सोही वर्ष उपर्युक्त सत्यतथ्यको पुष्टि गर्दै अर्को नोट पठाइएको र चौथो नोट वैशाख २०७७ मा भारतले नेपाली जमिन हुँदै मानसरोवर जाने बाटो बनाई उद्घाटनसमेत गरेकोमा पाँचौँ नोट नेपालले आफ्नो राजनीतिक नक्सामा लिम्पियाधुरासम्मको भू–भाग नेपालकै रहेको जानकारी पठाइएको र छैटौँ नोट भरतीय सेनाले महाकालीको तुइनको लठ्ठा काट्दा एक जना तुइन तर्दै गरेको नेपाली नागरिकले नदीमा खसेर ज्यान गुमाएको, तत्पश्चात् भारतीय सेनाको हेलिकप्टरले त्यस क्षेत्रमा गस्ती गरेको विरोधमा पठाइएको, सातौँचाहिँ भारतले महाकालीमा सडक विस्तारको कामप्रति आपत्ति जनाउँदै लेखिएको र आठौँ नोट लिपुलेक नाका हुँदै भारत र चीनले व्यापार गर्ने सहमतिका विरुद्ध आफ्नो असहमति उल्लेख गर्दै गत ५ भदौमा पठाइएको कूटनीतिक नोट ।

त्यसैगरी २०७२, २०७७ र २०८२ मा चीन सरकारलाई लिपुलेकमा भारत–चीन व्यापार मार्ग खोल्ने सम्झौता, मानसरोवर जान नेपाली भूमि प्रयोग गर्दै सडक बनाइएको र लिपुलेकको व्यापार मार्ग खोल्न ती दुई देशको सहमतिप्रति असन्तुष्टि व्यक्त गर्दै नोट पठाइएको उल्लेख्य छ । स्मरणीय छ, पञ्चशीलताको भजन भट्ट्याउने भारत सरकारले ती कुनै पनि नोटको उत्तर पठाउन आवश्यक ठानेन । नेपालका सशक्त राजनीतिज्ञ मानिने प्रधानमन्त्रीको अहिले चौथो कार्यकाल चलिरहेको छ । यस दौरानमा उनले गरेका कैयौँ काम उत्कृष्ट नै भएको मानिन्छ भने कैयौँ काम अधुरो, अपुरो र जनताले कुनै श्रेय दिने लायकका भने भएनन् भन्ने विश्लेषकहरूबाट सुनिने गर्छ । बृहत् दृष्टिकोणले हेर्दा देशमा राजनीतिक चहलपहललाई तरंगित पार्न निपुण हाम्रा प्रधानमन्त्रीलाई नेपालको राजनीतिको ब्रह्माका रूपमा पनि हेरिने गरिएको कुरा अधिकांश राजनीतिकर्मीले स्विकारेका छन् ।

सुशासनको कमी र गठबन्धनको टाठो (गाँठो) नमिल्दा उहाँले धेरै चोटि राजनीतिक झट्का पनि झेल्नुपरेको जगजाहेरै छ । गान्धीलाई बिर्सेर पटेल बन्न खोज्नु, पृथ्वीनारायणले निर्माण गरेको देशमा माओ र लेनिनको देवत्वकरण गरिनु, गान्धीका पौडेललाई लेनिनको तस्बिरमुनिको मेचमा बसाल्नु आदि–इत्यादि नाटकका दृश्यहरूले नेतृत्व स्वयंको गरिमालाई संकुचित पारेको छ भन्न नमिल्ला र ? मानव सेवामा समर्पित भई ख्याति आर्जन गरेकी रास्वपाकी, जो अहिले संसद्मा उप–सभामुख रहेकी छन्, उनै इन्दिरा रानालाई सरकारले महाअभियोग लगाउने प्रयासमा निरर्थक समय खर्चिन्छ ।

विभिन्न समाचारमाध्यमले पटक–पटक झन्डै सम्पूर्ण मन्त्रिपरिषद् ट्र्याकबाट विचलित हुन लागेको भनिरहँदा त्यसको सत्यता बुझ्ने र जाँच्ने समय निकाल्न नसक्ने सरकारले त्यतिबेला माओ र लेनिनका तस्बिरलाई भित्तामा टाँगेर गान्धीको पूजनमा तत्पर भएको नेपाली जनता हेर्न चाहँदैनन् भन्ने बुझ त केको बाध्यताले पचाएका हुन् कुन्नी ? जनताको हृतपिण्डमा छाप पर्ने गरी ऐतिहासिक उद्घोष गर्ने नेताले लुरुक्क समकक्षी मित्रको इसारा पालना गर्नैपर्ने ? अहिले आएर फेरि लिपुलेक, लिम्पियाधुरा र कालापानीको सन्दर्भमा उहाँ भन्नुहुन्छ, ‘यो विषयलाई ओझेलमा पर्न वा सेलाउन दिइनेछैन ।’ प्रधानमन्त्री ओलीका शब्द–शब्दले कुरुक्षेत्रको युद्धमा छोडिएका वाणहरूभन्दा बढी ओज र तेज बोकेका हुन्छन् ।

ओली पहिलोचोटि प्रधानमन्त्री हुँदा भारतसँग हाम्रो कूटनीतिक ठ्याक नमिलेकै कारण नाकाबन्दी झेल्नुपरेको थियो, तर उनले चीनसँग पारवाहन सम्झौता गरी पेट्रोलियमलगायतका अन्य केही आवश्यक आपूर्ति चीनबाट आयात गरेर देशमा व्याप्त समस्यालाई होलो पार्न सघाएका थिए । त्यो पनि हामी सचेत नेपालीले बिर्सन हुँदैन । ओलीलाई राजनेता भन्ने अवस्था छैन, उनी देशका सर्वोच्च नेता पनि होइनन्, उनी अहिले गठबन्धनको ताकतले प्रधानमन्त्री भएका हुन् र गठबन्धनको लक्ष्मण–रेखा नाघ्नु भनेको उनको राजनीतिक क्षय हुनु हो । अहिले उनी नेतृत्वमा मात्रै छन् । नेतृत्व भनेको सृजनाको परागले फुलाउने फूल हो । नेतृत्वको दिलो दिमागले चाहेर मात्रै देशमा केही हुँदैन । त्यसका लागि उनले राज्य–व्यवस्थाका लागि सत्ताको बागडोरमा सिँगारिएका सूक्ष्मतम अंग–प्रत्यंगहरू सबल, सक्षम, सच्चा, इमानदार, होनहार र समर्पित देशभक्त हुन जरुरी छ । तर, वास्तविकतालाई निकटतम नजरले नियाल्दा ती अंग–प्रत्यंग बेथितिका कैयौँ सूर्यको अदृश्य ग्रहणले ग्रस्त रहेको देखिन्छ ।

महान् अंग्रेजी नाटककार विलियम शेक्सपियरले आफ्नो बहुचर्चित नाटक ‘ह्यामलेट’ मा लेखेका छन्ः ‘कोही मुस्कुराउँदा मुस्कुराउँदै अनायास तिम्रो खलनायक पनि बन्न सक्छ ।’ अहिले असंलग्न नीतिमा अडान लिने, पञ्चशीलको सिद्धान्तमा सदैव अडिग रहने शान्तिप्रेमी नेपालीहरू भारत र चीनको प्रसंगमा हुबहु यही स्थितिको सम्मुखिन हुनुपरिरहेको छ । यहाँ हाम्रो कूटनीतिक टिप्पणी (डिप्लोमेटिक नोट्स) ले मित्रराष्ट्रहरूलाई सकारात्मक बन्न कति प्रभाव पार्ला भन्ने विषय चिन्ता र चुनौतीको विषय बन्दै गएको देखिन्छ । यद्यपि, वर्तमान सन्दर्भमा सन् १७९२ को नेपालको राजनीतिक नक्सातिर कसको ध्यान जाला र ? हाम्रा दुवै मित्रले हामीलाई मिचेरै आफ्नो व्यापार प्रवद्र्धन गर्न पाइला अघि सार्नै लागेको स्थितिमा हामीले कस्तो कूटनीतिक पहल गर्नुपर्ने हो, त्यसबारे मन्त्रिपरिषद्ले निर्णय गर्ने होइन । यो विषयलाई संलग्न तीनवटै देशका विज्ञहरूको ‘राउन्ड टेबुल’ बोलाउन आवश्यक छ ।

नेपाली सिमानासम्बन्धी विज्ञ श्री बुद्धिबहादुर श्रेष्ठले भनिसक्नुभएको छः ‘त्यहाँ मलाई बोलाइयोस्, म निमेषमा त्यो समस्या सदाका लागि सुल्झाइदिनेछु ।’ हो, घरभित्र अनेकौँ समस्या छन् । तर केही समयका लागि ती समस्यालाई थाँती राखेर हामीले त्यसतर्फ पनि पहल गर्ने कि ? आजै प्रधानमन्त्री ओली सांघाई कोअपरेसन अर्गनाइजेसनको सम्मेलनमा सम्मिलित हुन चीन प्रस्थान गर्दै हुनुहुन्छ । त्यहाँ भारतीय प्रधानमन्त्री मोदीको पनि उपस्थिति रहनेछ । त्यस अवसरलाई पनि वार्ताका लागि सदुपयोग गर्ने मौकाका रूपमा लिन सकिन्छ ।

त्यस भ्रमणको केही दिनपश्चात् उहाँको भारत भ्रमण पनि तय भइसकेको अवस्थामा नेपालका प्रधानमन्त्रीले लिपुलेक मुद्दालाई प्राथमिकताका साथ उठाउनुहुने नै छ । चिनियाँ सरकार र सञ्चारमाध्यमहरूले लिपुलेकको विषय भारत र नेपालबीचको विषय हो भनिसकेको छ । चीन यो विवादमा हस्तक्षेप गर्न इच्छुक छैन । तर, यो विवाद सुल्झिएपछि आफ्नो व्यापार विस्तारका लागि उसले समझदारीका आधारमा कुनै कदम चाल्न सक्छ । भारततर्फका सञ्चारमाध्यमहरूले समेत सन् १७९२ को नक्सालाई देखाएर त्यस बेला त भारतको नामको कुनै देश नरहेको पनि उल्लेख गरेका छन् । आनन्द वर्मालगायत धेरै मूर्धन्य भारतीय पत्रकारहरूले आफ्नो प्रतिक्रिया दिँदै लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै भू–भाग रहेको खुलस्त पारेको पनि स्मरणीय छ ।

नेपालको सार्वभौमिकताउपर आँखा गाड्ने कुनै पनि विदेशी सरकारको कुटील वृत्तले स्वयंलाई सच्याउनुपर्छ । सधैँ रोटीबेटीको मन छुने नारा छर्दै वीर र स्वतन्त्र नेपालीको छातीलाई आफ्नो रोटी सेकेझैँ सेक्न पाइँदैन । चिनियाँ राजदूतावासले स्पष्टोक्ति दिइसकेजस्तै गरी भारतीय राजदूतावासले पनि हाम्रो सिमानाको भू–भाग अतिक्रमण गर्ने प्रयास किन गरिरहेको छ, त्यो स्पष्ट रूपमा सार्वजनिक गरोस् । नेपालीहरू आफ्नो छिमेकीलाई आफूजस्तै माया गर्छन्, आदर गर्छन्, धेरै बोल्न जान्दैनन्, धेरै बोल्नुपरे बिजुलीको भाषा बोल्छन्, आगोका शब्द उकेल्छन् ।….. लोकाः समस्ताः सुखिनो भवन्तु ।

प्रतिक्रिया दिनुहोस्