विद्युत् आपूर्ति नहुँदाव्यवसायी संकटमा «

विद्युत् आपूर्ति नहुँदाव्यवसायी संकटमा

विमानस्थलमा नेपालगन्जबाट सामान पठाएको फोनमा चार्ज छैन, के पठाएको हो, कति पठाएको हो थाहा नै हुन नसकेको स्थानीय व्यापारी गुनासो गर्दै थिए । फोनमा ब्यालेन्स भए पनि सम्पर्क गर्न नपाउँदा बैठक बोलाउनु पर्दा घर–घरमा गई बोलाउनु बाहेक कुनै उपाय नभएको मानसरोवर नमुना माध्यमिक विद्यालयका खरिदार हिर बोहरा दुःखेसो पोख्दै थिए । बैठकका लागि व्यवस्थापन समितिका पदाधिकारीलाई घरघरमा डाक्न पठाएको छु हिरले बताए ।
जिल्ला शिक्षा अधिकारी मदनकुमार थापा विभागबाट निर्देशकसहितको समूह कार्यक्रमका लागि हुम्ला आएको तर सरोकारवाला निकायलाई गोष्ठीमा बोलाउन नपाउनुको मुख्य कारण विद्युत् भएको कार्यालयमा बताउँदै थिए । कार्यालयमा काम थुप्रिएको छ, ३ दिनको बाटो हिँडेर आएको बत्ती नहुँदा काम गर्न नपाएर सिमिकोटमा नै बसेको दुल्लीका धनमान थापाको भनाइ छ । दिउँसो मौसम सफा भए घरमा भएको सानो सोलारको व्याट्रीमा बल्ल तल्ल नेपाल टेलिकमको स्काई फोन चार्ज गरेर सम्पर्कमा रहेको सर्केगाड गाउँपालिका–१ का वडाध्यक्ष गोकुल बुढाले बताए । हुम्लामा १ सातादेखि बत्ती आपूर्ति नहुँदा यहाँका बासिन्दा यस्ता खालका समस्या पोख्नमा नै दिन बिताइरहेका छन् । साता दिन भो बत्ती बन्ला काम गरौंला भनेको विद्युत् बन्द भएपछि हाल अन्धकारमा बस्न बाध्य भएको महाबौद्ध माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा तयरी गरिरहेकी रमिता लामाको भनाइ छ । कसरी परीक्षाको तयारी गर्ने हो रमिताले चिन्ता व्यक्त गरिन् ।
विद्युत् प्राधिकरणअन्तर्गतको हिल्दुङ, वितरण केन्द्रको पावर हाउसमा पानी पठाउने पेनस्टेक पाइप फुट्दा यस्तो समस्या हुम्लीले भोग्दै आएका छन् । विद्युत् पाइपलाइनको फलामको पाइप मर्मत गर्न नमिल्ने गरी फुट्दा हाल हुम्लाका १ हजार ७ सय उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् । कार्यालयमा कामको शिलशिलामा आएको सेवाग्राहीले काम लिन सकिरहेका छैनन् । जिल्लामा रहेका २ वटा सामुदायिक रेडियो बन्द भएका छन् । साप्ताहिक रूपमा प्रकाशन हुने सिमिकोट टाइम्स पनि बन्द भएको छ । नेपाल टेलिकमको नमस्ते सेवा घाम लागेको बेलामा मात्र नेटवर्क आउने र अघिपछि बन्द हुने गरेको छ । सरकारी तथा गैरसरकारी कार्यालयका सबै तथ्यांक जानकारी कम्प्युटरमा नै भएको हुँदा सेवा दिन नसक्ने अवस्थामा पुगेका छन् । गाउँपालिका र वडापालिकाले सिफारिस हस्तलिखित दिनबाहेक कुनै विकल्प छैन । जिल्लामा भएका समाचार पठाउन पनि समस्या भएको राष्ट्रिय समाचार समितिका हुम्ला प्रतिनिधि हरिबहादुर रावतले जानकारी दिए ।
जिल्लाका सबै गाउँपालिकाको कार्यालय राम्ररी स्थापना नहुँदा सिमिकोटबाट नै सबै काम हुने गरेको भएता पनि बत्ती बिग्रँदा काम ठप्प भएको छ । पानीको बहाव घट्दा पानीसँगै हावाको बेगले पेनस्टेक पाइपमा जोड परी फुट्ने गरेको विद्युत् प्राधिकरणका कर्मचारी दत्तबहादुर शाहीले बताए । रातको समयमा विद्युत्को खपत बढी हुने र सोहीअनुसार पानीको बहाव नहुँदा हावा छिर्ने अनि पाइप फुट्ने गरेको छ । साताको एकपटक पाइप फुट्ने गरेको र त्यसलाई वेल्डिङ गरे पनि दीर्घकालीन बनाउन नसकिएको विद्युत् कर्मचारीको भनाइ छ ।

रेशमराज रोकाया

प्रतिक्रिया दिनुहोस्