ठगी गर्ने मेनपारको दर्ता खारेजी र निलम्बन «

सामाजिक सञ्जाल प्रयोग गरी ठगी

ठगी गर्ने मेनपारको दर्ता खारेजी र निलम्बन

काठमाडौं– सरकारले वैदेशिक रोजगार प्रक्रियामा तोकिए भन्दाबढी रकम उठाइ युवा ठगी गर्ने मेनपावरको दर्ता खारेज तथा निलम्बन गर्ने कार्य सुरु गरेको छ । वैदेशिक रोजगार विभागले हालै विस एचआर सोलुसन नामक मेनपावर कम्पनीको दर्ता खारेजी गरेको हो । सो मेनपावर विरुद्ध ३ करोड ४२ लाख २८ हजार ४९८ रुपैयाँ ठगी गरेको उजुरी दर्ता भएपछि दर्ता खारेजी गरेको हो ।

सो मेनपावरका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ र फडिन्द्र कोइरालालाई वैदेशिक रोजगारीमा जान प्रक्रिया शुरु गरेका ४३ युवाको रकम ठगी गरेको उजुरीका आधारमा विभागले वैदेशिक रोजगार न्यायाधीकरण मुद्धा समेत चलाएको छ । सो म्यानपावरबाट पोल्याण्ड, क्रोएसिया, जापान, कतार तथा अमेरिका वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिए । पछिल्लो समय वैदेशिक रोजगारीका नाममा ठगीमा पर्ने युवाको संख्या बढ्दै गएपछि विभागले कारवाई प्रक्रियालाई तीव्रता दिएको छ ।

यसैगरी युनाईटेड मेनपावर कम्पनीलाई विभिन्न व्यक्तिहरुलाई वैदेशिक रोजगारीमा युक्रेन, रोमानिया एवं पोल्याण्ड पठाउने भनी रकम लिई सम्बन्धित मुलुकहरुमा नपठाएको तथा निजहरुबाट लिएको रकम समेत फिर्ता नगरेपछि भदौ २७ गते निलम्बन गरेको छ । सो मेनपावर विरुद्ध विभागमा उजुरी तथा जाहेरी परेपछि सो संस्थाका सञ्चालकलाई पटक–पटक सम्पर्क गर्दा समेत विभागमा उपस्थित नभएपछि निलम्बन गरिएको विभागले जनाएको छ । यसैगरी यूरो एशिया उनआर सोलुसनले वैदेशिक रोजगारीको लागि जान ईच्छुक व्यक्तिहरुबाट प्रवेशाज्ञा शुल्क, सेवा–शुल्क तथा प्रवर्द्धन खर्चबढी लिएकोमा जरिवाना गरिएको छ ।

सो मेनपावरले उठाएको रमम सम्बन्धित व्यक्तिहरुलाई नै फिर्ता गर्न लगाउन निर्देशन दिँदै आगामी दिनमा प्रक्रियामा सेवा शूल्क नलिन निर्देशन दिइएको छ । सो मेनपावरलाई वैदेशिक रोजगार ऐन अनुसार एक लाख जरिवाना गरिएको विभागले जनाएको छ । वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिएका संस्थाले प्रचलित कानुनको पालना गरी आफ्ना गतिविधिहरु सञ्चालन गर्नु पर्ने विभागको भनाइ छ ।

विभागको पूर्वस्वीकृति विना सामाजिक सञ्जाल (फेसबुक) मार्फत नेपाली डाक्टरहरुलाई वैदेशिक रोजगारीमा कुवेत पठाइदिने भनी भ्रमपूर्ण सूचना प्रसारण गरेको एवं सीपयुक्त दक्ष जनशक्तिलाई व्यक्तिगत रुपमा गन्तव्य मुलुकमा पठाउने गरी शंकास्पद कार्यहरु गर्ने ओमेगा इन्टरनेसनल मेनपावरलाई समेत भदौ १२ गते निलम्बन गरिएको छ । यो मेनपावरले आफ्नो संस्थाको भवन भित्र अन्य दुईवटा संस्था राखी छेउकै भवनमा शैक्षिक परामर्श सस्था राखी वर्किङ भिसाको प्रलोभन देखाई सन्देहपूर्ण कारोवार गरेको विभागको भनाइ छ ।

साथै सो मेनपावरले व्यक्तिगत रुपमा दक्ष जनशक्ति वैदेशिक रोजगारमा पठाउने कार्यमा संलग्न गरेको जनाउदै विभागको भदौ १२ गतेको निर्णयानुसार ऐनको दफा ६१ बमोजिम निलम्बन गरिएको हो । विभागले वैदेशिक रोजगारीमा जान ईच्छुक सम्पूर्ण युवालाई सामाजिक सञ्जालमा प्रसारण हुने भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न विभागले अनुरोध गरेको छ । साथै, प्रचलित ऐन कानूनको वर्खिलाप हुने गरी सामाजिक सञ्जालमा सूचना सम्प्रेषण लगायतका गतिविधिहरु संचालन नगर्न इजाजतपत्रवाला संस्थाहरुमा विभागले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्