तालिम र प्रशिक्षणमा एकरुपता नभए सुरक्षामा जटिलता : आइजीपी

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले संघीयतामा नेपाल प्रहरीको प्रशिक्षण र तालिममा एकरुपता नभए राष्ट्रिय सुरक्षाका लागि चुनौती थपिने बताएका छन् ।संघीय व्यवस्थामा सबै प्रदेश प्रहरीको तालिम र प्रशिक्षण एकरुपता बनाउनुपर्ने भन्दै आइजीपी अर्यालले त्यसो नभए देशका लागि नै अहित हुनसक्ने चेतावनी दिएका हुन् ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको २६ औं वार्षिकोत्सवका अवसरमा आइजीपी अर्यालले ७ वटै प्रदेश प्रहरी अन्तर्गतका जनशक्तिका लागि प्रदान गरिने तालिम तथा प्रशिक्षणमा एकरुपता हुनुपर्ने बताए ।
गृह मन्त्रालय अहिले संघीय प्रहरी ऐनको मस्यौदा निर्माणमा जुटेको छ । मस्यौदा निर्माणले पूर्णता नपाएकै बेला आइजीपी अर्यालबाट यस्तो धारणा बाहिर आएको हो ।
“सबै प्रदेशका प्रहरीको प्रशिक्षण र तालिममा एकरुपमा हुन जरुरी छ । एकरुपता भएन भने राष्ट्रिय सुरक्षामा धेरै जटिलता आउनसक्छ ,”आइजीपी अर्यालले भने । अर्यालले समाजमा ‘गुड ह्युमन’ उपलव्ध भए प्रहरीमा ‘गुड अफिसर’ बनाउँन कठिन नहुने उनको भनार्य थियो ।
कतिपय प्रहरी अधिकारीहरु प्रहरीको मूल्यमान्यता र आदर्शभन्दा ‘तथाकथित सामाजिकीकरण’ हुने लोभमा हुने लोभमा लाग्दा त्यसले संगठनलाई नै
नकारात्मक असर पुगेको उनले बताए ।
“प्रहरी कर्मचारीमा प्रशिक्षण लिएदेखि नै क्वालिटी, स्कील, म्यानेज, इन्ट्रीगिटी, समर्पण, सेवा भाव र सकारात्मक सोच जस्ता गुण हुन जरुरी छ,” उनले भने, “तर प्रशिक्षणमा रहँदा आदर्शका कुरा गर्ने अनि वाहिरिएपछि त्यस अनुसार नहिड्ने प्रवृत्तिले गर्दा राम्रो अफिसर उत्पादनमा समस्या थपिएको छ ।” आइजीपी अर्यालले समान प्रशिक्षण लिएका एउटै ब्याचका दर्जनौं अधिकृत मध्ये औलामा गन्न सक्ने मात्रै किन उत्कृष्ठ हुन्छन् भनेर प्रश्न समेत गरे ।
“चुनौतीपूर्ण जिल्लामा खटाउन खोज्दा २÷४ जना बाहेक उपयुक्त अधिकृत नै उपलव्ध हुँदैनन्,” उनले भने, “मलाई लाग्छ, यो सबै प्रहरी महानिरीक्षकले पनि भोग्दै आएको समस्या पनि होला । मैले पनि भोगेको छु ।” प्रतिष्ठानका कार्यकारी निर्देशक एआइजी देवेन्द्र सुवेदीले राम्रो प्रशिक्षणबाटै असल प्रहरी जनशक्ति निर्माण गर्न सकिने बताए । विभागीय र अदालतबाट करबाही भोगेका प्रहरीप्रति लक्षित गर्दै एआइजी सुवेदीले व्यवसायिकताको विचलनले उत्ताउलो अराजकता धान्न नसक्ने भन्दै यसप्रति सचेत रहन तालिमरत प्रशिक्षर्थीहरुको ध्यानाकर्षण गराएका थिए । प्रहरीको असल चरित्र, व्यक्तित्व, नैतिकता र क्षमता प्रशिक्षणबाटै प्राप्त गर्न सकिने गुण भएकोले यसलाई जीवन पर्यन्त आत्मसाथ गर्नुपर्ने उनले बताए । सुवेदीले कानुनी, सामाजिक, र साहस पक्षले मात्रै भरोसायुक्त प्रहरी शक्ति निर्माण हुन सक्ने बताए । वार्षिकोत्सव कार्यक्रममा प्रतिष्ठानले पूर्व आइजीपी अच्युतकृष्ण खरेल सहित विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको थियो । प्रहरीमा २०१३ सालदेखि नै तालिम र प्रशिक्षणको व्यवस्था गरिएपनि २०२४ माघ २९ गते तत्कालिन राजा महेन्द्रको योजना अनुसार सदर प्रहरी तालिम केन्द्र स्थापना गरिएको हो । पछि सदरप्रहरी तालिम केन्द्रलाई २०४९ साल माघ २९ गते स्तरोन्नती गरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको रुपमा विकास गरिएको हो । प्रतिष्ठान र यसको समन्वयमा अहिले वार्षिक ५० हजार भन्दा बढीले विभिन्न किसिमका तालिम तथा प्रशिक्षण लिदै आएाक छन् ।
गत अवमा मात्रै प्रतिष्ठान तथा साविक ५ विकास क्षेत्र अन्तर्गतका तालिम केन्द्रबाट १ हजार १ सय ४० समूहका ४७ हजार ३ सय ६० जनशक्तिलाई तालिम तथा प्रशिक्षण दिइएको थियो ।