६ वर्षमा दुई लाख बिमितलाई १५ करोडको उपचार «

स्वास्थ्य बिमा उपचार र खर्च

६ वर्षमा दुई लाख बिमितलाई १५ करोडको उपचार

जुम्ला– दुरदराजका नागरिकहरु स्वास्थ्य बिमा कार्यक्रमले विशषज्ञ स्वास्थ्य उपचारको पहुँचमा पुगेका छन् । विगतमा आर्थिक अभावले अस्पतालसम्म पुगेर उपचार गराउन नसक्ने नागरिक पछिल्लो समय बिमाले सहजै स्वास्थ्य उपचारको पहुँचमा पुगेका हुन् । बिमाले उपचारमा राहत र सेवामा पहुँच मात्र विस्तार गरेको छैन ।

स्वास्थ्यमा केही समस्या आए धामी झाँक्री भन्दा पहिला अस्पतालकै उपचार गराउने बानीको समेत विकास भएको छ । स्वास्थ्य बिमाको प्रभावकारीता बढेपछि स्थानीय तहले समेत निरन्तरता दिएका छन् । यहाँका तातोपानीले पालिकाभरका विपन्न नागरिक र हिमा गाउँपालिकाले पालिकाका सम्पूर्ण नागरिकको अनिवार्य बिमा गर्ने नीति लिएका छन् ।

५ जनाको परिवारले ३५ सय तिरेर प्रतिपरिवारले एक लाखसम्मको विशषज्ञ उपचार पाउने, स्थानीय तह विपन्नको नि:शुल्क बिमा गरिदिने कारणले स्वास्थ्य बिमामा नागरिकको आर्कषण ह्वात्तै बढेको देखिन्छ । स्वास्थ्य बिमा गराउनेमा जुम्ला कर्णाली प्रदेशकै पहिलो नम्बरमा पर्छ भने सेवा प्रवाहका हिसाबले रुकुम पश्चिम अस्पतालपछि दोस्रोमा कर्णाली प्रतिष्ठान छ । बिमाको फाइदा बुझेसँगै बिमितको संख्या वृद्धि भएको देखिन्छ ।

कुन वर्षमा कति लिए सेवा

जुम्लामा स्वास्थ्य बिमा कार्यक्रम आव २०७४/०७५ बाट सञ्चालन भएको हो । बितेको ६ वर्षमा जुम्लाका ८१ हजारबढी नागरिक स्वास्थ्य बिमाको पहुँचमा पुगेका छन् । एक लाख २० हजारबढी जनसख्ंया र २० हजार भन्दा बढी घरधुरी रहेको जुम्लामा ८१ हजार नौ सय जना बिमाको पहुँचमा पुगेका छन् भने १६ हजार आठ सय घरधुरी बिमित भएका हुन् । साउन दोस्रो सातासम्म ८० हजा चारसय बढी बिमित रहेको जुम्लामा एकै हप्तामा १५ सय जना थपिएका छन् । यो तथ्यांकले पनि बिमाप्रति आर्कषण बढ्दो देखिन्छ ।

जुम्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएदेखि हालसम्म करिब २ लाख बिमित नागरिकले सेवा लिएका छन् । आव २०७४/०७५ देखि आव २०७९/०८० सम्म जुम्लाका एक लाख ९६ हजार जनाले साढे १५ करोड बराबरको स्वास्थ्य उपचार लिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान मेडिकल रेर्कडर मेघराज बुढाले बितेको ६ वर्षमा करिब २ लाख बिमित नागरिकले १५ करोड ४९ लाख रुपैयाँ बराबरको उपचार लिएको बताए ।

आ.व २०७४/०७५ मा सात हजार दुई सय ४० जना, आ.व २०७५/०७६ मा २१ हजार तीन सय ३२ जना र आ.व २०७६/०७७ मा २६ हजार सात सय ९२ जनाले दुई करोड ८५ लाख १८ हजार ६ सय ८२ रुपैयाँ बराबरको उपचार लिएका छन् । त्यस्तै, आ.व २०७७/०७८ मा २६ हजार तीन सय ८६ जना बिमितिले दुई करोड २९ लाख ४९ हजार ६ सय २६ रुपैया बराबरको उपचार लिए ।

यसैगरी आ.व २०७८/०७९ मा ४८ हजार आठ सय ९५ जना बिमितले ३ करोड ८६ लाख २३ हजार ६० रुपैयाँको उपचार गराएका थिए । गत आर्थिक वर्ष २०७९/०८० मा अहिले सम्मकै धेरै संख्या र बजेटमा ६६ हजार चार सय १७ जना बिमितले ६ करोड ४८ लाख ७७ हजार चार सय ३१ रुपैयाँ बराबरको उपचार लिएको मेडिकल रेकर्डर मेघराज बुढाले जानकारी दिए ।

कुन पालिकाका कति बिमित ?

जिल्लाका ८१ हजार भन्दा बढी नागरिक बिमाको पहुँचमा पुग्दा आठ स्थानीय तह रहेको जुम्लामा सबैभन्दा बढी चन्दननाथ नगरपालिकाका १९ हजार ५०२ जना र सबैभन्दा कम सिञ्जा गाउँपालिकाका ५ हजार ४०२ जना बिमित भएका छन् ।

त्यस्तै, तातोपानी गाउँपालिकाका ११ हजार ६१७, तिलाका ८ हजार ३ सय ६७, हिमाका ११ हजार ४९३, कनकासुन्दरीका ६ हजार ७१ जना नागरिक स्वास्थ्य बिमाको पहुँचमा पुगेका छन् । त्यसै पातारासी गाउँपालिकाका ११ हजार १३८ जना र गुठिचौरका ६ हजार ८८३ जना गरी ८० हजार ४७३ जना नागरिक बिमाको पहुँच पुगेको स्वास्थ्य बिमा कार्यालय जुम्लाका प्रमुख प्रेम भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्