गाउँपालिकाका सबै नागरिकको नि:शुल्क बीमा

स्याङ्जा– कालीगण्डकी गाउँपालिकामा बसोबास गर्ने सबै नागरिकको नि:शुल्क स्वास्थ्य बीमा गरिएको छ । गाउँपालिकाले गत असार मसान्तसम्म पालिकामा बसोबास गर्ने चार हजार ५४३ घरधुरीका परिवार सदस्यको नि:शुल्क बीमा गरेको हो ।
गाउँपालिकामा बसोबास गरेका नागरिकमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले नागरिकको नि:शुल्क स्वास्थ्य बीमा गरिएको छ । नि:शुल्क स्वास्थ्य बीमावापत गत आर्थिक वर्ष २०८१/०८२ को मसान्तसम्म एक करोड ७२ लाख ७२ हजार १५० रुपैयाँ बीमा बोर्डको जिल्लास्थित कार्यालयमार्फत भुक्तानी गरेको पालिकाले जनाएको छ ।
कालीगण्डकीको वडा–१ का ७७२, वडा–२ का ७२६, वडा–३ का ५८३, वडा–४ का ६६८, वडा–५ का ६८०, वडा–६ का ५८८ र वडा–७ का ५२६ गरी चार हजार ५४३ घरधुरीमा बसोबास गर्ने सदस्यको नि:शुल्क स्वास्थ्य बीमा गरिएको गाउँपालिकाका बीमा कार्यक्रमका प्रतिनिधि दुर्गा पाण्डेले जानकारी दिए ।
पहिलो चरणमा एक हजार ६१७ घरधुरीको बीमावापत ६१ लाख ७७ हजार भुक्तानी गरेको गाउँपालिकाले दोस्रो चरणमा दुई हजार १८३ परिवारलाई ८२ लाख ७० हजार रुपैयाँ भुक्तानी गरेको छ । तेस्रो चरणमा ३९९ घरधुरीका लागि १४ लाख ९२ हजार ५० र चौथो तथा अन्तिम चरणमा ३४४ घरधुरीका परिवार सदस्यलाई १३ लाख ३२ हजार गरी एक करोड ७२ लाख भुक्तानी गरिएको पालिकाले जनाएको छ ।
गाउँपालिकामा बसोबास गरेका सबै घरधुरीका परिवार सदस्यलाई नि:शुल्क स्वास्थ्य बीमा कार्यक्रममा समेटिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । उनका अनुसार पालिकाका सात वटै वडामा रहेका बीमा अभिकर्तामार्फत बीमितको घर–घरबाट फोटो खिच्ने र रसिद काटेर ल्याएपछि फोटो र रसिदको आधारमा तथ्यांक सुनिश्चित गरेपछि बीमा बोर्डलाई भुक्तानी दिने गरिएको छ ।
आर्थिक अभावमा पालिकाबासीले स्वास्थ्य सेवाबाट बञ्चित हुन नदिन र स्वास्थ्यमा समान पहुँच पुर्याउन नि:शुल्क बीमा कार्यक्रम गरेको अध्यक्ष थापाले बताए । उनका अनुसार न्यूनतम पाँच जनासम्मका परिवारलाई तीन हजार ५ सय र पाँच जना माथिका परिवार सदस्यको प्रतिसदस्य थप ७ सयका दरमा चार वर्षदेखि पालिकामार्फत भुक्तानी गरिन्छ ।
गाउँपालिकामा बसोबास गर्नेको आर्थिक वर्ष २०७८/०७९ देखि नि:शुल्क स्वास्थ्य बीमा हुँदै आएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले बताए । बीमासहित गाउँपालिकाको मिर्मिमा सञ्चालित कालीगण्डकी अस्पतालबाट दिइने सबै सेवा, उपचार र औषधीसमेत स्थानीयले नि:शुल्क पाउने गरेका छन् ।