Logo

जीवन बीमा कम्पनीको दाबी भुक्तानी १९ प्रतिशत बढ्यो

काठमाडौं– गत आर्थिक वर्षमा दाबी भुक्तानी दर बढाउन जीवन बीमा कम्पनीहरू सफल भएका छन् । मुलुकभरमा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीको दाबी भुक्तानी १९.२ प्रतिशतले बढेको हो ।

गत आवमा १४ जीवन बीमा कम्पनीले कुल ७८ अर्ब ७२ करोड रुपैयाँको दाबी भुक्तानी दिएका छन् । अघिल्लो आवमा ६६ अर्ब ४ करोड रुपैयाँको दाबी भुक्तानी दिएका थिए । अघिल्लोको तुलनामा गत वर्ष १९.२० प्रतिशत बढी दाबी भुक्तानी दिइएको छ ।

कुल १४ जीवन बीमा कम्पनीमध्ये तीन वटाको मात्रै अघिल्लो आवको तुलनामा गत वर्षमा दाबी भुक्तानी घटेको छ । बाँकी ११ कम्पनीले बढीमा ३२.९० प्रतिशतदेखि घटीमा २.८९ प्रतिशतसम्म दाबी भुक्तानी बढाएका छन् । तीन कम्पनीको गिरावट दर पनि अधिकतम १०.८४ प्रतिशतदेखि न्यूनतम ८.९१ प्रतिशतसम्म छ ।

बिक्रीमा रहेका बीमा पोलिसी परिपक्व बन्दै जाँदा जीवन बीमा कम्पनीहरूको दाबी भुक्तानी पनि बढ्दै गएको हो । यो वृद्धि अझै बढी हुनुपर्नेमा अर्थतन्त्रको सुस्तताको असरका कारण केही कम भएको जीवन बीमा कम्पनीका प्रतिनिधिहरू बताउँछन् । पछिल्ला वर्षहरूमा बीमा पोलिसी समय अवधिभन्दा अगाडि नै त्याग (सरेण्डर) गर्ने क्रम बढ्दो छ । यसले गर्दा पनि दाबी भुक्तानीमा केही प्रभाव परेको छ ।

पछिल्लो समय पोलिसी परिपक्व हुँदै जाँदा दाबी भुक्तानी बढ्दै गएको नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश खत्री बताउँछन् । वर्षभरिको बीमामा करिब ४० प्रतिशत बीमा पहिलो ६ महिनामा हुन्छ भने ६० प्रतिशत दोस्रो ६ महिनामा हुन्छ । यसमध्ये पनि असार मसान्तमा ९० प्रतिशत बीमा हुने र त्यसले असारसम्ममा परिपक्व हुने पोलिसीको संख्या बढी हुँदा दाबी भुक्तानी पनि बढ्ने सीईओ खत्रीले बताए । उनले भने, ‘अवधि पूरा भएपछि पैसा असार मसान्तसम्ममा भुक्तानी हुन्छ । यसले गर्दा दाबी भुक्तानी बढ्छ ।’ यो वृद्धि स्वाभाविक भएको समेत उनले बताए । जीवन बीमामा अधिकांश दाबी भुक्तानी बीमाको अवधि समाप्त भएपछि हुने भएकाले अहिले देखिएको वृद्धि परिपक्व हुने क्रम बढेकाले भएको उनको भनाइ छ ।

हिमालयन लाइफ इन्स्योरेन्सका सीईओ मनोज कुमार लाल कर्णले परिपक्व हुने दर बढ्दै जाँदा दाबी भुक्तानी हुने क्रम पनि बढ्दै जाने बताए । यसरी जीवन बीमा कम्पनीहरूको दाबी भुक्तानी बढ्दै जाँदा समग्र बीमाप्रतिको विश्वसनीयता पनि बढ्दै जाने उनी बताउँछन् । उनका अनुसार यो दाबी भुक्तानीमा मृत्यु दाबीको संख्या निकै न्यून रहेको छ । उनले भने, ‘एक हजार पोलिसीमा एक पोलिसी मात्रै मृत्यु दाबीको हुन्छ, त्यसकारण यो निकै न्यून छ ।’

गत आवमा सबैभन्दा बढी दाबी भुक्तानी दिने जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । नेपाल लाइफले सर्वाधिक १९ अर्ब १९ करोड रुपैयाँ दाबी भुक्तानी दिएको छ । अघिल्लो आवमा १४ अर्ब ९९ करोड ५६ लाख रुपैयाँ दाबी भुक्तानी दिएको नेपाल लाइफले गत आवमा २८.०१ प्रतिशत बढी दाबी भुक्तानी दिएको हो ।

दोस्रोमा एलआईसी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १२ अर्ब ५९ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो आवमा यस बीमा कम्पनीले १० अर्ब ८९ करोड १८ लाख रुपैयाँ दाबी भुक्तानी गरेकोमा गत आवमा १२.५९ प्रतिशत बढी भुक्तानी गरेको तथ्यांकमा देखिएको छ ।

सर्वाधिक दाबी भुक्तानी गर्ने जीवन बीमा कम्पनीको तेस्रो नम्बरमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । अघिल्लो आवमा ८ अर्ब ३२ करोड ८२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको यो कम्पनीले ३२.९४ प्रतिशत बढी गत आवमा भुक्तानी गरेको छ । गत आवमा नेशनल लाइफले ११ अर्ब ७ करोड रुपैयाँको दाबी भुक्तानी दिएको छ । जीवन बीमा कम्पनीहरूमध्ये यो वृद्धि सबैभन्दा बढी हो ।

त्यसैगरी सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ६ अर्ब ५६ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो आवमा यस कम्पनीले ६ अर्ब ५६ करोड १९ लाख रुपैयाँ दाबी भुक्तानी दिँदा हिमालयन लाइफले ७ अर्ब ३३ करोड ८५ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ ।

गत आवमा एशियन लाइफले ६ अर्ब १८ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ३ अर्ब ६९ करोड रुपैयाँ र मेटलाइफले २ अर्ब ९४ करोड रुपैयाँको दाबी भुक्तानी गरेका छन् ।

यसैगरी सिटिजन लाइफले १ अर्ब ९१ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ७७ करोड रुपैयाँ, सन नेपाल लाइफले १ अर्ब ५७ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ४३ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब २८ करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले १ अर्ब १५ करोड रुपैयाँको दाबी भुक्तानी बीमितलाई दिएका छन् ।

अघिल्लो आवको तुलनामा गत आवमा सूर्यज्योति लाइफ इन्स्योरेन्स, मेटलाइफ र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स गरी तीन जीवन बीमा कम्पनीको दाबी भुक्तानी घटेको छ । अघिल्लो आवमा ४ अर्ब ५ करोड रुपैयाँ दाबी भुक्तानी गरेको सूर्यज्योति इन्स्योरेन्सको गत आवमा दाबी भुक्तानी ८.९१ प्रतिशतले घटेर ३ अर्ब ६९ करोड ६७ लाख रुपैयाँमा झरेको छ ।

यस्तै, अघिल्लो आवमा १ अर्ब ९८ करोड रुपैयाँ दाबी भुक्तानी गरेको सानिमा रिलायन्स लाइफको गत आवमा १०.८४ प्रतिशतले घटेर १ अर्ब ७७ करोड रुपैयाँमा सीमित बनेको छ । मेटलाइफ इन्स्योरेन्सको दाबी भुक्तानी अघिल्लो आवको तुलनामा गत आवमा ८.९४ प्रतिशतले घटेको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्