स्वास्थ्य बीमामा ७१ हजार आबद्व

दाङ– दाङको कुल जनसंख्याको १० प्रतिशत मात्रै नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्व भएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको ६ लाख ७४ हजार जनसंख्यामध्ये १०.६२ प्रतिशत अर्थात् ७१ हजार ८१८ जना नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्व भएका हुन् । स्वास्थ्य बीमा बोर्ड दाङका अनुसार गत असार मसान्तसम्म ३७ हजार ७९८ जना महिला र ३३ हजार ९२० जना पुरुष गरी ७१ हजार ७१८ जना स्वास्थ्य बीमा कार्यक्रममा आबद्व भएका हुन् ।
स्वास्थ्य बीमामा आबद्व भएकामध्ये १७ हजार ६५६ जना ज्येष्ठ नागरिक, एक हजार ९३५ जना अति अपांगता भएका, ३९७ एचआईभी संक्रमित, १८ जना टिभीका बिरामी, चार जना कुष्ठरोग लागेका बिरामीसँगै २ हजार ७२ जना महिला स्वास्थ्य स्वयंसेविकाको नि:शुल्क स्वास्थ्य बीमा गरिएको स्वास्थ्य बीमा बोर्ड दाङ शाखा संयोजक बसन्त लामिछानेले जानकारी दिएका छन् । जिल्लाका दश स्थानीय तहमध्ये घोराही उपमहानगरपालिकामा स्वास्थ्य बीमा गराउनेको संख्या बढी रहेको छ ।
शाखा संयोजक लामिछानेका अनुसार घोराहीमा ३७ हजार २०८ जनाले स्वास्थ्य बीमा गराएका छन् । त्यसैगरी तुलसीपुर उपमहानगरपालिकामा १६ हजार ४६७ जना, लमही नगरपालिकामा ४ हजार १९९, राप्ती गाउँपालिकामा ३ हजार २६९, गढवा गाउँपालिकामा २ हजार ६३३ जनाले स्वास्थ्य बीमा गराउँदा राजपुर गाउँपालिकामा १ हजार ३६, बंगलाचुली गाउँपालिकामा १ हजार ४३१, दंगीशरण गाउँपालिकामा १ हजार ८१३, शान्तिनगर गाउँपालिकामा १ हजार ६५३ र बबई गाउँपालिकामा २ हजार जना स्वास्थ्य बीमा कार्यक्रममा आबद्व भएका छन् ।
शाखा संयोजक लामिछानेका अनुसार जिल्लामा पछिल्लो समय स्वास्थ्य बीमा कार्यक्रममा आबद्व हुने नागरिकको संख्या बढ्दै गएको छ । स्वास्थ्य बीमा गराउँदा हुने लाभका बारेमा जानकारी भएसँगै बीमा कार्यक्रममा आबद्व हुने नागरिकको संख्या बढ्दै गएको हो । बीमा दर्ताका लागि जिल्लाका सय वडामा सहयोगी कार्यकर्ताले काम गरिरहेको संयोजक लामिछाने बताउँछन् ।
स्वास्थ्य बीमा कार्यक्रममा आबद्व भएपछि पाँच जनाको परिवारसम्मले वर्षमा तीन हजार ५ सय प्रिमियम शुल्क तिरेपछि सरकारले एक लाख रुपैयाँबराबरको स्वास्थ्य सेवा दिने गरेको छ । त्यसैगरी ६ जनादेखि माथिको परिवार सदस्य भए प्रतिसदस्य ७ सय रुपैयाँ थप जम्मा गर्दै जाने र दुई लाख रुपैयाँको बीमा सरकारले गर्ने गरेको संयोजक लामिछानेले बताए । सरकारले अति गरिब, पूर्ण अपांगता, क्षयरोग तथा कुष्ठरोग, एच आइ भी संक्रमित र ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई एक लाख रुपैयाँसम्मको नि:शुल्क बीमा गर्ने गरेको छ ।
महिला स्वास्थ्य स्वयंसेविकाको परिवारलाई योगदानको रकममा ५० प्रतिशत छुट दिने गरेको छ । जिल्लामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, प्रादेशिक अस्पताल तुलसीपुर, लमही अस्पताल, रक्षाचौर आँखा अस्पताल, श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र स्यूजा र बंगलाचुली अस्पतालमा बीमा गरेबापतको उपचार सेवा केन्द्र तोकिएको छ ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिरामी भएका व्यक्तिलाई एक सय ३३ प्रकारका औषधी, सबै प्रयोगशाला र भेन्टिलेटरसम्मको उपचारको सुविधा प्राप्त गर्न गरेका छन् । तर बीमा गराएकाहरूले सहज रूपमा सेवा पाउन नसकेको गुनासो आउने गरेको छ ।