मध्यपहाडी लोकमार्गः बागलुङ-घोडाबाँधे खण्डको ठेक्का सम्झौता रद्द

पाँचौ पटक म्याद थप्दासमेत सडक अलपत्र छोडेपछि मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ बिहुँ खण्डको ठेक्का सम्झौता रद्द गरिएको छ । राजमार्गको बिहुँदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर सडक अलपत्र छाड्ने सूर्य कन्स्ट्रक्सनसँगको सम्झौता रद्द गरिएको हो ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको राजमार्गको १४२ किलोमिटर सडक बागलुङमा पर्दछ । जसमध्ये बागलुङ सदरमुकामदेखि काँठेखोला गाउँपालिकाको घोडाबाँधेसम्मको २५ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । बाँकी सडकमध्ये बिहुँ घोडाबाँधे खण्डको कालोपत्रे गर्ने जिम्मा सूर्य कन्स्ट्रक्सनले पाएको थियो । २०७२ साल माघमा भएको ठेक्का सम्झौतामा दुई वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने उल्लेख थियो ।
सम्झौता मिति सकिएपछि पाँच पटकसम्म म्याद थप गरेको आयोजनाका पर्वत कार्यालय प्रमुख कल्पना अधिकारीले बताइन् । अधिकारीका अनुसार म्याद थपको पछिल्लो सम्झौताअनुसार यही असार मसान्तसम्ममा काम सम्पन्न गर्नुपर्ने थियो । सम्झौता मिति सकिनै लाग्दा निर्माण कम्पनी काम अलपत्र छोडेर सम्पर्कविहीन बनेको छ । समयमै काम सक्नुपर्ने कम्पनी काम छोडेर भागेपछि सम्झौता रद्द गरिएको अधिकारीले बताइन् ।
सूर्र्य कन्स्ट्रक्सन निमाणको जिम्मा लिएको १२ किलोमिटर सडकमध्ये हालसम्म उपल्लो बिहुँदेखि घोडाँबाधे खण्डमा ६ किलोमिटर सडक भने कालोपत्रे गरिसकेको छ । उक्त खण्डको ६ किलोमिटर सडक कालोपत्रे गर्न अझै बाँकी छ । पाँच पटक म्याद थप गर्दासमेत जम्मा ७५ प्रतिशत भौतिक र ७१ प्रतिशत वित्तीय प्रगति भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।
“२०७२ साल माघमा दुई वर्षका लागि ठेक्का सम्झौता भएको थियो,” कार्यालय प्रमुख अधिकारीले भनिन्, “सात वर्षको अवधिमा पाँच पटक म्याद थपेर काम सम्पन्न गर्ने मौका दिँदासमेत काम नगरेपछि सम्झौता रद्द गर्न बाध्य भएका हाैं ।” निर्माण सम्झौता पश्चात पटकपटक म्यद थप्दासमेत काम हुन नसकेको भन्दै स्थानीय पटकपटक आन्दोलित भएसकेका छन् ।
ठेकेदारको लापारबाहीका कारण सडक कालोपत्रे नभएको भन्दै काठेखोला–५ र ६ का स्थानीयले सडक अवरुद्ध गर्ने, ठेकेदार कम्पनीको कार्यालयम तालाबन्दी गर्नेलगाएतका काम गरेको स्थानीय भरत सापकोटाले बताए । स्थानीयले काम नगर्ने कम्पनीसँगको सम्झौता रद्द गर्न आयोजनालाई दबाबसमेत दिएका थिए । लोकमार्गको बागलुङ बजारदेखि घोडाबाँधेसम्मको सडकलाई दुई खण्डमा विभाजन गरेर निर्माणका लागि दुई कम्पनीलाई जिम्मा दिइएको छ ।
जसमध्ये बागलुङ बजारदेखि बिहुँसम्मको सडक निर्माणको जिम्मा भारत–सिद्धिसाई जेबीले लिएको छ । यस खण्डको पनि प्रगति उस्तै रहेको आयोजना कार्यालयले जनाएको छ । भारत–सिद्धिसाई जेबीसँगको सम्झौता पनि रद्द गर्ने प्रकृयामा रहेको अधिकारीले बताइन् । भारत–सिद्धिसाई जेबीसँग २०७३ माघमा दुई वर्षमा सक्नेगरी ठेक्का सम्झौता गरिएको थियो । अहिलेसम्म चार पटक म्याद थप गरिसकिएको छ ।
हालसम्म सात किमि सडकमात्रै कालोपत्रे सम्पन्न भएको छ । यस खण्डको अझै ६ किमि सडक कालोपत्रे गर्न बाँकी छ । उक्त खण्डको सात वर्षमा ७३ प्रतिशत भौतिक प्रगति र ६९ प्रतिशत आर्थिक प्रगति भएको थियो । उक्त सडकमा पाँच किलोमिटरमा पूर्वाधार निर्माणको कामसमेत बाँकी छ ।