हट्यो उडानमा रहेको कोभिड–१९ सम्बन्धी प्रोटोकल

सरकारले हवाई यात्रामा लगाउँदै आएको कोभिड–१९ सम्बन्धी प्रोटोकल हटाएको छ । आन्तरिक र नेपालमा अवतरण हुने अन्तर्राष्ट्रिय हवाई उडानमा यसअघि लगाउँदै आएको मास्क, खोप कार्ड र पीसीआरको रिपोर्ट हटाएको हो । प्रोटोकल हटाएसँगै नेपालमा हवाई यात्रा गर्ने र आन्तरिक यात्रुले कोभिड–१९ अगाडिकै अवस्थामा उडान तथा अवतरण गर्न पाउने भएका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आइतबार परिपत्र गरेर नेपालमा हुने अवतरण र आन्तरिक उडानमा कोभिड–१९को प्रोटोकल हटाएको जनाएको छ । कोभिड–१९को संक्रमण सुरु भएसँगै सरकारले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्राधिकरण माहतहतमा हवाई यात्रामा कोभिड–१९सम्बन्धी प्रोटोकल लागु गरेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आइतबारबाट कोभिड–१९ सम्बन्धी प्रोटोकल हटाएर कार्यान्वयनमा आएको बताए । नेपालमा अवतरण गर्ने हवाई यात्रुले यसअघि लगाउँदै आएको मास्क, खोप कार्ड र पीसीआर रिपोेर्ट देखाउनुपर्ने छैन । तर नेपालबाट उडान भर्दा भने उडान गर्ने गन्तव्यमा जारी भएको नियमको आधारमा नियम पालना गर्नुपर्ने छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड–१९ को विश्वव्यापी स्वास्थ्य संकटकाल वैशाख २२ गते समाप्त भएको घोषणा गरेको थियो । सन् २०१९को डिसेम्बरबाट चीनको वुहानमा कोभिड–१९को महामारी फैलिएसँगै डब्लूएचओले कोभिड–१९ विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको थियो ।