Logo

जहाज खरिद र निगम

नेपाल वायु सेवा निगम आन्तरिक उडानका लागि तीनवटा नयाँ जहाज खरिद गर्ने तयारीमा लागेको छ । अहिले दुई विमानले मात्र उडान भरिरहेको निगमले बजार हिस्सा बढाउन तीन विमान खरिदको योजना बनाउन लागेको हो । विमान खरिद गर्ने कार्ययोजना अघि बढाउन निगम व्यवस्थापनको उपसमितिले काम सुरु गरेको छ । निगम सञ्चालक समितिका सदस्यसमेत रहेका वरिष्ठ क्याप्टेन सुधीरशमशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन भएको छ ।

निगम ठूलो ऋणमा रहे पनि नयाँ विमान आफ्नै आन्तरिक स्रोतबाट किन्न लागेको छ । अहिले आन्तरिक उडानका लागि भएका दुई साना विमानमा पनि एउटा बिग्रिरहने समस्या छ । तीन विमान खरिद गरेपछि दुर्गम क्षेत्रमा सेवा दिने निगमको योजना छ । निगमसँग पछिल्लो समय दुई वाइडबडी एयरबस ३३०–२०० विमान र दुई न्यारोबडी विमानले अन्तर्राष्ट्रिय उडान भरिरहेका छन् । आन्तरिक उडानका लागि भने निगमसँग दुई ट्विनअटर विमान छन् ।

यस्तो अवस्थामा निगमले गरेको जहाज थप्ने निर्णय राम्रो हो । कुनै पनि वायुसेवा कम्पनीमा एकाध विमानले मात्र सेवा दिन्छु भन्नु मुर्खता हो । अधिकांश व्यक्तिको सवालमा आन्तरिक वा छोटो रुटमा विमान सेवा प्रयोग गर्नुको सबैभन्दा ठूलो कारण समयमा पुग्नु हो । अर्थात् विमान सेवा लिनु सजिलोका लागि मात्र होइन, चाँडो पुग्नु हो । आफ्नो गन्तव्यमा समयमा नै पुगेर लक्षित काम पूरा गर्न सकिन्छ भनेरै अधिकांशले विमान प्रयोग गर्छन् । स्थलमार्ग र सस्तो भाडामा पनि गन्तव्य सजिलै पुग्न सकिन्छ, तर एकाध मात्र विमान भए यात्रुलाई लक्षित समयमा गन्तव्यमा पुर्‍याउन नसकिने डर हुन्छ ।

अचानक विमानमा कुनै समस्या आए त्यसको अर्को विकल्प हुँदैन । नेपाल वायु सेवाको हकमा यस्ता धेरै घटना भएका छन् । आन्तरिक मात्र होइन, अन्तर्राष्ट्रिय उडानमा पनि यो समस्या दोहोरिरहेको छ । अहिले निगमसँग चारवटा विमान भएपछि मात्र केही हदमा यो समस्या देखिएको छैन । त्यसैले सकेसम्म निगमले आवश्यक संख्यामा विमान खरिद गर्नुपर्छ । पछिल्ला वर्षहरूमा निगमले बाह्य सेवामा मात्र बढी ध्यान दिएको देखिँदै आएको छ । यही कारण आन्तरिक हवाई सेवामा विगतको एक्लो निगमलाई अहिले खोज्नुपर्ने अवस्था छ । आन्तरिक बजारमा निजी क्षेत्रका कम्पनीहरूको वर्चस्व छ ।

निगम अहिले सञ्चालनमा छ र ? भन्ने अवस्थामा छ । वायु सेवाको बजार बाह्य मात्र होइन, आन्तरिक पनि ठूलो छ । निगममा बस्नेहरूले यो बुझेर पनि नबुझेजस्तै गरेका छन् । पछिल्ला वर्षहरूमा निगम खुम्चिने र निजी क्षेत्रका वायुसेवा कम्पनीहरू बर्सेनि फैलिनुको मतलब बजार पर्याप्त भएर नै हो । यसैले आन्तरिक बजार विस्तारमा पनि निगमले हस्तक्षेप गर्नुपर्छ । निगमको सेवा कम भएपछि निजी क्षेत्रको भाडादरमा मनपरी छ । निगम आए पनि यसमा पनि करेक्सन हुनेछ । सर्वसाधारण नागरिकले सस्तो दरमा सेवा पाउन सक्ने सम्भावना छ ।

निगमले सेवा दिन सुरु गरेपछि नै यो आर्थिक रूपमा कहिल्यै दरो हुन सकेको देखिँदैन । मुलुकका अन्य संस्थानहरू जस्तै निगम पनि सधैं राजनीतिक भर्तीकेन्द्रका रूपमा समस्यामा फस्दै आएको छ । प्रत्येक वर्षजसो सरकार परिवर्तन हुने र नयाँ आउने मन्त्रीले आफ्ना कार्यकर्ता राख्ने ठाउँ निगम पनि बनेको छ । निगमलाई सुधार गर्ने हो भने सबैभन्दा पहिले कार्यकर्ता भर्ती गर्ने काम बन्द हुनुपर्छ । विगतमा सरकारी कार्यालयहरू पनि पहुँच पुग्ने कार्यकर्तालाई जागिर खुवाउने अड्डा बनेका थिए । तर, अहिले कार्यालय सहयोगी, सवारी चालक र तल्लो स्तरको प्राविधिक कर्मचारीबाहेक अन्य कुनै पनि पदमा कसैले भर्ना गर्न सक्दैन । तर, संस्थानहरूलाई अझै भर्तीकेन्द्र बनाइएको छ ।

यसको अन्त्य हुन जरुरी छ । संस्थालाई आवश्यक कर्मचारी पनि लोकसेवा आयोगको सहयोग र परामर्शमा मात्र लिने व्यवस्था गर्न सक्नुपर्छ । संस्थालाई कर्मचारी भर्तीकेन्द्र बनाउन रोक्ने सवालमा कर्मचारीका संघसंगठनहरू पनि चुकेको अवस्था छ । जुनसुकै दलको सरकार आए पनि करार वा अस्थायी कुनै पनि अवस्थामा कर्मचारी नराख्ने परिपाटीको विकास गर्न संघ–संगठनले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् ।

निगमलाई सुधार गर्ने हो भने व्यवस्थापन पनि चुस्त हुनुपर्छ । आन्तरिक वा बाह्य बजार विस्तारमा व्यवस्थापनमा बस्नेहरू आक्रामक नबनेसम्म निगमको व्यापार विस्तार हुन सक्दैन । जहाज खरिद गर्दा विगतको जस्तो गल्ती दोहोर्‍याउने छुट निगमलाई छैन । विगतमा जहाज बिक्री गर्दा होस् वा खरिदमा सधैं निगम विवादमा आउने गरेको छ । यो सबै निगमलाई राजनीतिक नेतृत्वले दोहन गर्दाको परिणाम हो । पछिल्लो समय चिनियाँ जहाज खरिदमा छिमेकी मुलुक चीनले समेत निगमलाई गुमराह वा आर्थिक प्रलोभनमा पारेको छ ।

अब नयाँ जहाज खरिद गर्दा पनि विभिन्न किसिमबाट प्रलोभन आउने छन् । राजनीतिक हिसाबबाट दबाब पनि आउनेछ । तर, नेतृत्वमा बस्नेहरू यी सबैबाट अगाडि बढ्न सकेमात्र जहाज खरिद गर्न सकिनेछ । जहाज खरिद प्रक्रिया पारदर्शी ढंगबाट हुन सकेन भने विवाद आउने र त्यो मुद्दा–मामिलामा गएर वर्षौं लम्बिन सक्नेछ । जहाज खरिद प्रक्रियालाई लम्ब्याएर आफ्नो स्वार्थ पूर्ति गर्न निजी क्षेत्रका वायु सेवा कम्पनी पनि लाग्न सक्नेछन् । त्यसैले व्यवस्थापनमा बस्नेहरू चनाखो हुनैपर्छ । यी सबै अवरोध पन्छाएर जहाज खरिद प्रक्रियालाई अगाडि बढाउन सके मात्र सफलता मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्