Logo

मुड्केचुलामा स्थानीय पाठ्यक्रम निर्माण तीव्र

मुड्केचुला गाउँपालिका डोल्पाले आफ्नै स्थानीय पाठक्रम निर्माण सुरु गरेको छ । यहाँका आठवटा स्थानीय तहमध्ये ऐतिहासिक, धार्मिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण मानिने मुड्केचुला गाउँपालिकाले १ देखि ८ कक्षासम्मको ‘स्थानीय पाठ्यक्रम’ निर्माण गर्न लागेको हो ।

मुलुक संघीय व्यवस्थामा गएसँगै निर्माण भएका स्थानीय सरकारले ‘पाठ्यक्रम’ निर्माण गरी लागू गर्ने संवैधानिक व्यवस्थाअनुसार मुड्केचुला गाउँपालिकाले आधारभूत तहमा ‘स्थानीय पाठ्यक्रम’ निर्माण गर्न लागिएको शिक्षा शाखाका प्रमुख गोपाल बुढाले जानकारी दिए । विद्यार्थीहरूलाई कक्षागत आधारमा स्थानीय पाठ्यक्रममा विभिन्न विषय समावेस गर्न लागिएको प्रमुख बुढाले बताए ।

आधारभूत पाठ्यक्रममा गाउँपालिकाको समग्र अवस्था विद्यार्थीले सहजै पहिचान गर्न पाउने उनको भनाइ छ । आधारभूत ‘स्थानीय पाठ्यक्रम’ मा स्थानीय भेषभूषा, कला संस्कृति, धार्मिक महत्व र इतिहासका विषयसँगै स्वास्थ्य, लैगिक हिंसा, जातीय विभेदलगायतका विषय समावेस गरिएको र विज्ञहरूसँग परामर्श गर्दै छोटो समय र न्यून रकममा प्रभावकारी काम गर्न लागेको बुढाले दाबी गरे ।

गाउँपालिका शिक्षा शाखा प्रमुख बुढाले स्थानीय पाठ्यक्रम निर्माण गर्नु आफैँमा चुनौती भए पनि गाउँपालिकाले आफ्नै आधारभूत पाठ्यक्रम निर्माण गर्न लागेको बताए । १ वैशाखबाट लागू गर्ने गरी काम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए । आफ्नै पाठ्यक्रम बनाउन सुरु गर्ने डोल्पाको पहिलो स्थानीय तहको रूपमा मुड्केचुला रहेको छ ।

प्रतिक्रिया दिनुहोस्