कर्मचारी नियमित गर्न डिजिटल हाजिर

स्थानीय तहदेखि अधिकांश सरकारी कार्यालयमा कर्मचारी बिहान अबेर आउने र साँझ सबेरै घर जाने चलन छ । कार्यालय समय १० देखि ४ बजेसम्म भएता पनि अधिकांश सरकारी कर्मचारी बिहान ११/१२ बजे आउने र दिउँसो तीन नबज्दै घर जाने प्रवृत्ति बढ्दो छ । जसका कारण सेवाग्राहीले समयमै सेवा नपाउने र कर्मचारी आउने बित्तिकै हाजिर लगाएर जाने गरेको पाइन्छ ।
बिहानै ठिक १० बजे कार्यालय पुग्ने हो भने अधिकांश कार्यालयमा कर्मचारी अनुपस्थित हुन्छन् भने उनीहरूको आउने र जाने समयको टुंगो नै हुँदैन । विभिन्न बहाना देखाउँदै बिदामा बस्ने र एकमुष्ट हाजिर लगाएर तलब पचाउने प्रवृत्ति कर्मचारीमा बढ्दो छ । समयको बचत, सेवा प्रवाहलाई छिटो छरितो र कर्मचारीलाई कार्यालयमा नियमित गराउन यहाँको तातोपानी गाउँपालिकाले डिजिटल हाजिरी जडान गरेको छ ।
प्रविधिको प्रयोगबाट दैनिक कार्यसम्पादनमा सहजता ल्याउने उद्देश्यले बिहीबारदेखि डिजिटल हाजिरी प्रविधिको सुरु गरिएको हो । डिजिटल हाजिरीको विधिवत सुरुवात गर्दै जुम्लाका नवनिर्वाचित प्रदेश सांसद द्वय देवेन्द्रबहादुर शाही र टेकराज पछाईले समृद्ध तातोपानी बनाउन जनता सेवाबाट सन्तुष्ट हुनुपर्नेमा जोड दिए । सेवालाई नागरिकमैत्री बनाउन डिजिटल हाजिर कोशेढुंगा सावित हुने भन्दै जुम्लाका सबै पालिकाले प्रविधिमैत्री सेवामा जोड दिनुपर्ने बताएका थिए ।
डिजिटल हाजिरीले कर्मचारीलाई नियमित गराउने आशा छ भने सबै कर्मचारी समयमै आउने र बेलुका ४ बजेपछि मात्रै घर जाने छन् । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले भने, “बिहान ठिक १० बजे आएपछि बेलुका ४ नबजी हाजिरी गर्न पाइने छैन । कसैले हाजिर गर्न खोजे पनि सफ्टवयरले मान्दैन । यसले गर्दा सेवा प्रवाहमा सुधार आउने आशा छ ।”
निर्वाचित सांसदलाई तातोपानी धारा व्यवस्थापन, भेरीखोला क्षेत्रमा बैंक स्थापना, गिडिदहको पूर्वाधार विकासलगायतका क्षेत्रमा सहयोग गर्न मागपत्र हस्तान्तरण गरिएको अध्यक्ष चौलागाईंले जानकारी दिए । सबै वडाबाट अनलाइन प्रणालीबाट कर संकलन, डिजिटल नागरिक बडापत्र, इलेक्ट्रोनिक बोर्डलगायतका प्रविधि संचालनमा आइसकेका छन् ।